झुट बोल्नु गलत हो – यसलाई सर्वव्यापी मान्यता मानिन्छ।
तर कतिपय अवस्थामा मानिसहरू झुटको सहारा लिन बाध्य हुन्छन्।
जीवनको यात्रामा सामना गर्नुपर्ने अप्ठ्यारो परिस्थितिमा कतिपय सानो झुटले सम्बन्ध बचाउन र सदभाव कायम राख्न समेत मद्दत गर्दोरहेछ!
प्रद्युम्न मिश्र निर्देशित छोटो फिल्म 'दुविधा' ले यस्तै कथा प्रस्तुत गर्छ।
खासमा यो विवाह गरेको वर्षौंसम्म पनि सन्तान हुन नसकेको एक प्रेमिल दम्पतीको कथा हो।
महेश र पार्वतीको विवाह भएको १२ वर्ष भइसकेको छ।
एक अर्कालाई असाध्यै माया गर्ने उनीहरू सन्तान नभएकाले नै परिवार, समाजबाट दबाब झेलिरहेका छन्। त्यही सहन नसकेर उनीहरू बैतडीको गाउँ छाडेर काठमाडौं आउँछन्। पेटीमा तरकारीको व्यापार गरेर जीविकोपार्जन गरिरहेका हुन्छन्।
ठाउँ छाडे पनि सन्तानको प्रश्नले उनीहरूलाई पछ्याउन छाड्दैन। त्यही कुरालाई लिएर दुवै जना चिन्तित हुन्छन्।
अन्ततः उनीहरू सन्तान नहुनुको कारण पहिल्याउन डाक्टरकहाँ जाने निर्णय लिन्छन्। तर महेशलाई रिपोर्ट लिन अप्ठ्यारो लागिरहन्छ।
अब उनलाई डर छ – दुवैको रिपोर्ट राम्रो आए त ठीक छ। श्रीमतीको समस्या देखियो भने अर्को बिहे गर्न दबाब दिन्छन्। उनलाई गाह्रो हुन सक्छ!
-1717171948.jpg)
यता पार्वती पनि आफूमा समस्या देखिए परिवारले महेशको अर्को बिहे गराइदिन्छन् भन्ने डरमा हुन्छिन्।
यो अवस्थामा दुवै जनालाई सन्तानभन्दा सम्बन्ध बचाइरहन पाए हुन्थ्यो भन्ने हुन्छ।
यसैबीच परीक्षण रिपोर्ट आउँछ, पार्वतीमा समस्या देखिन्छ।
महेशलाई दुविधा हुन्छ – यो कुरा पार्वतीलाई भन्ने कि नभन्ने? घरमा भन्ने कि नभन्ने?
भन्यो भने घरबाट आफ्नो अर्को बिहे गरिदिने र पार्वतीसँग छुट्टिनुपर्ने डर हुन्छ।
अन्ततः उनी झुट बोलेर आफूमा समस्या देखिएको बताउँछन्।
यसपछिको कथा जान्न २० मिनेटको छोटो फिल्म 'दुविधा' हेर्नुपर्छ।
निर्देशक मिश्रले यो फिल्मबारे भने, 'कुनै झुटले केही असर गर्दैन, बरू खुसी दिन्छ, परिवार र समाजमा सदभाव कायम गर्छ भने त्यसलाई झुटका रूपमा लिनुहुँदैन भन्ने नै फिल्मको सार हो। साथै मानिस अप्ठ्यारो परिस्थितिमा वा मौका पाउनासाथ स्वार्थी हुन्छन् भन्ने खालको सन्देश पनि यसमा छ।'
यो फिल्म निर्माण हुनुपछाडिको कथा पनि रोचक छ।
खासमा यो अर्को एउटा छोटो फिल्मका लागि लेखिएको कथाको बीचको प्लटबाट निकालिएको हो।
प्रद्युम्नले दुर्गा बहादुर कार्की (सायद) लाई फिल्म लेख्न लगाएका थिए। त्यही कथामा रहेको एउटा प्लट उनलाई बढी मन परेछ। त्यसपछि त्यही प्लटमा रहेर पनि अर्को कथा अगाडि बढाउन भनेका थिए।
अगाडि तयार भएको र नयाँ कथा लिएर प्रद्युम्न फिल्म बनाउने तयारीका साथ गेहेन्द्र धिमाल फाउन्डेसनको 'लोकेसन नेपाल' मा पुगे।
