फिल्म ‘छक्का पञ्जा २’ हलमा दोस्रो हप्तामा चलिरहेको छ। फिल्मले दर्शक र समिक्षकको मिश्रित प्रतिक्रिया पाईरहेको अवस्थामा ‘छक्का पञ्जा ३’ निर्माणको घोषणा भएको छ।
दिपकराज गिरीको निर्माणमा बनेको फिल्म प्रदर्शनमा आएको दोस्रो हप्तामा फिल्मको व्यापार १६ करोड रुपैयाँभन्दा माथि छ। यस फिल्मले आफ्नै फिल्म ‘छक्का पञ्जा’ को १ महिनाको व्यापारको रेकर्ड तोड्ने तयारी गरेको छ।
हाल हलमा सफलताका साथ प्रर्दशनमा आएको फिल्मले दर्शकको मन जितेपनि समिक्षकले भने त्यति रुचाएका छैनन्। फिल्मले हलमा दर्शकको निकै हाँसो पाएपनि फिल्ममा भद्दा मजाक र कानुनी त्रुटीको कारण सामाजिक सञ्जालमा निर्माता र निर्देशकले निकै आलोचना खेप्नु परेको छ।
तर निर्देशक दीपाश्री निराैलाले फिल्ममा कहिलेकाहीँ त्रुटि हुने बताएकी छन्।
दिपाले यस विषयमा बोल्दै आगामी फिल्ममा समिक्षक र दर्शकले अौंलाएका त्रुटीहरु सच्चाउँदै लैजाने बताइन्।सेतोपाटीसँग कुरा गर्दै उनले भनिन्,‘हामी पनि मानव हौं, भगवान होइनौं, त्रुटी त भइहाल्छ। आगामी दिनमा त्रुटी सच्चाउँदै लैजाने छौं।’
दीपाश्री निरौलाद्वारा निर्देशित गत वर्षको सुपरहिट फिल्म ‘छक्का पञ्जा’ को सिक्वेल ‘छक्का पञ्जा २’ हो। व्यवसायिक रुपमा फिल्म सफल भएपछि यसको अर्को सिक्वेल निर्माणको तयारी भएको हो।
'छक्का पञ्जा ३' को निर्माण दिपकराजले गर्ने र निर्देशन पनि दीपाश्री निरौलाले नै गर्ने निर्देशक निरौलाले जानकारी दिइन्।उनले फिल्म अर्को वर्षको फुलपातीमा रिलिज गर्ने गरि निर्माण गरिने जानकारी दिइन्।
अहिले मह जोडिको फिल्म 'शत्रुगते'मा आफुहरु व्यस्त हुने भएकाले फिल्मको छायाँकन पछि गरिने उनले बताइन्।
फिल्मको कथाबस्तु र परिवेश समय आएपछि सोही अनुसार राखिने जानकारी दिँदै दिपाले अबको सिक्वेलमा पनि यही कलाकारको मुख्य भूमिका हुने जानकारी दिइन्।
फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारले मुख्य भूमिका निभाएका छन्।
पहिलो भागमा नदेखिएकी स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यो फिल्मको लिड भूमिकामा छन्। फिल्म असोज ११ गतेदेखि प्रदर्शनमा आएको हो।
फिल्म रिलिज अगाडि फिल्मका गीतहरु 'ए दाजु न समाउ नाडिमा' र 'झ्याम्म झ्याम्म' बोलको गीत निकै हिट भएका थिए।