युवक तुलाधरले जिन्दगीको करिब आधा उमेर विदेशमै बिताए।
अमेरिकाको क्यालिफोर्निया बस्ने ६२ वर्षीय यी कलाकारलाई नेपालभन्दा विदेशकै घटनाक्रम धेरै याद होलान्। तर आफूले बाल्यकाल बिताएको नेपाल सम्झिँदा उनी घरिघरि 'नोस्टाल्जिक' हुन्छन्।
कहिले आफू जन्मिएको काठमाडौंको भोटेबहाल सम्झिन्छन्, कहिले दौडिँदै हुर्किएको असन। कहिले यहाँको मःमको तलतल लाग्छ, कहिले चियाको। कहिले जात्रापर्व सम्झिन्छन्, कहिले समाज र संस्कृति। मान्छे र साथीभाइको झल्को पनि उत्तिकै आउँछ उनलाई।
यस्ता यावत् झल्को मेट्न उनी कलाको सहारा लिन्छन्।
यति बेला लाजिम्पाटस्थित ताक्पा ग्यालरीमा भइरहेको 'मेमोरिज अफ काठमाडौं' मा तुलाधरले देखेको सन् १९६०-७० दशकको काठमाडौंको झल्को देख्न सकिन्छ।
आफ्नो 'काठमाडौं सम्झना' देखाउन युवकले कुनै तेलीय, कुनै एक्रेलिक त कतै प्रिन्टमेकिङ चित्र बनाएका छन्। कुनै चित्र सिलाएर जोडेका छन्, कुनै गमले टाँसेका छन्। धेरैमा त वुडकट शैली पछ्याएका छन्। वुडकट अर्थात् काठमा कुँदेर (इनग्रेभ) बनाइएको कलाले हामीलाई डाँक टिकट अर्थात् स्ट्याम्पको झल्को दिन्छ।
विभिन्न शैली पछ्याएकाले उनको यो प्रदर्शनीलाई 'मिक्स-मिडिया' पनि भन्न सकिन्छ।
युवकलाई सानो छँदा स्ट्याम्प खुब मनपर्थ्यो। केही समय उनले संकलन पनि गरेका थिए तर निरन्तरता दिएनन्। ती अहिले कता छन्, उनलाई याद छैन। तर त्यो बेलाको छाप उनको दिमागबाट हट्न सकेको छैन। त्यसैले यसपटक स्ट्याम्प शैलीमा उनले धेरै कलाकृति बनाएका छन्।
'मलाई सानैदेखि स्ट्याम्पका डिजाइन मनपर्थ्यो। तर मैले देखेका स्ट्याम्पमा हिमाल, डाँफे, राष्ट्रिय विभूति लगायत अंकित थिए। सामान्य मानिस र सामान्य जनजीवनका सामग्री थिएनन्। त्यसैले मैले सामान्य चिजबिजलाई स्ट्याम्प शैलीमा ढालेको हुँ,' युवकले भने, 'म काठमाडौंमा जन्मिएँ, हुर्किएँ तर नेपाल बाहिर बसेकै करिब ३० वर्ष भइसकेछ। मेरो बाल्यकाल र मेरो स्मरणमा रहेको पुरानो काठमाडौंको सम्झना समेट्दै विभिन्न तकनिक प्रयोग गरेर यो प्रदर्शनी गरेको हुँ।'
काठलाई स्ट्याम्प शैलीमा ढाल्न युवकले 'सियन्चे' मेसिनको सहायताले लेजर इनग्रेभिङ गरेका छन्। सुरूमा उनले पेन्टिङ मात्र प्रदर्शन गर्ने सोचेका थिए। गत वर्ष चैतमा उनले मगाएको सियन्चे मेसिन आइपुगेपछि यो योजनामा काम थालेका हुन्।
स्ट्याम्प शैलीको एउटा कलामा उनले भक्तपुरदेखि खर्पनमा रातो मूला बोकेर बेच्न आउने ज्यापू समुदायका व्यक्ति बनाएका छन्। कागज स्ट्याम्पमा हुनेजस्तै एक छेउमा '५ रू.' लेखेका छन्।
खर्पनमा सामान बेच्दै हिँड्ने चलन अहिले हराउँदै छ। ठूलो रातो मूला पनि अहिले आफूले नदेखेको युवक बताउँछन्।
'५ रू.' नै अंकित अर्को स्ट्याम्पमा उनले कित्लीबाट गिलासमा चिया खन्याइरहेकी महिला बनाएका छन्। दुइटा स्ट्याम्पमा मःमको आकृति र मःम बेचिरहेका मानिस बनाएका छन्।
