क्यानडा निवासी 'खाइराइड' का लेखक राजेन्द्र कार्कीले एकदिन म्यासेन्जरमा भन्नुभयो, ‘अनिता मेडम हामीले लक्ष्मण गाम्नागेको कृति दलालशाला मा एउटा अन्तर्क्रिया गर्ने भएका छौँ। जुममार्फत्। तपाईंले पनि आफ्नो सहभागिता जनाउनु पर्छ है ...।’
मैले नाइँ भन्नै सकिनँ।
कारण लक्ष्मण गाम्नागे मलाई मन पर्ने लेखक मात्र नभएर हास्य व्यङ्ग्यका महारथी नै हुन्।
सिस्नुपानीदेखि गाईजात्राका कार्यक्रमहरूमा उनलाई सुन्दै आएकी छु। उनको शैली बडो गजब लाग्छ। शब्द चयन पनि शालीन छ। वाचन उस्तै आकर्षक। उनको कलममा व्यङ्ग्यको नाममा सस्तो गाली छैन। भाव छ। संवेदना छ। विचार छ।अव्यवस्थाप्रति रोष छ। आक्रोश छ। छ त आशाको उज्यालो किरण, नत्र किन व्यङ्ग्यको झटारो हानिरहन्थे चिरपरिचित दलालशालामा।
शीर्षक नै दलालशाला पढेपछि सोचेँ यो त उपन्यास होला। प्रायः म कथा र उपन्यास पढ्न मनपराउँछु। पक्कै दलालशाला त झन् रमाइलो होला। सकिहाल्छु नि! दुई तीन दिनमा त! मैले सहमति जनाएपछि राजेन्द्र सरले पिडिएफ पठाउनुभयो। तर आँट आएन पिडिएफ पढ्ने।
संयोगले भोलिपल्टै मलाई पुतली सडकको एक रेस्टुरेन्टमा एउटा साहित्यिक कार्यक्रममा जानु थियो। मञ्जरीको आँगनबाट मेरा पाइताला रगडिँदै थिए। झट्ट पिडिएफको पीडा सम्झिएपछि पाइतालाहरू मोडिए मञ्जरीतिर। राजेन्द्र कार्कीको म्यासेज देखाएर सजिलै पुस्तक लिएँ। ढुक्क भएँ। मायाले के के गराउँछ गराउँछ। आँखाको मायाले त्यति गरायो।
घर आएपछि पुस्तकका पाना पल्टाउँछु त निबन्ध सङ्ग्रह पो रहेछ। त्यो पनि जम्मै राजनीति विषयका। मलाई त वाक्क आउला जस्तोभयो। अर्को फसाद दलालशालामा संग्रहित निबन्धहरूको त जम्बो जुलुसै रहेछ। मञ्जरी प्रकाशनले प्रकाशन गरेको यो संग्रह २८४ पृष्ठमा फैलिएको रहेछ। राम! राम! निबन्ध पनि दश पन्ध्र वटा हो र! ठ्याक्कै १३८ वटा। मेरो सात्तो गयो। ओठ तालु सुक्यो। अब मैदानबाट कसरी भाग्नू! कसरी भन्नु राजनीतिका विषयमा मलाई रूचि छैन भनेर। कसरी भनौँ यी निबन्धहरू पढ्न सक्दिनँ भनेर।
अनि मैले आफैलाई चुनौती दिएँ। जे पर्लापर्ला पढ् केटी। केही त सिक्छेस्। मेरो रूचि राजनीतिप्रति फिटिक्कै छैन। भन्नु होला राजनीति नबुझ्ने मान्छेले देश नै बुझेको हुँदैन। मलाई पढ्दा नबुझ्ने पुस्तक पढ्न अल्छी लाग्छ। अझ भनौं निर्लज्जताको छाता ओडेर गरिएको नेपालको वर्तमान राजनीतिप्रति वितृष्णा छ। कारण राजनीतिको डरलाग्दो खेल मेरो परिवारमा म जन्मनुभन्दा अगाडि नै देखिसकेकी छु। कहिले नसुक्ने गरेर घरको आँगन पिताको रगतले भिजेको छ। राजनीतिको रक्तिम रङ फिटिक्क मन पर्दैन मलाई।
अझ अनुशासनहीन, नैतिकताविहीन र मनपरितन्त्रका नायकहरूको चरित्र पढेर के गर्नु जस्तो पनि लाग्छ। भनिन्छ नि बाह्र वर्षसम्म कुकुरको पुच्छर ढुङ्ग्रामा राखे पनि सिधा हुँदैन, सत्य रहेछ। गाम्नागेका निबन्धहरू पढ्न थालेपछि म केही ढुक्क भएँ। दीर्घ श्वास फेरेँ। खाटा बसेका घाउहरू धन्न कोट्टिएनन्। हत्या, हिंसा र युद्धको विषय रहेनछन्।