उनले सम्झिए, 'त्यहाँ मैले अर्को एउटा स्क्रिप्ट छाडेको थिएँ। त्योसँगै यो पनि पढ्नू भनेर दुविधाको कथा पनि छाडेँ। अर्को दिन उहाँहरूले ल फिल्म बनाऔं भन्नुभयो। मैले अर्कोकै बनाउने होला भन्ने सोचेको थिएँ। तर दुविधा राम्रो रहेछ, त्यो बनाऔं भन्नुभयो।'
सबिन बस्नेत निर्माता, गौतम धिमाल कार्यकारी निर्माता रहने गरी फिल्म निर्माणको तयारी भयो। मुख्य कलाकारका रूपमा कुल बहादुर अधिकारी (कुलदिप) र सविना गोपाली तय भए।
अब, चाहियो खिच्ने ठाउँ।
प्रद्युम्नका अनुसार फिल्म खिच्न सुरूमा ठाउँको समस्या देखिएको थियो। खोज्न दस दिनसम्म हिँडनुपरेको उनले सम्झिए।
'अन्ततः ललितपुरको बालकुमारीमा खोजेजस्तो लोकेसन भेट्टायौं। तीन दिन लगाएर फिल्म खिचेका थियौं,' उनले भने।
लोकेसन नेपालसँगको सहकार्यमा काम गरेकाले फिल्म बनाउन अप्ठ्यारो भने नभएको उनले बताए।
दुविधा एक दर्जनभन्दा बढी फिल्म फेस्टिभलमा पुगिसकेको छ। जसमध्ये नेपाल-अफ्रिका फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड पायो भने निफमा यो फिल्मबाट प्रद्युम्नले उत्कृष्ट निर्देशकको अवार्ड हात पारे।
यो फिल्म यही शनिबार काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा प्रदर्शन हुँदैछ।
-1717171948.jpeg)
काठमाडौंमै जन्मे, हुर्केका प्रद्युम्नको घर नजिकै थियो जय नेपाल हल। त्यही हलको आँगन उनको खेल्ने ठाउँ थियो।
उनले बाल्यकाल सम्झिँदै भने, 'बाल्यकालदेखि नै फिल्मप्रति मोह थियो। धेरै समय हलमै बिताउँथेँ। प्रायः जसो फिल्म हेर्थेँ। कति फिल्म त पटकपटक हेरेको छु। स्कुलमा पनि नाटक लेख्थेँ, खेल्थेँ, निर्देशन गर्थेँ, गीत गाउँथे, क्यारिकेचर गर्थेँ।'
स्कुल पढ्दै गर्दा उनले नृत्य र अभिनय प्रशिक्षण समेत दिन थालेका थिए। एसएलसीपछि उनले थुप्रै स्कुलमा नृत्य र अभिनय प्रशिक्षकका रूपमा काम गरे। त्यही क्रममा उनले नरसिंह कल्चर ग्रुप खोले, जहाँ फिल्म क्षेत्रका निर्देशकहरूले समेत प्रशिक्षण दिन्थे।
प्रद्युम्नले देशका विभिन्न स्टेज शोमा प्रस्तुति पनि दिए। फिल्मतिरको यात्रा भने २०५३ सालदेखि सुरू भएको हो।
फिल्म 'अवतार' मा पहिलोपटक सहायक निर्देशकका रूपमा काम गरेका उनले त्यसपछि फिल्म 'हाउडे' मा मुख्य सहायक निर्देशक भएर काम गरेका थिए।
फोटोग्राफी तालिम लिएपछि उनले पत्रपत्रिकामा समेत काम गर्न थाले। भिडिओग्राफी पनि तालिम लिए। तत्कालीन समयको हिट सिरियल 'होस्टेल' मा अभिनय गरे। म्युजिक भिडिओमा पनि देखिए।
त्यही क्रममा नेपाल टेलिभिजनमा आवेदन खुलेको थियो। फराम भरे, नाम निस्कियो। त्यहाँको जागिरे भएको पनि दुई दशक बढी भइसकेको छ।
