नेपालमा नारी शिक्षाको विकास र महिला सशक्तीकरणमा उल्लेखनीय योगदान गर्ने विदूषी अंगूरबाबा जोशीको आत्मकथा ‘अक्षर साधना र गोधूलि’ माथि आइतबार परिचर्चा गरिएको छ।
सो अवसरमा प्राज्ञ प्रा दिनेशराज पन्तले उत्कृष्ट प्रकाशन प्रालिबाट प्रकाशित कृतिमा नेपालको राणाकालीन अवस्थादेखि अहिलेसम्ममा भोगेका यथार्थलाई अत्यन्त रोचक ढंगमा प्रस्तुत गरिएको र त्यस बखतको नेपालको ज्ञानवद्र्धक जानकारी गराएको बताए।
प्राज्ञ प्रा डा ज्ञानू पाण्डेले आत्मकथामा इमान्दारीपूर्वक विशेष गरी काठमाडौँको तत्कालीन सामाजिक अवस्थाको सजीव चित्रण पाइने बताए। कृतिका सम्पादक तथा नियात्राकार चन्द्रप्रसाद भट्टराईले सो आत्मकथाले विशेष गरी पद्मकन्या कलेजको स्थापना र विकासमा उनले भोग्नुपरेका कठिनाइलाई मिहिन ढंगबाट प्रस्तुत गरिएको बताए।
कृतिका लेखन सहयोगी उपेन्द्र सुवेदीले जोशीले आफ्नो बिग्रेको स्वास्थ्य र छयासी वर्षको उमेरमा पनि सशक्त रुपमा पुराना संस्मरणलाई राख्न सकेको बताए। साहित्यकार गीता रेग्मी र डा गोविन्दमानसिंह कार्कीले जोशीको व्यक्तित्वबाट पछिल्लो पुस्ताका सबै प्रेरणा लिन सक्ने बताए। कृतिको लोकार्पण पूर्वराष्ट्रपति डा रामवरण यादवले गत महिना गरेका थिए। रासस