मलाई विश्वासघातीप्रति पुनः विश्वास नै लाग्दैन। मलाई अभिनय गर्ने अभिनेताहरू मन पर्छ तर अभिनय गर्ने राजनेतादेखि घिन लाग्छ। तिरस्कार गर्न मन लाग्छ तिनीहरूका छद्म व्यवहार। त्यसैले बेलाबेला राजनीतिको शीर्षक मात्र पढ्छु। निर्लज्जताको दलालशालाभित्र पस्न फिटिक्कै मन लाग्दैन थियो। तर गाम्नागेले दलालशालाभित्र छिराएर देशको राजनीतिक अवस्थाप्रति अझ मलाई संवेदनशील बनाइदिए।
नेताहरूको वास्तविक वैचारिक धरातल बुझेपछि त झन् घृणा पो जागृत भयो। आफैदेखि दिक्क लाग्यो। कति घिन लाग्दो निर्लज्जताको छाताभित्र सुरक्षित भएको आभास लिएर पो बसेका रहेछौँ हामी।
यी निबन्धहरू कान्तिपुर पब्लिकेशनको नेपाल पत्रिकामा स्तम्भको रूपमा आइसकेका निबन्धहरूको सिङ्गो पुस्तकको रूप रहेछ। अझ भनौँ इतिहासको पदचाप रहेछ। समयको बुलन्द आवाज रहेछ। देशको दुरुह अवस्थाको यथार्थ चित्रण रहेछ। देश किन बिग्रियो? युवाहरू किन पलायन हुँदैछन्? किन बौद्धिक सम्पत्ति देशमा टिक्न सक्दैनन्? किन देश अशान्त छ? किन राजनीति अस्थिर छ? किन न्यायप्रणाली निष्पक्ष छैन? देशमा किन सुशासन छैन ? किन भ्रष्टाचार उत्कर्षमा छ? सरकार किन बदलिरहन्छ? कयौँ किनको उत्तर गाम्नागेले यी निबन्धहरूमा दिएका छन्।
यो वर्षको नागपञ्चमी पनि सकियो। नागपञ्चमीदेखि नै मलाई बडो रमाइलो लाग्छ प्राकृतिक वातावरण। ढोकामा नाग टाँसेर धुमधामसँग पूजाआजा गरेपछि सजिलै प्रवेश गर्छन् हाम्रा चाडपर्वहरू। पर्वहरूको आगमनले सम्पूर्ण वातावरण आह्लादित हुन्छ।
पञ्चमीपछि तुरून्तै जनैपूर्णिमा आउँछ भनेर नौथरीका गेडागुडी उमार्ने चटारोमा लाग्छ नेपाली समाज। लगत्तै गाईजात्रा आउँछ। गाईजात्राको मर्मले मर्माहित हुन्छु। गाईजात्राको इतिहासले प्रताप मल्लको सोच र विचारलाई नमन गर्छु। सन्तान गुमाएकी आफ्नी रानीको चित्त शान्त पार्न गाईजात्राको कति सरल र कति गहन दर्शनलाई उद्घाटित गरिदिए।
झसङ्ग हुन्छु, प्रताप मल्लले आरम्भ गरेको सांस्कृतिक पर्व गाईजात्राको महत्त्व युगौँयुगसम्म रहने छ। फेरि मनमा नवीन गाईजात्रा खित्का छोडेर हाँस्छ।
हरेक वर्ष सिस्नुपानी नेपालले तिहारमा हास्यव्यङ्ग्यात्मक देउसी कार्यक्रम ल्याउँछ। गाईजात्रा विशेष कार्यक्रमहरू पनि बेलाबेलामा आउँछ। देशभित्र घटेका घटनाहरूमा नै तीखो व्यङ्ग्य प्रहार गर्छन्। व्यङ्ग्यका नायकहरूकै अगाडि व्यङ्ग्य मञ्चन हुन्छ। देश हाँक्ने ती नायकहरू बडो मज्जाले कुम हल्लाई हल्लाई हाँस्छन् आफ्नै चरित्र चित्रणमा। रत्तिभर लज्जाबोध हुँदैन। कति निर्लज्ज। कति ढिठ।
हिजोआज हुने राजनीतिक, प्रशासनिक, सामाजिक गाईजात्रा हरेक दिन जस्तो देख्न र सुन्न पाइन्छ। यस्तो समयमा साहित्यमा हास्य र व्यङ्ग्य लेख्न निकै गाह्रो छ। चुनौतीपूर्ण छ। तर गाम्नागे सफल छन्।
वैचारिक गाईजात्रा कति घृणित हुने रहेछ। हामी भुक्तभोगी छौँ। वैचारिक धरातल गुमाएका पात्रहरूमाथि हरेक वर्ष व्यङ्ग्यको झटारो बर्सिन्छ। तर खोई कतै छैन आत्मसुधार। आत्मआलोचना। मलाई त यस्तो लाग्यो जति जति गाईजात्राका कार्यक्रमहरूमा यी नालायकहरूका नालायकीपनलाई उजागर गरिन्छ त्यति त्यति यिनीहरू हौसिएका त हैनन्? कि अब गाईजात्राको तरिका नै बद्ल्ने हो। व्यङ्ग्यको शैली नै फेर्ने हो?