२०६१/६२ सालतिर उनले आफ्नै निर्माण र निर्देशनमा नेपाल टेलिभिजनमा अभिनयको रियालिटी शो 'सुपर एक्टिङ कम्पिटिसन' सुरू गरे।
त्यहाँबाट उदाएका धेरै कलाकारहरू कलाकारितामा जमेको प्रद्युम्न बताउँछन्। त्यसपछि उनले संगीतको रियालिटी शो 'द ब्यान्ड भाष्कर' सुरू गरे। अन्य थुप्रै शोका निर्माता र निर्देशक भएर काम गरे।
त्यसपछि उनी अस्कर कलेजमा फिल्म पढ्न गए।
'म अस्करको थर्ड ब्याच हो। त्यहाँबाट ब्याचलर पास गरेपछि धूलो नामको फिचर फिल्म निर्देशन गरेँ। फिल्मले थुप्रै अवार्ड समेत पाएको थियो,' उनले भने।
कोभिडको समयमा रिलिज भएको 'धूलो' बाट धेरै घाटा खानुपरेको र त्यसयता दोस्रो फिचर फिल्म बनाउने आँट गर्न नसकेको उनले बताए।
त्यसपछि उनी छोटा फिल्म निर्माणतर्फ आकर्षित भए। नेपाली सेनाले आयोजना गर्ने लघु चलचित्र प्रतियोगितामा उनले लगातार दुईपटक पुरस्कार पाए। नेपाली सेनाको यो प्रतियोगिताको जुरी मेम्बर भएर पनि काम गरे।
त्यसपछि उनले बनाएको फिल्म हो दुविधा।
यो फिल्म किम्फमा प्रदर्शनको केही समयपछि युट्युबमा सार्वजनिक गर्ने तयारी रहेको प्रद्युम्नले बताए।
उनी यो फिल्मले आफूमा रहेको दुविधा पनि हटेको सुनाउँछन्।
-1717171947.jpeg)
उनले भने, 'म कहिले भिडिओ एडिटर, कहिले क्यामरा म्यान, कहिले लेखक, कलाकार भइरहेको थिएँ। धूलो फिल्मपछि मेरो परिचय निर्देशकका रूपमा आयो। त्यसलाई मेरो टर्निङ प्वाइन्टका रूपमा लिन्छु। त्यसपछि पनि ममा आफ्नो परिचयलाई लिएर दुविधा थियो। दुविधा फिल्मले तारिफसँगै विभिन्न फेस्टिभलमा अवार्ड पाएपछि भने ममा रहेको दुविधा हटेको छ। म एउटा निर्देशककै रूपमा अगाडि बढ्नुपर्छ भन्नेमा स्पष्ट भएँ।'
उनले सुनिलबाबु पन्तसँग मिलेर समलिंगीको कथामा बनाएको फिल्म 'ब्लु फ्लावर' विभिन्न विदेशी फेस्टिभलमा घुमिरहेको छ।
आगामी प्रोजेक्टका रूपमा छोटो फिल्म 'खुसी' बनाउँदैछन्।
'स्क्रिप्ट तयार भइसकेको छ। एक हप्तामै छायांकन सुरू गर्दैछौं,' उनले भने, 'यसमा परिवारभित्रको कथा देखाउँदै छौं।'
अन्य फिल्मको पनि तयारी भइरहेको बताए। उनी पछिल्लो समय छोटा फिल्मतर्फ आकर्षण बढिरहेको बताउँछन्। फिचर फिल्मको तयारीका लागि सिकाइका रूपमा छोटा फिल्म बनाउनेहरू धेरै रहेको समेत उनको बुझाइ छ।
'यसलाई हेर्न धेरै समय छुट्ट्याउनु पर्दैन। समयको बचतसँगै सन्देश र मनोरञ्जन पनि दिन सक्नु यसको विशेषता हो,' उनले भने, 'यसका लागि बजेट पनि धेरै चाहिँदैन। सानो सानो शो गर्ने, स्कुलहरूमा देखाउने गरेर सर्ट फिल्मबाट धेरथोर आम्दानी पनि गर्न सकिन्छ। त्यसमाथि विभिन्न फेस्टिभलमा गएर आफ्नो प्रतिभा देखाउनेसँगै नाम राख्ने अवसर पनि पाइन्छ।'
(किम्फका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)