स्ट्रिट फुड रूचाउने युवकलाई सानैदेखि मःम खुब मनपर्थ्यो। केलटोलमा खुलेको शानदार मःम पसलमा उनले खुब खाए। कुपन लिएर, लाइन लागेर खाएको उनलाई अझै सम्झना छ। यही सम्झनामा उनले दुइटा स्ट्याम्प बनाएका छन् जसको एउटामा एक रूपैयाँ र अर्कोमा १० रूपैयाँ अंकित छ।
'पहिले मःमको भाउ एक रूपैयाँ थियो। बिस्तारै बढेर म विदेश जाँदासम्म १० रूपैयाँ पुगेको थियो। पछि शानदार म:म केलटोलबाट सर्यो। म नयाँ नयाँ मःम पसल चहार्दै हिँडे। मलाई मनपर्ने मःम स्ट्याम्पमा कहिल्यै नदेखेकाले बनाएको हुँ,' उनले भने।
युवकको मःम र चिया मोह धेरै नै छ। सकेसम्म आफ्ना कलामा उनले यी शब्द घुसाएका छन्। जस्तो — एउटा कलामा उनले गाडीका पछाडि लेखिने 'हर्न प्लिज, कुल देवताले रक्षा गरून्, अरू कालो रेलको धुँवाले' लगायत राखेका छन्। एक कुनामा मःम र चिया पनि लेख्न भ्याएका छन्।
ब्राह्मण व्यक्ति अंकित एक कलामा पनि उनले मःम र चिया लेखेका छन्। त्यसमा 'गोर्खापत्र, नमस्ते, दाँतको काम हुन्छ' लगायत वाक्यांश पनि छन्। उनले आफ्ना कलामा शब्द लेख्न विशेष ध्यान पुर्याएको देखिँदैन।
उनी भन्छन् पनि, 'मेरा कलाकृति र त्यसमा भएका शब्दहरूको केहीमा सम्बन्ध भेटिएला, तर धेरैमा भेटिँदैन। यसमा यो लेख्छु भनेर सुरू गरेको होइन, गर्दै जाँदा जे हुन्छ, त्यही गरेँ।'
काठमाडौं सम्झनाकै कुरा गर्दा एउटा कलामा युवकले तीनपांग्रे साइकलमा कृष्ण पाउरोटी बेच्न आइरहेको दृश्य बनाएका छन्। सानो छँदा पाउरोटी किन्ने जिम्मा उनकै हुन्थ्यो। यो सम्झनामा युवकले बनाएको कलामा आफ्नी ८ वर्षकी छोरीलाई राखेका छन्।
'म त्यति बेला ८ वर्षकै हुँदो हुँ। असन नजिकै ताजा कृष्ण पाउरोटी बेच्न ल्याएको हुन्थ्यो। हामी परिवारमा सात जना भएकाले म १४ पिस पाउरोटी किन्थेँ,' उनले भने, 'क्यालिफोर्नियामा पनि राम्रो पाउरोटी पाइने ठाउँ छन्। त्यहाँ जाँदा यहीँको सम्झना आउँछ।'
युवकले आफ्नो चित्रमा पाउरोटी बेचिरहेको साइकल मन्दिर नजिकै बनाएका छन्। वरपर मान्छेको चहलपहल देखिन्छ। एक जना ओभरकोट र भादगाउँले टोपीमा सजिएका छन्। यी मान्छे युवकका अरू दुइटा कलामा पनि छन्। युवकले सानोमा ती मान्छे देखेका थिए, को हुन् भन्ने चाहिँ उनलाई थाहा छैन।
ती व्यक्तिलाई युवकले कहिले पाउरोटी बेचिरहेको ठाउँमा भेटे, कहिले बस स्टपहरूमा। कहिले रत्नपार्क, रानीपोखरी, वसन्तपुर, भोटाहिति त कहिले ठमेलका गल्लीहरूमा देखे। उनको अनुमानमा ती मानिस घरबारविहिन हुन्। तर शिक्षित र ठूलै परिवारको हुन सक्ने उनको ठम्याइ छ।
'कतिले उनी राणा परिवारका मान्छे हुन् भन्थे। उनी राम्रो पहिरन लगाउँथे। त्यो समयमै अंग्रेजी बोल्न र लेख्न सक्थे। विदेशीहरूलाई कवितासमेत लेखिदिन्थे। कतिले उनलाई खाना खुवाउँथे त कतिले पैसा दिन्थे,' युवकले भने, 'उनको नाम कसैलाई थाहा थिएन। कसैले जनरल त कसैले एम्ब्यासडर भनेर बोलाउँथे। उनको तस्बिर हालसालै मैले पुराना फोटाको फेसबुक पेजमा फेला पारेँ, त्यसैका आधारमा यो कला बनाएको हुँ।'