वैचारिक गाईजात्रा देशका लागि कति घात हुनेरहेछ भन्ने कुरा हामी नेपालीहरूले बडो राम्रोसँग बुझिसकेका छौँ। अस्ति संसद भवनमा पनि एउटा गाईजात्रा मञ्चन भयो। दर्शकदीर्घामा थिए सम्माननीय प्रधानमन्त्रीदेखि मन्त्रिपरिषदका जिम्मेबार पदाधिकारीहरू। सभामुखको कुर्सीबाट बोल्ने सभासदको पठन क्षमतालाई निकै ट्रोल बनाइयो। मलाई भने निकै घृणा जागृत भयो यो व्यवस्थाप्रति।
के ती महिला सांसद उसै गएर बोलिन्? उनलाई किन पुर्याइयो त्यहाँसम्म? अनि कुनै समुदायको आवाज संसदमा लैजान त्यो समुदायको हुर्मत नै लिनुपर्छ र ? कति गैरजिम्मेवारपूर्ण कदम।
यी निबन्धहरू पढ्दै गर्दा मलाई चिन्ताको पिरले चेप्दै लग्यो। यहाँ भ्रष्टाचार, दण्डहीनता, मनपरितन्त्र, अराजकता, व्यथिति, विसङ्गति, कानूनको उलङ्घन, पदमा बसेका जिम्मेबार पदाधिकारीहरूको गैरजिम्मेबारपूर्ण बोली र व्यवहार देखेर मस्तिष्क रिङ्ग्यायो।
नेपाली जनताले सुशासनले सजिएको राज्यको अनुभूति गर्न नसक्नुको कारण त यस्तो पो रहेछ भनेर दाह्रा किट्न मन लाग्यो।
दलालहरूको धर्म त निर्लज्जता पो रहेछ। अनि पो जति व्यङ्ग्यको वाण छोडे पनि हाँसिरहेका रहेछन्। भनिन्छ नि भैँसके आगे बिन बजाये भैँस खडी पगुराय। मूर्खलाई सम्झाउन सकिँदैन। यहाँ चिना हराएका मान्छेहरूसँग ठूलै आश गर्न सकिन्छ तर विचार हराएका निर्लज्ज मान्छेबाट दुर्घटना सिवाय केही हुनेवाला छैन।
छल, कपट र झुठको रगत यी दलालहरूको नशा नशामा बगेको रहेछ। यिनीहरूको कुनै जात, धर्म र सिद्धान्त नै रहेनछ। पैसा, पद र पावरको लागि जुनसुकै कदम उठाउन तम्तयार। विचारविहीन यस्ता दलालहरू सुशासनका हत्यारा हुन्। कानूनका विरोधी हुन्। उदण्डताका पक्षधर हुन्।
यहाँ १३८ वटा निबन्धहरूमा यो कुरा पुष्टि भएको छ। यस सङ्ग्रहमा सङ्ग्रहित निबन्धमध्ये मलाई विशेष मन परेको निबन्ध महाअभियुक्त महान्यायाधीश हो।
यसमा गाम्नागेले निबन्ध लेखनको सुन्दर कला प्रस्तुत गरेका छन्। देशमा झाँङ्गिदै गएको दलालशालाको परिचय, परिभाषा, प्रभाव, प्रकृति र अवस्थालाई पुष्टि गरेका छन्।
संक्षिप्ततामा व्यापकता यो निबन्धको विशेषता नै हो। कलापूर्ण व्यङ्ग्य निबन्धको उत्कृष्ट नमूना हो। आक्रोश, गाली र नाराभन्दा शालीनता ओडेको शब्दलहरी कति सुन्दर हुन्छ भन्ने उदाहरण यो निबन्धमा दिएका छन्।
निकै सुन्दर ढङ्गले वक्रोक्तिको प्रयोग गरेका छन्। देश हाँक्नेहरूको विचारलाई सर्लक्कै उतारेका छन्। दलालशालामा योग्यताको मानक निर्धारण कस्तो कस्तो रहेछ भनेर बताएका छन्। यी दलालहरूको टुप्पीदेखि नङसम्मको चरित्र चित्रण गरेका छन्। दलालशालामा वाद, नीति, निष्ठा, कर्तव्य, जिम्मेवारी र सिद्धान्तको कुनै औचित्य नै छैन भन्ने सत्यलाई उज्यालो पारेका छन्। निष्कलङ्कित मान्छेका लागि नेपाली समाज, संघसंस्था, र प्रशासनदेखि न्यायलयसम्म पनि सुरक्षित छैन। उपयुक्त छैन। युवाहरू त कि दलालशालामा भर्ती हुनुपर्यो नभए देशको सीमाना काटेर लाहुरे हुनै पर्यो।
