बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार यसपटक उनलाई धम्की दिने व्यक्तिले २ करोड फिरौती माग गरेका छन्।
मुम्बई ट्राफिक प्रहरीले प्राप्त गरेको धम्कीमा पैसा नतिरे सलमानको ज्यान लिने बताइएको छ। म्यासेज पाएलगत्तै वर्लीमा उपस्थित अधिकारीहरूले म्यासेज पठाउने अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरेका छन्।
यसअघि २५ अक्टोबरमा पनि उनलाई ज्यान मार्ने धम्की आएको थियो। आरोपीलाई मंगलबार मुम्बई प्रहरीले नोएडाबाट पक्राउ गरेको थियो। उनको नाम मोहम्मद तैयब हो।
एसीपी नोएडा प्रवीण कुमार सिंहका अनुसार आरोपीलाई सुरजपुर अदालतमा पेश गरिनेछ। त्यहाँबाट मुम्बई प्रहरीले उनलाई ट्रान्जिट रिमाण्डमा लिनेछ।
गत अप्रिलमा सलमान खानको बान्द्रास्थित घर ग्यालेक्सी अपार्टमेन्टमा गोली चलेको थियो।