विश्वचर्चित अमेरिकी गायिका टेलर स्विफ्ट र खेलाडी ट्राभिस केल्सीले आफ्नो विवाहको मिति आधिकारिक रूपमा सार्वजनिक गरेका छैनन्। यद्यपि, उनीहरू छिट्टै विवाह गर्न लागेको चर्चा यतिबेला निकै चुलिएको छ।
'द सन' को रिपोर्ट अनुसार यो जोडीको विवाहलाई भव्य बनाउन दुवैका आमाहरू डोना केल्सी र एन्ड्रिया स्विफ्ट सक्रिय रूपमा खटिएका छन्।
स्विफ्टले एक दिनको मात्र नभई शुक्रबारदेखि आइतबारसम्म चल्ने तीन दिने 'वीकइन्ड' समारोहको चाहना राखेकी छिन्। योजना अनुसार नजिकका इष्टमित्रहरूका लागि स्वागत समारोहबाट सुरू भई मुख्य विवाह र अन्तिममा बिदाई ब्रन्च आयोजना गरिनेछ।
यो जोडीले भीडभाड र मिडियाको निगरानीभन्दा टाढा रही आफ्ना एकदमै नजिकका व्यक्तिहरूसँग मात्र यो उत्सव मनाउने योजना बनाएको छ।
फ्यानहरूले अनुमान गरेझैं, यो समारोह स्विफ्टको वाच हिल, रोड आइल्याण्डस्थित प्रसिद्ध घरमा हुनेछ। उनी प्रायः बिदा मनाउन र साथीभाइसँग पार्टी गर्न यहाँ जान्छिन्। विवाहस्थललाई भीडभाडयुक्त नबनाई शान्त बनाउन घरको बाहिरी सजावट र सुरक्षा व्यवस्थामा करिब १२ लाख डलर खर्च गरिएको बताइएको छ।
साथै, टेलरको 'फूलहरूको सागर' मा विवाह गर्ने किशोरावस्थादेखिको सपना पूरा गर्न करिब ७ लाख ५० हजार डलर बराबरको अर्किड, पियोनी र हाइड्रिन्जिया जस्ता फूलहरूले सजावट गरिँदैछ।
आमाहरू डोना र एन्ड्रियाले फूलको छनोटदेखि साना व्यवस्थापकीय विवरणहरूमा ध्यान दिँदै यो विवाहलाई हलिउडको तडकभडकभन्दा पनि पारिवारिक र आत्मीय बनाउन काम गरिरहेको बताइएको छ।
पपस्टार टेलर स्विफ्ट र फुटबल खेलाडी ट्राभिस केल्सीले केही महिनाअघि इन्जेजमेन्ट गरेका थिए।