झरना कि जर्ना?
इनुमा राईलाई आफ्नो वृत्तचित्रको नाम बुझाउँदै हैरानी छ।
एक फिल्म महोत्सवमा उनको वृत्तचित्रले अवार्ड पाएको थियो। त्यो बेला उद्घोषकले 'झरना' नाम भने। इनुमालाई आफ्नो फिल्म हो भन्ने नै भएन। उनी चुप लागेर बसिरहिन्।
जब निर्देशकको नाम बोलाइयो, तब मात्रै उनले आफ्नो वृत्तचित्र रहेछ भन्ने पत्तो पाइन्।
उनले बनाएको वृत्तचित्र 'जर्ना' हो। तर उनका केही साथीहरू नै अझै झरना भन्छन्।
सायद जर्ना शब्दबारे धेरैलाई जानकारी नभएर पनि होला।
'जर्नाको कथा तराईमा डुंगा चलाएर दाउरा निकाल्ने महिलाको हो। मैथिली भाषामा नदीबाट निकालिएको दाउरालाई जर्ना भनिँदो रहेछ,' इनुमाले यो नाम राख्नुको कारण खुलाउँदै भनिन्, 'अनि मलाई छोटो शब्द मन पर्छ।'
इनुमाले पहिलो पटक वृत्तचित्र निर्देशन गरेकी हुन्। यसअघि उनी 'हेर्ने कथा' टिमसँग आबद्ध भएर काम गरिरहेकी थिइन्। तीन वर्ष अवधिमा उनले थुप्रै कथा खोजी गरिन्। तर सबै कथा 'हेर्ने कथा' मा समेट्न सम्भव थिएन।
उनलाई लाग्थ्यो — हेर्ने कथामा नसमेटिएका कथा पनि लोभलाग्दा छन्!
यसैबीच अस्ट्रेलियन दूतावासले महिला र जलवायु परिवर्तन सम्बन्धी कथालाई अनुदान दिने घोषणा गर्यो।
यो इनुमाका लागि सुनौलो अवसर थियो। खोटाङमा जन्मिएकी उनलाई फोटोग्राफी मोहले वृत्तचित्रसम्म डोहोर्याएको हो। कामका सिलसिलामा विभिन्न ठाउँ पुगिन्। त्यसैले आफ्नो कथा कहाँ भेटिन्छ भन्ने उनलाई मोटामोटी थाहा भइसकेको थियो।
उनी लागिन् तराईतिर।
सप्तरीमा उनले नदीमा डुंगा चलाएर दाउरा खोज्दै गुजारा गरिरहेका महिलाहरू भेटिन्। उनको नजर त्यतैतिर अडियो।
उनले एक परिवारलाई आफ्नो प्रस्ताव राखिन्। उनीहरू मैथिली मात्र बोल्थे, नेपाली धेरै नबुझ्ने। इनुमालाई पनि मैथिली नआउने। त्यसैले उनले नेपाली बुझ्ने स्थानीय सहयोगमा आफ्नो कुरा अगाडि बढाइन्।
उनीहरूले 'हुन्छ' भनेपछि इनुमा काठमाडौं फर्किन्। केही दिनपछि आफ्नो टिमसँग वृत्तचित्र खिच्न पुगिन्।
त्यहाँ पुग्दा परिस्थिति परिवर्तन भइसकेको थियो। उनले जुन परिवारसँग कुराकानी गरेकी थिइन्, त्यो परिवारको कोही व्यक्ति नदी किनारमा भेटिएन।
केही स्थानीयसँग सोधपुछ गरिन्। सबैले थाहा नभएको प्रतिक्रिया दिए।
त्यसपछि उनी ती व्यक्तिको घरै पुगिन्। घरमा छोरी मात्र थिइन्। धेरै समय कुर्दा पनि परिवारका अरू सदस्य आएनन्। अनि अर्काे दिन आउने भन्दै इनुमा त्यहाँबाट निस्किइन्।
संयोग, बाटैमा उनीहरूको जम्काभेट भयो।
'बाटोमा देखेपछि मैले बोलाएँ। तर उहाँहरू त नदेखे जसरी हिँड्नुभयो। कथा नगर्ने भन्नुभयो। एक्कासि के भएछ भनेर म छक्क परेँ,' उनले भनिन्।
इनुमा उनीहरूलाई पछ्याउँदै फेरि घरसम्मै गइन्। केही समयपछि उनीहरूले आफ्नो छोरा गाँजा मुद्दामा पक्राउ परेको बताए।
त्यहाँ इनुमाले आफ्नो कथाका लागि जबरजस्ती गर्ने ठाउँ थिएन। उनी निराश हुँदै फर्किँदै थिइन्। बाटैमा प्रहरी भेटिए।
गाँजाको मुद्दामा पक्राउ परेका व्यक्तिको घरबाट निस्किरहेको देखेर प्रहरीले इनुमा र उनको टिमलाई पनि शंकाले हेर्यो।
'हामीले आफ्नो कामबारे बतायौं,' इनुमाले भनिन्, 'अनि प्रहरीले यो परिवारको सदस्यमाथि मुद्दा चलिरहेको छ, उनीहरूको कथा नखिच्नुस् भनेर आग्रह गरे।'
इनुमासँग विकल्प थिएन। उनले काठमाडौं फर्किने तर्खर गरिन् तर मन मानेन। उनी फेरि नदी किनार गइन्। केही बेर बसिन्।
त्यहीँ उनले आफ्नो कथाको पात्र भेटिन् — सोनिया सदा।
सोनिया विगत १५ वर्षदेखि नदीबाट दाउरा निकालेर गुजारा गरिरहेकी थिइन्। उनीसँग डुंगा चलाएको लामो अनुभव थियो।
इनुमालाई सोनियाको कथा भन्नु उपयुक्त लाग्यो।
छायांकन गर्ने बेला इनुमाको टिम पनि डुंगामा जानुपर्ने थियो। अरू मान्छेले जोखिम नमोल्नुस् भन्न थाले।
'उहाँहरूले यति धेरै समयदेखि जोखिम मोलिरहनुभएको छ, हामीले एक दिन जोखिम मोल्दा के फरक पर्छ! मन बलियो बनाउँदै हामी डुंगा चढ्यौं,' उनले भनिन्।
यो वृत्तचित्र खिच्न इनुमासँग एक दिन मात्रै समय थियो। उनीहरूलाई छोटो समयमा राम्रो काम निकाल्ने चुनौती भयो।
छायांकन सकिएपछि सोनियाले इनुमाहरूलाई भनिछन्, 'तपाईंहरू भाग्यमानी हुनु हुँदो रहेछ। आज तपाईंहरूलाई केही भएन। कति पटक त हाम्रो नै डुंगा पल्टिएको छ।'
यो वृत्तचित्र नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ), नेपाल कल्चरल फिल्म फेस्टिभल र ह्युमन राइट्स फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ। निफमा यसले बेस्ट नेसनल डकुमेन्ट्री र नेपाल कल्चरल फिल्म फेस्टिभलमा बेस्ट नेसनल मेन्सन अवार्ड जितेको थियो।
अब, यो वृत्तचित्र काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा प्रदर्शन हुँदैछ।