भारतको महाराष्ट्रको दल एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका पूर्वमन्त्री बाबा सिद्दिकीको शनिबार राति गोली हानी हत्या गरिएको थियो। उनको हत्याको कारण अभिनेता सलमान खानसँग जोडिएको छ।
कालो हिरण शिकार मामिलापछि लरेन्स बिश्नोई ग्याङ चर्चामा छ। सिद्दिकीको हत्यापछि अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ। बान्द्रास्थित सलमानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर सुरक्षा बढाइएको हो। थप प्रहरी टोली तैनाथ गरिएको छ भने चेक पोस्ट पनि निर्माण गरिएको छ।
सलमानलाई लरेन्स ग्याङबाट धेरै पटक धम्की आएको छ। अप्रिल १४ मा उनको ग्यालेक्सी अपार्टमेन्टमा पनि गोली प्रहार गरिएको थियो।
हालै बिश्नोई ग्याङले सलमानलाई एक सन्देश पठाएका छन्। उनीहरूले सामाजिक सञ्जालमा लेखेका छन्, 'जसले सलमान खानलाई साथ दिन्छन्, त्यसको हालत यस्तै हुन्छ।'
एक पुलिस अधिकारीका अनुसार यसै सेक्टेम्बरमा क्यानडामा पञ्जाबी गायक एपी ढिल्लनको घर बाहिर फायरिङ पनि एक चेतावनी थियो। यस फाइरिङको जिम्मेवारी बिश्नोई ग्याङले लिएका थिए। ढिल्लनले एक म्यूजिक भिडिओ सलमान खानसँग सित्तैमा गरेका थिए।