जगदम्बा श्री तथा मदन पुरस्कारबाट २०७३ को लागि कार्टूनिष्ट दुर्गा बराल र घनश्याम कँडेल सम्मानित भएका छन्। बिहिबार मदन पुरस्कार गुठीले एक समारोहको आयोजना गर्दै कार्टूनिष्ट दुर्गा बराल र घनश्याम कँडेललाई पुरस्कार समर्पण गरेको हो।
कार्टूनिष्ट दुर्गा बराल (वात्सायन) लाई समसामयिक विषय र विसंगतिलाई कार्टुनमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरि समाजमा सचेतना जगाँदै निरन्तर नेपाली भाषाको सेवा गरेवापत जगदम्बा श्री पुरस्कारबाट सम्मानित गरिएको हो।

यसैगरि घनश्याम कँडेललाई 'धृतराष्ट्र' खण्डकाव्यबाट मदन पुरस्कारबाट सम्मानित गरिएको हो।
समारोहमा पुरस्काबाट सम्मानित दुवै श्रष्टालाई गुठीका अध्यक्ष कुन्द दीक्षितले स्वागत गर्दै सम्मान गरेका थिए। दुवोको माला लगाएर बेहुला बनाई माल्यार्पण गरि सम्मानित गरिनुको साथै प्रमाणपत्र पनि वितरण गरिएको थियो।
सम्मान ग्रहण गर्दै कार्टूनिष्ट दुर्गा बरालले जगदम्बा श्रीको ६ दशक लामो इतिहासमा पहिलो पटक कुनै कार्टूनिष्टले यो पुरस्कार पाएकोमा खुसी व्यक्त गरे।

उनले भने,‘ छोटो र प्रभावकारी अभिव्यक्तिको प्रयोग गरि समसामयिक राजनीतिक, सामाजिक विषय,र विसंगतीहरुलाई कार्टुनमार्फत समाजमा सचेतना जगाउँदै नेपाली भाषा र साहित्यको श्रीवृद्दिको लागि निरन्तर सेवा गरिरहेको उल्लेख गर्दै मन पुरस्कार गुठीको साधरण सभाले मलाई जगदम्बा श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेकोमा सभा सदस्यप्रति अभारी छु।’

वात्सायनले अहिले देशमा जनजीवनका समस्या झनै विकराल हुँदै गएको, भद्रगोल राजनीति, भ्रष्टाचार मौलाएको अवस्थामा काटूनिष्टहरु झनै जिम्मेवार भएर लाग्नुपर्ने बताए। उनले आफ्नो पाँच दशक लामो कार्टू कलाको यात्रामा जगदम्बा श्री पुरस्कारले ठूलो उर्जा र जिम्मेवारी थपिदिएको बताए।

यसैगरि मदन पुरस्कारद्वार सम्मानित घनश्याम कँडेलले मदन पुरस्कार जस्तो स्वच्छ, निष्पक्ष र गरिमायुक्त पुरस्कारबाट सम्मानित हुन पाउँदा निकै हर्षित भएको बताए।

उनले भने,‘मलाई यतिखेर यस पुरस्कारद्वारा सम्पुर्ण कविहरु सम्मानित भएको जस्तो लागिरहेको छ। २६ वर्षपछि छन्दका कवितालाई यसरी पुरस्कृत गर्नुभएकोमा सबैलाई धन्यावाद।’
उनले आफ्नो छैठौं खण्डकाव्य 'धृतराष्ट' मुलतः दृष्टिविहीनको समास्यासित सम्बन्धित खण्डकाव्य भएको बताए।
उनले भने,‘यस खण्डकाव्यमा दृष्टिविहीन हुन वा अन्य प्रकारका अपाङ्गहरु हुन्, ती सबै हाम्रै समाजका अभिन्न अंग हुन्, ती भित्र पनि प्रचुर सम्भावना र क्षमता अन्र्तनिहित हुन्छन्। समाज र देशले उनीहरुको लागि दया होइन अवसर प्रदान गर्नुपर्छ।’

मदन पुरस्कार वि सं २०१३ देखि नेपाली भाषा र संस्कृतिको विकाशमा विभिन्न कृतिबाट योगदान दिने व्यक्तिलाई सम्मान गरिदै आएको छ। यसैगरि जगदम्बा श्री पुरस्कार वि सं २०४५ साल देखि नेपाली भाषाको सेवा गर्ने व्यक्तिलाई दिने गरिँदै आएको छ। बि सं २०७३ को लागि जगदम्बा श्री पुरस्कारबाट कार्टूनिष्ट दुर्गा बराल र मदन पुरस्कारबाट घनश्याम कँडेल सम्मानित भएका हुन्।

तस्वीरः अनिश रेग्मी/सेतोपाटी