हिन्दुहरुको महान चाड दशैंको मुखमा असोज ११ गते नेपाली हलमा दुई फिल्म रिलिजको तयारीमा छ। दीपाश्री निरौलाको निर्देशनमा बनेको गत वर्षको हिट फिल्म 'छक्का पञ्जा'को सिक्वेल फिल्म 'छक्का पञ्जा २' र रोज राणाको निर्माणमा बनेको फिल्म 'मेरो पैशा खोइ'असोज ११ गते रिलिजको तयारीमा छ।
'छक्का पञ्जा २' दर्शकको लागि यो वर्ष निकै प्रतिक्षित फिल्म हो।
युट्युबमा 'छक्का पञ्जा २' का ट्रेलर र गीतहरुले निकै लोकप्रियता कमाइरहेको बेला अर्को फिल्म 'मेरो पैशा खोइ' पनि असोज ११ गते रिलिजको तयारीमा छ।
फिल्म रिलिजको मिति ७ दिन पनि बाँकी नरहँदा सौगात मल्ल र वर्षा राउत अभिनित फिल्मको रिलिज मिति सार्वजनिक भएको हो। रोज राणाको निर्माणमा बनेको फिल्मले अब दीपा दिपकको ‘छक्का पञ्जा २’ को हललाई ओगट्दै असोज ११ गते नै प्रदर्शन गर्ने घोषणा गरको छ।
यसअघि फिल्म कात्तिक ९ गते रिलिज मिति तोकिएको थियो। निर्माता राणाले अब प्रचारलाई तिव्र गति दिने बताएका छन्। फिल्म 'छक्का पञ्जा २' का गीत र ट्रेलरले लामो समयदेखि युट्युबमा आफ्नो राज गर्दै आएको छ। साथै 'छक्का पञ्जा २' ले मोफसलमा 'कमेडी एक्प्रेस टुर' गरिसकेको छ।
फिल्म 'छक्का पञ्जा २' मा दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, केदार घिमिरे, जितु नेपाल, लगायतका कलाकारको अभिनय रहेको छ।
'फिल्म मेरो पैशा खोइ'मा सौगात मल्ल, रबिन तामाङ , छुल्ठिम गुरुङ, बुद्धि तामाङ, बर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्मको 'नाइलनको साडी' बोलको गीतको चोरी विवादमा फसेको फिल्म 'छक्का पञ्जा २' र केही दिनको प्रचारकै भरमा हलमा प्रवेश पाएको फिल्म 'मेरो पैशा खोइ'को भिडन्त हेर्न असोज ११ गते सम्म कुर्नै पर्छ।