युवकले बनाएका केही कलाले नेपालमा सन् १९७० दशकतिर गाँजा (हसिस) वैध थियो भन्ने संकेत गर्छ। उनका अनुसार वसन्तपुर र झोँछे क्षेत्र गाँजाका लागि प्रसिद्ध थिए। त्यहाँ खुलेको 'इडेन हसिस सेन्टर' निकै चर्चित थियो जहाँ हसिस चिया, कफी र अरू खानेकुरा पाइन्थ्यो।
त्यस्तै एउटा कलामा बाघछापे ट्याक्सी देखिन्छ जसले १९६० दशक उत्तर्राद्धको काठमाडौंको झल्को दिन्छ।
२०२४ सालमा सरकारले बागमती अञ्चलका ट्याक्सीलाई बाघछापे डिजाइन बनाउनुपर्ने नीति ल्याएको थियो। सुरूमा यसबारे विवाद भए पनि पछि नीति लागू भयो। ट्याक्सी मात्र होइन, केही निजी गाडीधनीले समेत आफ्नो साधन बाघछापे बनाए।
'मेरो बुबाका चारवटा रूसी जीपमा छाप बनाइएको थियो,' युवकले भने, 'यो नियम चार-पाँच वर्षपछि हराउँदै गयो।'
युवकले केही कलामा आफ्नो स्थानीय वेशभूषामा सजिएका नेवार, तिब्बती, तामाङ लगायत समुदायका मानिसको आकृति पनि बनाएका छन्। उनको मुख्य उद्देश्य सामान्य मानिस र जनजीवन देखाउनु भए पनि एउटा कलामा उनले राजा वीरेन्द्र शाहको आकृतिलाई 'थ्री डाइमेन्सनल' जसरी देखाएका छन्। भक्तपुरको तलेजु मन्दिरबाट वीरेन्द्र मुस्कुराउँदै, नमस्ते गर्दै बाहिर आएका देखिन्छन्। यो चित्र उनले कसैले खिचेको फोटोलाई आधार मानेर बनाएका हुन्।
काठमा लेजर इनग्रेभ गरेर बनाइएका कलामा उनले एक्रेलिक रङ प्रयोग गरेका छन्। काठसँगै क्यानभासमा पनि पेन्टिङ बनाएका छन्। प्रायः तेलीय रङले बनाइएका यी चित्रले पनि काठमाडौंको समाज, संस्कृति र जनजीवनको झल्को दिन्छन्।
लुगा धोइरहेका महिलाको चित्रमा उनले पुरानो काठमाडौं सम्झना गर्दै लेखेका छन्, 'सर्फले लुगा धुँदा ठूलो गोलो साबुनले भन्दा धेरै सजिलो भयो। सिमेन्ट हो कि सेरामिक वा टेराकोटा बाटा (नेपाल भाषामा 'अठ') मा लुगा धोइन्थ्यो। पछि प्लास्टिक प्रयोग गर्न थालियो।'
उनले हामीलाई सुनाए, 'पहिला हाम्रोतिर प्रायः मानिसकहाँ धारा थिएन। चोकमा एउटा धारा हुन्थ्यो। सबै जना लुगा धुन र पानी लिन त्यहीँ जान्थे। त्यही बेला उनीहरू आपसमा कुराकानी पनि गर्थे।'
क्यानभासको काम गर्दा पनि स्ट्याम्पले युवकलाई नछाडेको जस्तै देखिन्छ।
भक्तपुरको ङ्यातपोल मन्दिर बनाउँदा उनले क्यानभास बीचमा मन्दिर बनाएर वरपर ङ्यातपोलकै स्ट्याम्प टाँसेका छन्। कुनै चित्रमा उनले आफ्नै अनुहारको कागजी स्ट्याम्प बनाएर टाँसेका छन्।
एउटा कला त जापानी राइस पेपरमा प्रिन्ट गरेर बनाएका छन्। एउटा कला दुइटा चित्र गमले जोडेर र सिलाएर पनि बनाएका छन्।
यो प्रदर्शनीमा ३२ वटा कला छन् जुन युवकले सन् २०२४ मै बनाएका हुन्। कुनै काम थालेपछि त्यसैमा दिनरात लाग्ने युवकले प्रदर्शनीमा प्रयोग गरेका चित्रमा जुनै माध्यमबाट भए पनि काठमाडौंको सम्झना देखाउन चाहेका छन्।
उनको सम्झनामा भएको काठमाडौं र अहिलेको काठमाडौंमा आकाश-जमिन फरक छ। सानोमा उनले आफू जन्मिएको भोटाहिति र असन बजारमा कहिल्यै कोलाहल देखेनन्। वरपर गाईगोरू सुतेका हुन्थे।
