लोपोन्मुख जातिहरूका बारेमा निकै चासो राख्छिन् लक्ष्मी बस्नेत।
दोलखामा जन्मिएकी लक्ष्मी लोपोन्मुखमध्ये एक मानिने सुरेल जातिसँग नजिक थिइन्। स्कुल पढ्दै गर्दा उनले सुरेल जाति अन्य जिल्लामा छैनन् भन्ने सुनेकी थिइन्।
पछि पत्रकारिता विषय लिएर स्नातकोत्तर पढ्दै गर्दा उनलाई लोपोन्मुख जातिहरूप्रति चासो बढ्यो।
'सुरेलसँगै अरू कुन कुन लोपोन्मुख जातिमा पर्छन्, उनीहरू कहाँ बस्छन् भन्ने चासो बढ्दै गयो,' उनले भनिन्।
उनी किताबसँगै इन्टरनेटमा पनि लोपोन्मुख जातिबारे खोजी गरिरहन्थिन्। कामको सिलसिलामा उनी आदिवासी जनजाति महिलाहरूसँग नजिक भइन्। त्यति बेलै उनले भेटिन् सन्तोषी वनकरियालाई।
सन्तोषी आफ्नो समुदायको अगुवा थिइन्।
लक्ष्मीका अनुसार मकवानपुर जिल्लामा बसोबास गरिरहेको वनकरिया समुदायका महिलाहरू आफ्नो अधिकारका लागि बोल्नेदेखि लिएर पढाइमा समेत अगाडि छन्।
लक्ष्मी र सन्तोषीको बेलाबखत भेट भइरहन्थ्यो। लक्ष्मी रेडियोमा काम गरिरहेकी थिइन्। उनलाई वनकरिया समुदायको कथा भन्न मन लागिरहेको थियो। समय परिस्थितिले उनले सोचेजस्तो भएन।
केही समयपछि अस्ट्रेलियन दूतावासले पत्रकार महिलाका लागि जलवायु परिवर्तन, लोपोन्मुख जाति, लैंगिकता जस्ता विषयमा भिडिओ रिपोर्ट बनाउन अनुदान दिने घोषणा गर्यो। अस्ट्रेलियन दूतावासलाई दुइटा भिडिओ रिपोर्ट बुझाउनु पर्ने थियो। उनले वनकरिया समुदाय र फोहोरमैला सम्बन्धी भिडिओ रिपोर्ट तयार पारिन्।
उनको वनकरिया समुदायको रिपोर्टले वृत्तचित्र बनाउन पनि अनुदान पायो। उनी फेरि वनकरिया बस्ती पुगिन्।
सो समुदायका व्यक्तिहरू २२/२५ वर्षअघि घुमन्ते जीवन बिताइरहेका हुन्थे। केही पत्रिकामा उनीहरूको कथा छापिएपछि उनीहरू बस्तीमा सरेका थिए।
'जंगलबाट सरेर उनीहरू तलतिर आएछन्। २०६० सालमा उक्त समुदायलाई सरकारी जग्गा दिने भन्ने कानुनमा रहेछ। त्यसै अनुरूप उनीहरू बसिरहेका छन्। तर उनीहरूसँग आफ्नो नाममा लालपुर्जा छैन। त्यो जग्गा २० वर्षका लागि दिइएको रहेछ। उनीहरू अब कहाँ जाने भन्ने दुविधामा छन्,' लक्ष्मीले भनिन्।
त्यहाँ लगभग तीस घरमा करिब एक सय जना वनकरिया जाति बस्छन्। तर २०७८ सालको जनसंख्या तथ्यांकमा १८० जना देखाइएको छ। यसलाई वनकरिया समुदाय नै स्वीकार गर्न तयार छैनन्।
अहिले त्यहाँका सबै बालबालिका स्कुल जान्छन्। पाकाहरू पनि प्रौढ शिक्षा पढिरहेका छन्। त्यहाँका प्रायः जसोलाई हस्ताक्षर गर्न आउँछ।
'त्यहाँ महिलाहरूले पढ्नु पर्छ भनेपछि खुरूखुरू पढ्न थाल्नुभएछ। पुरूषहरूले भने पढेर के गर्नुछ र भनेर छोड्नुभएछ। त्यही भएर त्यहाँ हरेक कुरामा महिलाहरू अगाडि छन्,' लक्ष्मीले भनिन्।
त्यहाँ उनले केही पाका उमेरका महिलाले जंगलमै बच्चा जन्माएको, जंगलकै कन्दमूल खाएको अनुभव सुनिन्। यो वृत्तचित्र बनाउँदा पनि लक्ष्मीले महिलालाई धेरै समेटेकी छिन्।
'पुरूषहरूलाई बोल्न लगाउँदा सन्तोषीलाई सोध्नु भन्दै तर्किन्थे,' उनले भनिन्।
वनकरियाहरू अहिले आफ्नो पहिचानको खोजीमा रहेको लक्ष्मीले बताइन्। त्यहाँ पाका उमेरकाहरूले अलि अलि आफ्नो भाषा बोल्छन्। बजार जाँदा नेपाली भाषा बोल्नु परिहाल्यो। त्यसैले उनीहरूको भाषा हराउँदै गएको छ। उनीहरू अहिले आफ्नो भाषा र संस्कृति जोगाउनुपर्छ भन्ने दौडमा छन्। तर यही नै हो हाम्रो संस्कृति भन्ने ठम्याउने केही छैन।
'आफ्नो संस्कृति झल्किने पोसाक, संस्कार छैन। कसरी फरक पहिचान बनाउन सकिन्छ भनेर उहाँहरू लागिरहनुभएको छ,' उनले भनिन्।
लक्ष्मीले यो वृत्तचित्र एक वर्षअघि खिचेकी हुन्। अहिले वनकरिया समुदायमा उनले देखेको परिवर्तन भनेको उनीहरू पुस्तकालय बनाउने तयारीमा छन्।
उनका अनुसार वनकरिया समुदायका मानिसहरू मिलीजुली बसिरहेका छन्। यो समुदायको सबभन्दा राम्रो कुरा भनेको मदिरा नखानु हो। उनीहरू जाँदा पनि त्यो बस्ती एकदमै शान्त खालको थियो। त्यहाँ खासै झैझगडा नहुने उनले सुनेकी छन्।
लक्ष्मीले वनकरिया वृत्तचित्र बनाउँदाको अनुभव सुनाउँदै भनिन्, 'म किम्फमा वृत्तचित्र हेरिरहेकी हुन्थेँ। त्यति बेला वृत्तचित्र कसरी बनाउँछन् होला भन्ने लाग्थ्यो। आफैले बनाउँदा रमाइलो त लाग्यो तर धेरै समय खर्चिए जस्तो भयो।'
मानिसहरूको विश्वास जित्न समय लाग्छ। एक्लै काम गर्न सहज हुँदैन, ठूलो टिम चाहिन्छ। अझ मुस्किल, अब पुग्छ होला भनेर सम्पादनमा बस्दा केही न केही पुग्दैन। त्यसैले दृश्यले प्रस्ट नपार्ने कतिपय ठाउँमा लक्ष्मीले आफ्नो 'भ्वाइसओभर' राखेकी छन्।
उनको यो वृत्तचित्र ग्रामीण महोत्सव र चितवन सौराहा साउथ एसियन फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ। अब, यो वृत्तचित्र काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा प्रदर्शन हुँदैछ।
तस्बिर स्रोतः लक्ष्मी बस्नेत