यो एउटै निबन्धमार्फत ती कुरालाई गाम्नागेले पुष्टि गरेका छन्। नेपालको न्यायिक इतिहासमै पहिलोपटक महिला प्रधानन्यायाधीश बनेकी सुशीला कार्कीलाई १० महिनाभित्र महाअभियोग लाग्यो। सुशीला कार्की अयोग्य भइन्। हरेक क्षेत्रका सुशीला कार्कीहरू निलम्बित हुनुपर्छ। अभियोग खेप्नुपर्छ। यो देशको दुर्भाग्य हो। नेपालीहरूको नियति नै हो। महाअभियुक्त महान्यायाधीशमा गाम्नागे लेख्छन् , ‘सुशीला कार्की हाम्रो देशका लागि काम नलाग्ने , गैरजिम्मेवार, परम्परा विरोधी, अराजक र अव्यावहारिक प्रधानन्यायाधीश थिइन्। नेपालको इतिहासमै यति अटेरी प्रधानन्यायाधीश कोही भएकै थिएन। यत्ति अटेरी कि सर्वशक्तिमान ठूला दलका शीर्ष नेतालाई पनि नटेर्ने, प्रधानमन्त्रीसँग पनि नझुक्ने। आफूलाई नियुक्त गर्ने दलहरूप्रति रत्तिभर पनि झुकाव राखेर उनीहरूको हितमा फैसलाहरू पनि नगरिदिने।
यिनको सबैभन्दा ठूलो अपराध चाहिँ निष्कलङ्क छवि थियो। एउटी निष्कलङ्क छवि भएकी प्रधानन्यायाधीश हुनु नेताहरूका लागि एकदमै लज्जाको विषय भएको थियो। भ्रष्टाचारबाट बाह्र हात पर बस्ने, अरूले गरेका भ्रष्टाचार पनि नसहने, किर्ते नगर्ने, घुस नखाने, कानूनको पालना गर्न गराउनमा कट्टरता प्रदर्शन गर्ने, धाकधम्कीसँग नडराउने, नतर्सिने। हाम्रा शीर्ष नेताज्यूहरूलाई यिनको अगाडि शिर ठाडो गरेर हेर्न गाह्रो भइसकेको थियो। यस्तो स्थिति भएपछि तिनलाई त्यति ठूलो पदमा राख्ने कुरै हुँदैनथ्यो (पृष्ठ १९९ )।’
यी तमाम घटनाप्रधान निबन्धहरू पढेपछि मेरो त सात्तो नै उड्यो। कस्तो कस्तो विचार लिएर देश हाँकिरहेका छन्? यस्तो अवस्थामा कसरी सन्तानका पाइला रोकेर राख्यौँ यो दलालशालामा।
म मेरो सन्तानलाई सुशीला कार्की बनाउन चाहन्छु तर मलाई यो प्रशासनले दिँदैन मार्छ मेरो सिद्धान्त र विचार।
आफ्नै सिद्धान्त र विचारको हत्या गरेर बाँचेका यी जिउँदा लाशहरूदेखि सदैव खतरा छ। बरू पिचासको साम्राज्यमा सुरक्षाको प्रत्याभूति होला तर दलालशालामा नहुने रहेछ।
कति अस्थिर राजनीति। कति कमजोर न्याय प्रणाली। निश्पक्ष न्याय त रामशाहको पालामै पुरिएछ। भारत वर्षसम्ममा पनि प्रचलित थियो न्याय नपाए गोर्खा जानू भन्ने उदाहरण। तर आज संविधानले सजिएको न्याय प्रणाली पनि विश्वसनीय छैन। योभन्दा लाजमर्दो अवस्था अरू के हुन सक्छ ? संविधानको उल्लङ्घन पनि कति सजिलै गर्न सक्छन् संविधानको वकालत गर्ने यी दलालहरूले?
