गुड फ्राइडे सिनेमा
दक्षिण कोरियाली (साउथ कोरियन) सिनेमा बन्न थालेको सय वर्ष नाघिसक्यो। एक शताब्दीको सिने यात्रामा कोरियाले दर्शकसामु धेरै राम्रा फिल्म पस्किसकेको छ।
एसियाली दर्शकमाझ व्यापक फैलिएको कोरियन सिनेमाले विश्वव्यापी रूपमा इतिहास रचेको सन् २०२० मा हो। निर्देशक बोङ जोन हु निर्देशित थ्रिलर फिल्म 'प्यारासाइट'ले कान र अस्करमा प्रमुख विधाका अवार्ड जित्न सफल भयो।
थ्रिलर विधामा कोरियन फिल्म उत्कृष्ट मानिन्छन्। रहस्य, सस्पेन्स र कथामा आउने रोचक मोडका कारण फिल्म पूरा नहेरिन्जेल चित्त बुझ्दैन। सँगै बलियो कथा, कलाकारको अब्बल अभिनय र प्रस्तुतिले फिल्मलाई अर्को तहमा पुर्याएको पाइन्छ।
आज हामीले तपाईंहरूलाई यस्तै रोचक थ्रिलर कोरियन फिल्म सिफारिस गरेका छौं जुन युट्युबमा उपलब्ध छ।
फिल्म हो सन् २०१६ मा रिलिज भएको 'टनेल'।
कार सेल्सम्यान ली जङ सूकी छोरीको जन्मदिन हुन्छ। उनी पहाडबीच भएको सुरूङबाट कार चलाउँदै घर गइरहेका हुन्छन्। एकाएक सुरूङ खस्छ र ली जङ पुरिन्छन्।
होस आउँदा उनी आफूलाई कारभित्र थुनिएको पाउँछन्। उनको कारमाथि कंक्रिटको पहाड खसेको हुन्छ। कारभित्र उनीसँग छोरीको जन्मदिनको केक, मोबाइल र दुई बोतल पानी मात्र हुन्छ।
यो खबर सञ्चारमाध्यमहरूमा फैलिन्छ। सरकारले तुरून्त राहतको काम थाल्छ। तर सुरूङको जटिल संरचनाका कारण धेरै प्रयास गर्दा पनि उद्धारकर्ताहरू भित्र जान सक्दैनन्।
उता ली जङकी श्रीमतीले हार नखानू भन्दै गाडीको रेडियोमा उनका लागि सन्देश छाड्छिन्। ली जङ यो सब सुनेर मात्र बस्न सक्छन्।
उद्धारको काम सुस्त भएकाले ली जङ बाँच्लान् कि नबाँच्लान् भन्ने चर्चा सुरू हुन थाल्छ। योसँगै सो सुरूङको निर्माण प्रक्रियाबारे पनि चर्चा हुन थाल्छ।
छोरीको जन्मदिन मनाउन हिँडेका ली जङ त्यहाँबाट निस्किन सक्लान्?
कि उनको जीवन त्यहीँ समाप्त होला?
यसबीच कस्ता कस्ता कथाहरू उधिनिँदै जान्छन्?
यसका लागि फिल्म 'टनेल' हेर्नुहोला।
सुपरहिट भएको यो फिल्म दर्जनभन्दा बढी अवार्डमा मनोनयनमा परेको थियो भने दुइटा अवार्ड जितेको थियो।
हेर्नुहोस् दक्षिण कोरियाली फिल्म टनेल हिन्दी डबिङमाः