काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१ औं संस्करण जेठ १६ (मे २९) देखि सुरू हुने भएको छ।
प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ २० (जून २ ) सम्म चल्ने किम्फमा २२ देशका ६० भन्दा बढी फिल्म प्रदर्शन हुने जानकारी गराइएको छ।
यस संस्करणको नारा 'इकोज अफ चेन्ज' अर्थात् 'परिवर्तनको प्रतिध्वनि' राखिएको छ।
इटालियन निर्देशक ब्रान्डो क्विलिचीको 'द टाइगर्स नेस्ट' को प्रिमियरबाट किम्फ सुरू हुने जनाइएको छ। नेपालमा छायांकन गरिएको यो वृत्तचित्र बाघको बच्चालाई सिकारीबाट बचाउन साहसिक यात्रामा निस्किएको एक युवाको कथा हो।
किम्फको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक फिल्म समावेश छन्। यसैगरी नेपाल पानोरामा शीर्षकअन्तर्गत विगतमा जस्तै स्वदेशी प्रतिभाका रोमाञ्जक फिल्महरू प्रस्तुत हुनेछन्।
आयोजक संस्था किम्फ फाउण्डेसनकी अध्यक्ष रम्यता लिम्बूले महोत्सवले आफ्ना फिल्म र कार्यक्रमहरूको लाइन–अपमार्फत दर्शकहरूलाई मनोरञ्जन सँगसँगै नेपाली समाजलाई असर पार्ने विषयहरूमा आलोचनात्मक संवादमा संलग्न गराउने बताइन्।
किम्फ २०२४ को एउटा मुख्य आकर्षण 'बाइ दोज हु व्हेयर देअर १९२१, १९२२, १९२२, १९२४' शीर्षकमा फिल्मसँगै एक शताब्दीअघिको सगरमाथा आरोहण प्रयासको दुर्लभ फोटाहरू तथा कथानकको प्रदर्शनी हुनेछ।
यसैगरी नेपाल–कोरिया मित्रताको ५० औँ वर्षगाँठको उपलक्ष्यमा भाषा र संस्कृतिमा भिन्नताका बाबजुद दुई देशबीचको समानता झल्कने उल्जु माउन्टेन फिल्म फेस्टिभल कोरियाका फिल्महरूको विशेष प्रदर्शन हुनेछ।
किम्फ २०२४ को निर्णायकमण्डल समेत सार्वजनिक गरिएको छ। जसमा निर्देशक/निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल), फिल्म सम्पादक रेजिना बर्त्स्की (स्वीटजरल्यान्ड) रहेका छन्।
निर्णायकमण्डलले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र, सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल पानोरामामा विधाका १३ वृत्तचित्र र १६ आख्यानमध्येबाट विजेता छनौट गर्नेछ।
अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १ हजार ५ सय डलर र उत्कृष्ट लघु कथानकलाई १ हजार डलर पुरस्कार प्रदान गरिने किम्फ फाउण्डेसनले जनाएको छ।
नेपाल पानोरामा सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक फिल्मले क्रमशः एक लाख रूपैयाँ प्राप्त गर्नेछन्। यसैगरी दर्शक पुरस्कारको राशी एक लाख रूपैयाँ छ।
फिल्म निर्माता, फिल्मप्रेमी, समीक्षक, बौद्धिक जमात, पत्रकार, कलाकार र पर्वतारोहीलगायतको उपस्थितिमा अन्तरक्रियात्मक छलफल, गेस्ट लेक्चर, पुस्तक तथा फोटो प्रदर्शनी साथै प्रतिस्थापन कला प्रदर्शनी गरिनेछ।
गैरनाफामुखी संस्था किम्फ फाउन्डेसनद्वारा आयोजित यस महोत्सवको प्रवर्द्धक नेपाल पर्यटन बोर्ड रहेको छ। किम्फ इटालीको टुरिन सहरमा मुख्यालय रहेको इन्टरनेशनल एलायन्स अफ माउन्टेन फिल्म (आईएएमएफ) को सदस्य हो।
आईएएमएफमा २० देशका २८ संस्थाहरू सदस्य छन्।