'अहिले त बिहानदेखि साँझसम्मै होहल्ला र चहलपहल हुन्छ। पहिले मान्छे नभएको सहर हेर्दा मलाई दिक्क लाग्थ्यो। अहिले रमाइलो र जीवन्त लाग्न थालेको छ,' उनले भने, 'एउटा कुरा के भने, पहिला असनबाट न्यूरोड पुग्न धेरै समय लाग्थ्यो। बाटामा पाइलैपिच्छे साथी भेटिन्थे। उनीहरूसँग बोल्दाबोल्दै धेरै समय जान्थ्यो। अहिले कति धेरै हिँड्छु तर चिन्ने मान्छे धेरै देख्दिनँ। प्रायः मजस्तै विदेसिइसके। काठमाडौंमा त्यसरी चिनेका मान्छे नभेट्दा खल्लो लाग्छ।'
नेपाल आउँदा कलाकारहरू भेट्न र कला प्रदर्शनीमा जान उनी रूचाउँछन्। विभिन्न शैलीमा कला दक्षता हासिल गर्नुमा युवकको अध्ययन र विदेश बसाइको प्रभाव देखिन्छ।
सन् १९७८ मा उनी कलामा स्नातक पढ्न बनारस विश्वविद्यालय गएका थिए। पछि उनले सभाना कलेज अफ आर्ट एन्ड डिजाइनबाट स्नातकोत्तर गरे। नेपाल फर्किएर कला प्रदर्शनी गरे। 'ऋषि दाइ र सफा सहर' नामक एनिमेसन फिल्ममा पनि काम गरे।
सन् १९९० मा फूलब्राइट छात्रवृति पाएर युवक अमेरिका पुगे। त्यहाँ टेक्सटायल र फाइबरको काम सिके जसले सिउने काममा उनको दक्षता बढाइदियो।
'करिब ३० वर्ष बाहिर बस्दा १४ वर्ष त मैले कलाको काम नै गरिनँ। केही समय प्रिन्टिङ कम्पनीमा फोटोसपको काम गरेँ, केही समय निर्माण कम्पनीमा। त्यो सबै एक हिसाबको सिकाइ भयो। विभिन्न कुराको अनुभवले पनि होला, अहिले मलाई विभिन्न सामग्रीमा कलाको प्रयोग गर्न मन लागिरहेको छ,' उनले भने।
सुरू सुरूमा सेमी-एब्सट्रयाक्ट चित्र बनाउने युवक अहिले मिक्स-मिडियामा रमाइरहेका देखिन्छन्। झन् सियन्चे मेसिन आएदेखि काठमा लेजर प्रयोग गरेर कलाकृति बनाउन चासो बढेको छ।
'खासमा त्यो मेसिन व्यावसायिक साइनबोर्ड बनाउने र सिकर्मीहरूले प्रयोग गर्छन्। मैले चाहिँ कलामा प्रयोग गरेँ,' उनले भने, 'धेरै वर्ष विभिन्न प्रकारको कला गर्दा पनि म रमाउन सकिरहेको थिइनँ। अहिले जे गर्दा पनि रमाइरहेको छु। एउटा मानिसको जीवनमा सायद यही नै सबभन्दा महत्त्वपूर्ण कुरा हो।'
उनले थप भने, 'अहिले मलाई जे कुराले पनि प्रेरित गरिरहेको छ। दिमागमा आइडियाहरू आइरहेका छन्। ती सबै गर्न त भ्याइँदैन तर सक्दो गरिरहेको छु। मैले जानेको कुरा भन्दा पनि गर्दागर्दै जे बन्छ, त्यसैले मलाई सन्तुष्टि दिइरहेको छ।'
उनी अब केही समय काठमा लेजर इन्ग्रेभ गरेरै कला बनाउने सोचमा छन्। हाल सुटकेसमा हालेर उनले साना आकारका कला मात्र ल्याएका छन्। उनलाई ठूला कलाकृति पनि बनाउन मन छ। तिनमा एलइडी हालेर बनाउने पनि इच्छा छ।
'क्यालिफोर्नियाको एक भारतीय रेस्टुरेन्टमा एलइडीबाटै चाँदनी चोकको झल्को आउने चित्र बनाएको थिएँ। अझै त्यस्तै काम गर्न मन छ,' उनले भने।
युवकको अर्को पनि इच्छा छ — नेपालका कलाकारसँग मिलेर काम गर्ने।
'म अहिले पाँच वर्षको अन्तरालमा यहाँ आएको हुँ। योभन्दा अगाडि त ११ वर्षको अन्तरालमा आएको थिएँ। त्यसैले मैले यताका कलाकारको काम राम्ररी हेर्न पाएको छैन। मलाई उनीहरूसँग मिलेर काम गर्न मन छ,' उमेरले ६ दशक नाघेका युवकले भने, 'कलाकारहरूको एउटा सामुदायिक भवनजस्तो बनाउने पनि इच्छा छ।'
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी