आमाले छाडेर गएपछि १२ वर्षीय आदित्य पासवानले आफू पढिरहेको गाउँको स्कुल छाड्छन्।
स्कुल छाड्नुको कारण थाहा पाएपछि साथीहरू भन्छन् – ...भनेपछि तिमी काठमाडौं गएर पढ्ने अब!
बुढ्यौलीले छोएका आदित्यका बुबा जीविकोपार्जनका लागि काठमाडौंमा जुत्ता पालिस गर्ने काम गर्छन्। गाउँमा छोरा एक्लै भएपछि आफूसँगै ल्याउन चाहेका हुन्छन्।
आदित्य पनि अब काठमाडौंमा पढ्ने भनेर कम्ता खुसी हुँदैनन्!
उनको त्यो खुसी धेरै दिनसम्म रहँदैन।
जब काठमाडौं आउँछन्, बुबा अचानक रोगले गल्छन्। ओछ्यानमा थलिन्छन्।
त्यो परिस्थितिमा आदित्यको काँधमा जिम्मेवारीको भारी थपिन्छ। कोठा भाडा तिर्न, साँझ-बिहानको छाक टार्न र बुबाको औषधि उपचारका लागि उनले पैसा कमाउनु पर्ने हुन्छ। उनी बुबाले गरिरहेको काम अँगाल्दै अरूका जुत्ता टल्काउने काम सुरू गर्छन्। केही रूपैयाँ कमाउन थाल्छन्।
उनको ठूलो रहर छ – स्कुल पढ्ने।
यही रहरले उनलाई घरीघरी स्कुलसम्म तानिरहन्छ। आदित्य स्कुल जान विभिन्न उपाय पनि अपनाउँछन्। तर उनका लागि कहाँ सजिलो छ र!
यही कथावस्तुमा घुम्छ २० मिनेटको छोटो फिल्म – द स्कुल्स वाल। यसलाई रंगकर्मी मोहन श्रेष्ठ (अभिलाषी) ले लेखन एवं निर्देशन गरेका हुन्।
प्रायः वाल (पर्खाल) सुरक्षाका दृष्टिकोणले लगाउने गरिन्छ। यसले सीमा र साँध समेत छुट्ट्याउने काम गर्छ। 'द स्कुल्स वाल' मा भने तीन वटा कुरालाई सांकेतिक हिसाबले पर्खालका रूपमा प्रस्तुत गरिएको मोहन बताउँछन्।
'स्कुलमा पनि पर्खाल त लगाइएको हुन्छ। यो फिल्ममा गेट पनि एउटा पर्खालका रूपमा छ। त्यस्तै सुरक्षा गार्डलाई पनि पर्खालका रूपमा उभ्याइएको छ,' मोहनले भने, 'तर मुख्य चाहिँ गरिबी, बाध्यता र जिम्मेवारीलाई सिम्बोलिक रूपमा पर्खालका रूपमा प्रस्तुत गरेका छौं। जुन कुराहरूले स्कुल जान रहर गरिरहेको बालकलाई रोकिराखेको छ।'
तीन-चार वर्षअघि मोहनले काठमाडौंको जोरपाटीमा पेटीमा बसेर जुत्ता पालिस गरिरहेका एक बालक देखेका थिए। ठीक त्यही अगाडि सडकमा बालबालिकाहरू ड्रेस लगाएर स्कुल जाँदै थिए।
'एकै ठाउँका दुई दृश्यले ध्यान तान्यो,' मोहनले त्यो दिन सम्झिँदै सेतोपाटीसँग भने, 'यो विषयमा केही लेखौं कि भन्ने भयो। डायरीमा कथा लेखेर राखेँ। तर यसरी फिल्म बनाउँछु भन्ने थिएन।'
सर्वनाम थिएटरमा अभिनय प्रशिक्षण लिएका मोहनले यसबीच केही छोटा फिल्म बनाए।
एक दिन साथी रंगकर्मी सुरेन्द्र क्षेत्रीले प्रस्ताव राखे, 'बालबालिकालाई उत्प्रेरित गर्ने खालको, स्कुलसँग सम्बन्धित केही कथा छ भने त्यसमा काम गरौं न!'
