भारतका कमेडियन कपिल शर्माको दिन यतिबेला राम्रो चलिरहेको छैन। ‘द कपिल शर्मा शो’ सञ्चालन गर्न थालेपछि एकाएक लोकप्रिय बनेका कपिलको लगातार सहकर्मीसँगको झगडाले उनको शो नै धरापमा पर्यो।
सहकर्मी सुनिल ग्रोबरसँग झगडा पर्नु, स्वास्थ्य खराब हुनु र शो को टीआरपी लगातार खस्कनुले कपिल निकै तनावमा थिए। उनको शो नै बन्द हुन सक्ने अनुमानकाबीच सोनीटीभीसँग उनले १ वर्षको म्याद थप गरे। यसबाट उनलाई केही राहत मिलेपनि उनको मनमुटाव शो कै स्टार नवजोत सिद्धुपाजीसँग भएको छ।
भारतीय सञ्चारमाध्यममा आएको खबर अनुसार शो को एक एपिसोडको शुटिङमा अभिनेता सिदार्थ मल्होत्रा र अभिनेत्री ज्याक्लिन आएका थिए। सिद्धुपाजी सन्चो नभएको कारण शुटिङमा आउन नसकेपछि कपिलले उनको सिटमा अर्चना पुरनलाई बोलाए।
सिद्धुपाजीको सिटमा अर्चना बसेको थाहा पाएपछि सिद्धुपाजीले कपिलसँग निकै मन दुखाए। उनले आफु एक दिन नआउँदा आफ्नो स्थान अरुलाई दिने भन्दै कपिलसँग फोनमा रिस पोखे।
कपिलले सिद्धुपाजीलाई जति सम्झाउन खोजेपनि सिद्दुले मानेनन्। आखिरमा कपिलले सिद्दुसँग माफि मागे र यस्तो कहिल्यै नहुने बाचा गरेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
कपिलको शो मा सिद्धुपाजी कपिललाई साथ दिन्छन्। शो मा उनको निकै ठुलो भूमिका छ। उनको हाँसो र कमेन्ट सुन्न दर्शकहरु सधै तयार हुन्छन्। अब सुनिलले जस्तै सिद्धुपाजीले पनि कपिलको साथ छाडे भने कपिललाई ठुलै क्षति हुने पक्का छ। त्यसकारण कपिलले सिद्धुपाजीसँग कुरा नबिग्रियोस भनेर माफि पनि मागिहाले।