'बडे अच्छे लगते हैं' र 'कुबूल है' की अभिनेत्री चाहत खन्नाको व्यक्तिगत जीवनमा निकै उतारचढाब आयो।
उनले दुई जनासँग विवाह गरिन्। तर दुवैसँग सम्बन्ध विच्छेद भयो। उनले सन् २००६ मा व्यवसायी भरत नरसिंघानीसँग विवाह गरेकी थिइन्। तर केही महिनामै उनीहरूको सम्बन्ध विच्छेद भयो। त्यसपछि उनले बलिउड फिल्मका लेखक शाहरूख मिर्जाका छोरा फरहान मिर्जासँग विवाह गरेकी थिइन्। उनीहरूको दुई छोरी छन्। चाहतले दोस्रो विवाहपछि इस्लाम धर्म मानेकी थिइन्।
उनले सन् २०१८ मा यौन शोषण र मानसिक उत्पीडन भएको भन्दै सम्बन्ध विच्छेद गरेकी थिइन्। हालै उनले आफ्नो पूर्व श्रीमानको दबाबमा धर्म परिवर्तन गरेको बताएकी छन्।
'म धार्मिक छैन। तर निकै आध्यात्मिक छु। म निकै उदार छु। म सबै धर्ममा विश्वास गर्छु। म कट्टर छैन। जब मेरो विवाह भयो मैले इस्लाम धर्मको बारेमा धेरै कुरा सिकेँ। म ईसा मसीहमा पनि विश्वास गर्छु। म काली भक्त र कृष्ण भक्त पनि हुँ,' उनले भनिन्।
चाहतले थप्दै भनिन्, 'सम्बन्ध विच्छेदपछि मलाई आफ्नो मौलिकतामा फर्किन निकै समय लाग्यो। मलाई इस्लाममा विश्वास गर्न पनि ४/५ वर्ष लागेको थियो। अहिले म इस्लाम धर्मको मूल सिद्धान्तमाथि भरोसा गर्छु। तर धन्य छ म सनातन धर्ममा फर्किएँ। मैले पछाडि लुकेको धेरै कुरा थाहा पाएँ।'