जिमिगु स: फिल्म प्रोडक्सनको व्यानरमा नेवारी फिल्म ‘आ छु याय’ (मनलाई सोधी हेर) निर्माण हुने भएको छ।राजधानीमा एक कार्यक्रमका बीच ५० लाखको बजेटमा फिल्म ‘आ छु याय’ (मनलाई सोधी हेर) निर्माणको घोषणा गरिएको छ।प्रकाशलाल जोशीले निर्माण गर्ने फिल्मलाई संचारकर्मी समीर बलामीले निर्देशन गर्नेछन्। निर्देशक बलामीले यो फिल्मको बजेट नेवारी फिल्मको इतिहासकै ठूलो बजेट भएको बताए।
उनले अहिले नेवारी सिनेमा सामान्यतया ८ देखि १० लाखको बजेटमा फाट्टफुट्ट निर्माण भैरहेको बताउँदै ३० वर्षे लामो इतिहाँस बोकेको नेवारी सिनेमाले ३ दशक पुरा हुँदासम्म पनि आफुलाई परिपक्व बनाउँन सकेको बताए।
उनले भने,'सामान्य बजेटमा फिल्म निर्माण हुन्छनु र केहि संघसंस्थाको सहयोगमा च्यारिटी गरेर लगानी उठाउँछन्। तर, यति लामो समयसम्म पनि नेवारी सिनेमाले आफ्नो बजार विस्तार गर्न सकिरहेको छैन।' उनले त्यही बजार विस्तारको बाटो खोज्दै बिग बजेटमा सिनेमा निर्माण गर्न लागेको बताए।
निर्देशक बलामीले ‘आ छु याय’ले नेवारी फिल्मलको बजारलाई केहि माथि उठाउने अाशा राखेको पनि बताए।
फिल्मको घोषणा भएपनि कलाकार भने फाइनल नभएको निर्माण पक्षले जनाए। निर्माण पक्षले कलाकारको लागि अडिसन आव्हान गरेका छन्। कलाकार छनौटको लागि दशैंपछि अडिसन हुने र लगत्तै छायाँकन पनि सुरु हुने निर्माण पक्षले जनाएका छन्।