अमेरिकामा दोस्रो पुस्ता की एक छोरी यौन उत्पीडनको शिकार भएकी छन्। आफ्नो प्रतिभा देखाउने निक्की कार्की जस्ता धेरै यूवा पुस्ताहरु यस घटनाबाट बिचलित भएका छन्। यस घटनाका कारण अत्याधिक तनावमा रहेकी युवा गायिका निक्की कार्कीले आफ्नो पिडालाई सामाजिक सन्जालमा सार्वजनिक गर्दा समेत अमेरिकामा नेपाली समूदायको हक र हितका नाममा खोलिएका संस्थाहरु मौन रहनुलाई नेपाली समाजले आश्चर्यजनक रुपले हेरेको छ।
यस प्रकरणमा अमेरिकामा खुलेका नेपाली सामाजिक संस्थाहरुको मौनाताले सामाजिक सन्जालमा संस्थाहरु प्रति युवा तथा अभिभावकहरुले आक्रोस पोख्न शुरु गरेका छन्। युवा पुस्ताहरुबिच नेपाली संस्थाहरु प्रति बढ्दो वितृष्णामा यस घटनाले थप प्रमाणित गरेको देखिँदैछ। धेरै अभिभावकहरु आफ्ना छोराछोरीहरु नेपाली संस्थाबाटै असुरक्षित भएको टिप्पणी गर्न थालेका छन्।
गत सेप्टेम्वर १-३ सम्म सञ्चालित अमेरिकाको नर्थ क्यारोलिना स्थित नासिया-अन्माको संयुत्त सम्मेलनका लागी सांस्कृतिक कार्यक्रममा आयोजकबाट निमन्त्रणा पाई कार्यक्रमस्थल पुगेकी गायिका निक्की कार्कीमाथि आयोजक संस्था नासियाका एक पदाधिकारीबाट नै यौन दुर्व्यवहार भएको घटना बाहिर आएको छ।
आयोजक सस्था-नासिया (नेप्लिज एसोसिएसन इन साउथ ईस्ट अमेरिका) का वर्तमान पदाधिकारी रहेका सुशिल नेपालले गायिका निक्की कार्कीलाई एयरपोर्ट देखी कार्यक्रम स्थल भित्र समेत पटक पटक यौन दुर्व्यवहार गर्न खोजेको ब्यहोरा युवा गायिका निक्कीले फेसबुक लाईभ मार्फत सार्वजनिक गरेकी छन्। आफु प्रति दुर्व्यवहार भएको बारेमा कार्यक्रमका दौरान उपस्थित एक महिलालाई समेत निक्कीले जानकारी गराएको र आफु प्रति दुर्ब्यवहार भएको भनी बिहान सबेरै प्रहरीलाई बोलाएको समेत निक्कीले आफ्नो फेसबुक लाईभमा बताएकी छ्न्।
आफु माथि यौन दुर्व्यवहार गर्न खोजेको घटनाका बारेमा आयोजक संस्थालाई समयमै बिस्तृत घटनाको बिवरण जानकारी गराएको र ईमेल मार्फत निज आरोपी सुशिल नेपालमाथि कारवाहीको लागी निवेदन दिएकोमा दुई हप्ता बिती सक्दा पनि हाल सम्म संस्थावाट कार्यवाही नभएकोले आफु बाध्य भएर सहयोग र सल्लाहका लागी यस घटना लाई सार्वजनिक गर्नु परेको समेत निक्कीले आफ्नो फेसबुक लाईभमा बताएकी छन्।
निक्की भन्छिन - निज नेपालको सुनियोजित योजना:
युवा गायिका निक्की कार्कीले आफ्नो फेसबुक लाईभमा खुलाएको घटना बिवरण अनुसार:
• नासियाका बर्तमान पदाधिकारी सुशिल नेपाल सास्कृतिक कार्यक्रमको दिन बिहान ५ बजे लिन एरपोर्टमा पुग्छन र गायीका कार्कीलाई भन्छन - तिमी कसरी एयरपोर्ट बाट आयौ भनेर कसैले सोधेमा तिमीलाई लिन म आएको नभन्नु र आफु उबर, ट्याक्सीमा आएको भन्नु।