मोहनलाई जोरपाटीमा देखेको त्यही दृश्य याद आयो। उनले सुरेन्द्रलाई कथा सुनाए। पुरानो कथा कसरी राम्रो बनाउन सकिन्छ भनेर एक हप्ता त्यसमै समय दिए।
कथा अनुसार फिल्मका लागि मधेसी मूलको पात्र चाहिएको थियो। भूमिकाका लागि खोजे जस्तो पात्र पाउन गाह्रो भएपछि अडिसन आह्वान गरियो। यसैबीच रंगकर्मी अनिल कुर्मीले आफ्ना भान्जाको फोटो मोहनलाई पठाए।
ती बालक थिए श्लोक साह। उनी कलाकार सुजिता साहका छोरा रहेछन्। मोहनले सुजितासँग त्यसअघि छोटो फिल्म 'भाउः कस्ट अफ लिभिङ' मा सहकार्य गरिसकेका थिए।
'तराईबाट आएको बालकको भूमिका निर्वाह गर्न सक्ने लागेपछि श्लोकलाई एक हप्ता वर्कसप गराएर काम गरेका थियौं। उनले हामीले सोचेजस्तै काम गरे,' मोहनले भने।
द स्कुल्स वालमा श्लोक आदित्यको भूमिकामा देखिएका छन्। बुबाको भूमिकामा सुवास गजुरेलले अभिनय गरेका छन्। रंगकर्मी सुरेन्द्र क्षेत्रीले यसमा लगानी गरेका हुन्। फिल्म कागेश्वरी मनोहरामा खिचिएको हो।
बालबालिकाले पढ्ने इच्छाका लागि के गर्न सक्छन् भन्ने नै यो फिल्मको कथा हो। बाल मनोविज्ञानमा आधारित यो फिल्ममा मैथिली, नेपाली र अंग्रेजी भाषा प्रयोग गरिएको छ।
यो फिल्म इरानको ५३ औं रोशद इन्टरनेसनल एजुकेसनल एन्ड साइन्टिफिक फिल्म फेस्टिभल, नाइजेरियाको इडिओ स्टेट इन्टरनेसनल फिल्म फेस्टिभल र जिम्बाब्वेको भर्सिटी फिल्म एक्स्पोको 'अफिसियल' छनोटमा परेको थियो। यसअघि बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्समा छनोट भएको थियो। अब मे २९ तारिक (जेठ १६) देखि सुरू हुने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) मा प्रदर्शन हुँदैछ।
मोहनको द स्कुल्स वाल मात्र होइन, यसअघिका फिल्म पनि विभिन्न महोत्सवमा पुगेका छन्।
उनको लेखन एवं निर्देशनको छोटो फिल्म 'भाउः कस्ट अफ लिभिङ' सात वटा महोत्सवमध्ये कुनैमा मनोनीत त कुनैमा छनोट भएको थियो। जीवनको मूल्यबारे प्रश्न उठाएर कबाडीवालाको कथामा मोहनले उक्त फिल्म बनाएका थिए। यो फिल्म केही दिनअघि मात्रै ओटिटी प्लेटफर्म 'कान्तिपुर सिनेमाज' मा रिलिज गरिएको छ।
त्यसपछि मोहनले बनाएको फिल्म हो 'घुर्रा'। यसको अर्थ घुम्ने खेलौना भन्ने हुन्छ।
'एउटा बालकले आफ्नो घुर्रा किन्ने रहर पूरा गर्न संघर्ष गर्छ। तर पछि त्यो बालक रहर पूरा गरेरभन्दा कसैलाई सहयोग गरेर बढी खुसी हुन्छ,' मोहनले सो फिल्मबारे भने, 'यसमा अगाडिको भन्दा केही चुनौतीपूर्ण काम गर्ने सोच थियो। त्यही अनुरूप एक सटमा खिचेका थियौं।'