नैतिकता हराएको राज्यप्रणालीमा एक इमानदार व्यक्ति नन्दलाल बन्नुपर्छ। कस्तो घाँडो भयौ नन्दलाल निबन्धमा गाम्नागे यथार्थ आवाज बुलन्द गर्छन्, ‘जति माग न न्याय, सरकारले कान सुन्दैन। किन सुन्दैन थाहा छ? किनभने सरकारका अध्यक्ष न्यायपालिकाका प्रमुख छन्। न्यायमूर्ति आँखामा पट्टी बाँधेर न्याय गर्ने बानी, सरकारको प्रमुख भएपछि कानमा पनि ठेडी खाँदेका छन्। विवेकमा चाहिँ पेटी नै बाँधेका छन्। चार दलले बाँधिदिएको पीडकले नै पेटी बाँधिदिएपछि के गरून् बिचरा! उनी केही देख्दैनन्- सुन्दैनन् - गर्दैनन्। लिन्ठिङलिन्ठिङ झण्डा मात्रै हल्लाउँछन्। उनले जानेको कानूनका दफा पल्टाउने हो। दफा पल्टाएर हेर्दा तिमी र तिम्रो परिवारलाई न्याय दिने दफामा पहिल्यै कालो पोतिसकिएको छ। अनि तिमीले कसरी पाउँछौँ न्याय (पृष्ठ ६१-६२ )’
जरा नभएका रूखहरूको जङ्गल नै रहेछ राज्यतन्त्र त! कत्रो शक्ति अराजकताको। कुनै कुनै सतिसालका रूखलाई पनि यी जराविहीन रूखहरूले ढालेरै छोड्दा रहेछन्। यो देश साँच्चै सतीको श्रापले अभिशप्त रहेछ। संसदभित्र आ-आफ्नो स्वार्थभन्दा ठूलो केही रहेनछ।
सत्ता, शक्तिको लागि नेताहरू बीच तानातान, खोसाखोस, भागबण्डा गरेर राजनीतिक अस्थिरता कायम राख्ने अविवेकी सत्ताको खेल छ यी निबन्धहरूमा।
सरकारका कुर्सीमा बस्ने गद्दारहरूको नाङ्गो रूप देखाएका छन् निबन्धकारले। आफैँले आफूलाई उत्कृष्ट ठान्ने महारोगले ग्रसित पङ्गुहरूको अहम् ले दुर्घटना नित्याएको छ।
अन्त्यमा भन्नै पर्छ निबन्धहरू बिजोड हुँदाहुँदै पनि धेरैवटा निबन्ध सङ्ग्रहित भएकाले निबन्धका शीर्षकहरू नै स्मरण गर्न गाह्रो हुन्छ। कतिपय पात्रहरूको पुरावृति भएको पो हो कि!
घटनाहरूको प्रवृति र पात्रहरूको चरित्र दोहोरिएर अरू मुख्य पात्रहरू छुटेका हुन् कि या निबन्धकारले जानीजानी छुटाएका हुन् कि ? भन्ने प्रश्न पाठकहरूको मनमा उत्रिन सक्छ।
निबन्धकारले व्यङ्ग्य गर्दा कतै कसैलाई काखा कसैलाई पाखा गरेर त गरेनन्? भन्ने शङ्का पनि उठ्न सक्छ। जे होस् निबन्धहरू पठनीय छ। पुस्तक सङ्ग्रहणीय छ। देशको इतिहास अमूल्य हुन्छ चाहे त्यो सुःखद होस् या दुःखद्।
आशा गर्छु देशमा दलालशालाको छिट्टै अन्त्य होस्। एक थोपा मदिरा नपिउने हरिबंशराय बच्चनले कल्पना गरेजस्तै मदिराविहीन मधुशाला खुलून् घरघरमा। चिन्मयको मधुशालामा बसेर सबै नेपालीहरूले आत्मज्ञानको प्याला पिऊन्। शाश्वत सत्यलाई जानेर आन्तरिक आनन्दमा डुब्दै निष्पाप, निष्कलङ्क छवि बोकेर सबैले मानव धर्म र राष्ट्र धर्मलाई आत्मसात गरून्।