• एरपोर्टवाट होटल पुगे पछी निज नेपालले निक्की लाई भन्छन - होटलमा अहिले चेक ईन गर्न मिल्दैन, आफु परिवार सहित रहेको बताई निक्कीलाई आफ्नो कोठामा लग्छन्। कोठामा पुग्दा कोठामा कोही पनि नभएको र निक्कीलाई एउटै बेडमा सँगै सुत्न भन्छन्।
• कार्यक्रममा निक्कीले आफ्नो प्रस्तुति दिई सके पश्चात अन्य कलाकारहरुसँग बसेको स्थानमा आई कोठामा गएर दुई जना बियर पिउ भन्ने आग्रह गर्दछ्न्।
• त्यस साँझको सांस्कृतिक कार्यक्रम सकिए पछी निज नेपालले निक्कीलाई राती ३ बजे चेक लिन आफ्नो कोठामा बोलाउँछन्।
• यस प्रकार निज नेपालले आफु माथि शारीरिक सम्पर्क राख्ने सुनियोजित योजना बनाएको आफुले महसुस गरेकोले आफु डराएको र असुरक्षित महसुश गरी उल्लेखित घटनाहरु सबै कार्यक्रम हेर्न आउनु भएकी एक महिला मार्फत जानकारी गराएको।
• भोली पल्ट बिहान सो घटनाका बारेमा आयोजक संस्थाका पदाधिकारीहरुसँग मिटिङ बसी निज नेपालको नियतका बारेमा सबैलाई जानकारी गराएको समेत निक्कीले आफ्नो फेसबुक लाईभमा बताएकी छन्।
नासियाको प्रतिकृया:
यस घटनाका बारेमा संस्थालाई जानकारी भएको र त्यस सम्बन्धमा गायिका निक्की कार्कीबाट दोषी उपर कारवाही गरी पाउनका लागी ईमेल मार्फत निवेदन प्राप्त भएको नासियाका अध्यक्ष माधव ढकालले सेतोपाटीलाई बताए। नासियाकाका नवनिर्वाचित अध्यक्ष माधव ढकाल भन्छन - 'हामी दोषीलाई कार्वाही गर्ने छौं, तर बिधान अनुसार चल्नुपर्ने भएकाले प्रक्रिया पुर्याउन ढिला हुन गएको हो।'
निक्कि भन्छिन्- न्यायका लागी अदालत जानेछु
उल्लेखित घटना घटेको दुई हप्ता बिती सक्दा पनि संस्थाले आरोपीलाई कारवाही गर्न ढिलाई गर्नुले घटनालाई लुकाउने प्रयास हुन सक्ने आशंका गरिँदैछ। यदी संस्थाले दोषी उपर कारवाही नगरेमा न्यायका लागी आफु संस्थाका बिरुद्द छिट्टै अदालत जाने समेत निक्कीले ईमेल मार्फत नासियालाई जानकारी गराएकी छन्।
युवा गायिका निक्की कार्की माथि भएको यौन दुराचारको आरोपमा आरोपी माथी अबिलम्व कार्यबाही होस् भनी उनको फेसबूक लाईभमा माग गरीएको छ। तीन लाख साठी हजार भन्दा बढीले हेरेको उनको फेसबूक लाईभमा १० हजार भन्दा बढीले लाईक गरेका छन भने २२ सयले सेय र गरेका र ३२ सयले कार्यावाहीका लागी कमेन्ट गरेका छन्।
अन्तमा, निक्की कार्की माथि भएको भनिएको यौन दुराचारको आरोपका बारेमा सेतोपाटीले आरोपी सुशिल नेपाललाई पटक पटक सम्पर्क गर्न प्रयास गरेकोमा निज सँग सम्पर्क हुन सकेन। पिडित निक्की कार्कीको आरोपको पुष्टिका लागी सम्म्वन्धित निकायले अबिलम्व कार्यवाही अगाडी बढाओस र भएको तत्य सत्य सार्वजनिक गरोस्।
निक्की कार्की को फेसबूक लाईभ भिडियो:
https://youtu.be/erbqXxUH-I8