घुर्राले नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितिसकेको छ। अमेरिकाको स्टुडेन्ट वर्ल्ड इम्प्याक्ट फिल्म फेस्टिभलमा क्वाटर-फाइनलसम्म पुगेको थियो। जिम्बाब्वे र इटालीको फिल्म फेस्टिभलमा मनोनीत यो फिल्म अन्य विभिन्न देशमा समेत प्रदर्शन भइसकेको छ।
त्यसपछि मोहनले 'पाउलो' (द शुज) बनाए। यसमा उनले जुत्तालाई नै मुख्य पात्र बनाएर प्रस्तुत गरे।
'खुट्टालाई पाउ भनिन्छ, त्यसैले जुत्तालाई पाउलो बनायौं। मानिसको जीवन जस्तै एउटा जुत्ताको जीवन देखाएर फिल्म बनाएको हो,' मोहन भन्छन्, 'यसको कथा कुनै बच्चा ठूलो कुरा पाउँदा पनि खुसी हुँदैन भने कोही सानो कुरा पाउँदा पनि उसको लागि संसार हुन्छ भन्ने खालको छ।'
फिल्मको कथा मन पराएर जुत्ता कम्पनी 'ब्ल्याक हर्स' ले लगानी नै गरिदिएको भन्दै मोहनले खुसी साटे।
दोलखाको शैलुङका मोहन सानैदेखि फिल्मप्रति निकै मोहित थिए। पढाइमा पनि तेज भएकाले फिल्म हेर्न परिवारबाट रोकतोक नभएको उनी बताउँछन्। त्यही बेलादेखि उनी पछि गएर फिल्म क्षेत्रमै लाग्छु भन्ने सोच्थे।
डेढ दशकअघि एसएलसी सकेर उनी काठमाडौं आए। रेडियोमा काम गर्दै कलेज पढ्थे। उनको भित्रैदेखिको रहर फिल्म पढ्ने थियो। प्लस टु सकेपछि उनले कान्तिपुर फिल्म एकेडेमी र अस्कर कलेजमा फोन गरेर फिल्म पढ्न लाग्ने शुल्कबारे जानकारी लिए।
'म सामान्य परिवारको व्यक्तिलाई फिल्म पढ्न महँगो लाग्यो। त्यसपछि थिएटरमा जोडिएँ,' मोहनले भने।
सर्वनाम थिएटरमा अभिनय सिक्दै गर्दा नाटक 'परिबन्ध' मा उनले कलाकारका रूपमा काम गरे। खानेपानी मन्त्रालयको आयोजनामा राष्ट्रिय सभागृहमा मञ्चन गरिएको नाटक 'उज्यालोतिर' लाई मोहन आफैले निर्देशन गरे।
फिल्मतिरको मोहका कारण मोहन धेरैतिर भौंतारिए। कतिबाट आश्वासन पाए। कोहीले त्यो पनि दिएनन्। त्यसपछि उनलाई यसरी भौंतारिनु भन्दा आफै केही गर्नु पर्छ भन्ने लाग्यो।
'अनि मैले ऐना आर्टस् सुरू गरेँ। त्यसैबाट छोटा फिल्महरू बनाउन थालेँ,' मोहनले भने।
समाजशास्त्रमा स्नातकोत्तर सकेका उनी सर्वनाम थिएटरमा आबद्ध छन्। विभिन्न स्कुलमा अभिनय सिकाउँछन्। यति बेला भने भिकारीको कथामा आधारित 'दृश्य' नामक छोटो फिल्म बनाउने तयारीमा रहेको उनले बताए।
मोहनले छोटो फिल्म 'ट्रस्ट' सँगै फिचर फिल्म 'आँखा' र 'द आउट ल' मा अभिनय गरेका छन्। आँखा असार १४ गतेदेखि प्रदर्शनमा आउँदैछ भने अर्कोको मिति तय गरिएको छैन।
'फिचर फिल्मका लागि पनि केही कथा तयार छन्। कुनैमा लेखन र निर्देशन मात्र गर्ने, कुनैमा अभिनय समेत रहने सोचेको छु। हेरौं, कस्तो हुन्छ,' कुराकानीको बिट मार्दै मोहनले भने।