आफ्नो खेतमा हराभरा बाली लगाउने सपना बोकिरहेका छन् एक किसान।
सरकारले दिने कृषि अनुदान आएपछि आफ्नो सपना पूरा हुने आस छ। तर सरकारी अनुदानको सूचीमा उनको नाम नै हुँदैन।
आफ्नो नाम किन हट्यो भनेर विभिन्न विभागमा चक्कर लगाइरहेका छन्। आफ्नै हकका लागि उनी फेरा लगाइरहेका छन्।
यस्तै विषयलाई समेटेर बनाइएको छोटो फिल्म हो 'फेरा'।
फेराका निर्देशक अनिल कुर्मीले यो कथा कल्पना गरेका होइनन्, देख्दै आएका हुन्।
उनको गाउँ नवलपरासी (पश्चिम) मा तरकारीको बिउ, कृषिका सामग्री आउँथ्यो। तर जसलाई आवश्यकता छ, उसले पाउने अवस्था हुँदैन थियो। राजनीतिमा लागेका या पालिकामा पहुँच भएका मान्छेले नै अनुदान लिएर जान्थे।
यो देख्दा उनलाई यो प्रवृत्ति परिवर्तन गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो।
परिवर्तनको सानो पहल स्वरूप उनले बनाएका फिल्म हो फेरा।
फिल्मको नाम जुराउनुको कारण बताउँदै अनिलले भने, 'सानै उमेरमा मैले जोगीहरू भिक्षा माग्न आएको देखेको थिएँ। तर उनीहरूलाई अन्तै फेरा लगाएर आउनू, अनि भिक्षा दिउँला भनेर फर्काइन्थ्यो। यो फिल्ममा पनि आफ्नो अधिकार माग्न जाँदा धेरै पटक फेरा लगाउनुपर्छ।'
यो फिल्मको कथा अनिलले एक वर्षअघि नै तयार पारेका थिए। किसानको भूमिकामा अनिल स्वयं देखिएका छन्। अन्य पात्रमा पनि उनले आफ्नै साथी र चिनेजानेकालाई खेलाएका छन्।
फेरा बनाउँदा सुरूमा केही कठिन भए पनि पछि सजिलै भएको उनी बताउँछन्।
'खासै गाह्रो भएन, यति गते यो दृश्य खिच्ने भनेर पहिल्यै तय गरिसकेको थिएँ। स्क्रिप्ट लेख्नेबेला पहिले अलि गाह्रो भएको थियो। पछि सुधार्दै गएँ, सजिलो भयो। फिल्म बनाउँदा मजा लाग्यो। अहिलेसम्मको मेरो राम्रो काम यही भएको छ,' उनले फिल्म निर्माण गर्दाको अनुभव साटे।
फेराले वैदेशिक रोजगारबाट फर्किएर गाउँमै केही गरौं भन्ने सन्देश पनि दिएको छ।
यो फिल्म नेपाल युरोपियन फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ। अब काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा प्रदर्शन हुँदैछ।
अनिल एकाएक फिल्म निर्देशनमा आएका होइनन्। उनलाई सानै उमेरदेखि अभिनयमा रूचि थियो। गाउँभरिका मान्छे जम्मा भएर फिल्म हेर्दै, उत्साहित भएर चिच्याएको उनलाई अझै याद छ।
स्कुल पढ्दा उनी नाटकमा अभिनय पनि गर्थे। शिक्षक र साथीहरूले 'राम्रो नाटक गरिस्' भन्दै हौस्याइदिन्थे।
१२ कक्षामा पढ्दै गर्दा अनिलको कलेजनजिकै एक गीतको छायांकन भइरहेको थियो। उनले निर्देशकसँग चिनजान गरे र आफ्ना लागि काम मागे। बारम्बार निर्देशकलाई मेसेज गरे।
यसपछि निर्देशकले एउटा छोटो फिल्ममा अभिनय गर्न अनिललाई बोलाए। त्यो फिल्म बनेन। तर अनिलले फिल्म क्षेत्रका मान्छे चिन्ने अवसर पाए।
यसैबीच उनी एक फिल्म फेस्टिभलमा स्वयंसेवक भएर खटिए। त्यसपछि उनले सरिता साहले निर्देशन गरेको नाटक 'लु' मा अभिनय गर्ने अवसर पाए। उनलाई अब नाटकमा अभिनय गर्न पाइन्छ भन्ने लागेको थियो। तर मधेसी पात्रको भूमिकाहरू धेरै नहुने बुझे। अनि अरू माध्यममा अवसर खोजी गर्न थाले।
यही खोजी क्रममा अनिल आफै छोटा फिल्म बनाउन थाले। अहिलेसम्म उनले दसवटा छोटा फिल्म निर्देशन गरिसकेका छन्। यीमध्ये चारवटामा उनले अभिनय समेत गरेका छन्।
निर्देशन र अभिनय एकसाथ गर्दाको चुनौती सुनाउँदै उनले भने, 'फिल्म बनाउँदा पूर्ण तयारी गरिएको छैन भने कि अभिनय छुट्छ, कि निर्देशन। म निर्देशनको पाटो पहिल्यै निर्धारण गरेर अघि बढ्छु। त्यसपछि कलाकारका रूपमा प्रस्तुत हुन्छु। कलाकार भएर काम गर्दा म कति फ्रेम आइरहेको छ भनेर समेत हेर्दिनँ। कट भएपछि मात्रै के कस्तो भएछ भनेर हेर्छु। झन् सानो लगानीमा बनाउँदा त डोरी चाहिँदा पनि आफै जानुपर्छ।'
उनले सृष्टि श्रेष्ठ र नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म 'मिसिङ' र सुदर्शन थापाको निर्देशन रहने फिल्म 'रावायण' मा पनि अभिनय गरेका छन्। यी दुवै फिल्म प्रदर्शन हुन बाँकी छन्।
'पहिले त मैले आफूलाई काम होस् भनेर फिल्म बनाउन थालेको हुँ। अहिले चाहिँ आफ्नो समाजको कथा पनि देखाउनुपर्छ जस्तो लागेर बनाउँदै छु,' उनले भने।