२१ औं काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा शनिबार दक्षिण कोरिया विशेष फिल्म प्रदर्शन हुँदैछन्।
नेपाल–दक्षिण कोरिया मित्रताको ५० औँ वर्षगाँठको अवसर पारेर उल्जु माउन्टेन फिल्म फेस्टिभल कोरियाका फिल्महरूको विशेष प्रदर्शन हुन लागेको हो।
महोत्सवमा निर्देशक ली गा–क्युङको 'द हाउस अफ राइजिङ सन', निर्देशक चोइ वोन–जायको 'चौनियार्ड बी', निर्देशक जू–योङको 'अनकम्फर्टेबल', निर्देशक किम हाइ–मीको 'द ट्रिज होम' र निर्देशक चोइ जिनयोङको 'द बोन' गरी पाँच दक्षिण कोरियाली फिल्म प्रदर्शन हुन लागेका हुन्।
यी फिल्म दिउँसो १ बजेदेखि ३ः३० बजेबीचको समयमा प्रदर्शन हुँदैछन् जसमा दक्षिण कोरियाबाट अतिथि बनेर आएका निर्देशकहरुसँग अन्तक्र्रिया पनि गरिनेछ।
किम्फ अध्यक्ष रम्यता लिम्बूले नेपाल र दक्षिणको भाषा संस्कृतिमा भिन्नताका बावजुद धेरै कुरामा समानता रहेको र त्यो समानता यी फिल्महरूमा देख्न पाइने बताइन्।
बुधबारदेखि सुरू भएको पाँच दिने किम्फ आइतबारसम्म चल्नेछ। यस पटकको किम्फमा नेपालसहित २२ देशका ६० भन्दा बढी फिल्म र वृत्तचित्र प्रदर्शन हुनेछन्।