सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे 'सुन्तलि'ले चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुर वस्तीमा एकीकृत नमूना वस्तीको शिल्यानास गरेका छन्।
सिताराम कट्टेलले आफ्नो जन्मदिनको अवसरमा बुधबार विहान एक कार्यक्रमको आयोजना गर्दै वस्ती निर्माण शिलान्यास गरेका हुन्।
उक्त स्थानका बाढीपीडित माझि, दुसाद, लोहार, मुसहर र हजाम जातजातिहरुको अवस्था सुधारको लागि वस्ती निर्माण गर्न लागिएको कट्टेलले जनाएका छन्।
पाँच करोड ७५ लाख रुपैयाँको लगानीमा बन्ने नमूना बस्ती यही माघ महिनासम्म सकिने योजना रहेको उनले बताए।
धुर्मुस सुन्तली फाउण्डेसनले केही समय अगाडी बाढीपीडित दलित समुदायमा ४५ परिवारको आर्थिक र सामाजिक अवस्था निकै कमजोर भएको बताउँदै फाउण्डेसनले ४५ वटा आवासीय घर बनाउने निर्णय गरेको जानकारी एक भिडियो मार्फत दिएको थियो।
साउनको अन्तिम साता तराइका विभिन्न जिल्लमा आएको बाढीले सन्तपुरका दलित समुदायको सबै घर बगाएपछि फाउण्डेसनले उद्दार र राहत दिएको थियो।
घरहरु सरकारी मापदण्ड अनुसार दुई तल्लाको चार वटा कोठा, भुकम्प प्रतिरोधी, एक धारा, एक शौचालय र एक बगैँचा निर्माण गर्ने फाउण्डेसनले भिडियोमार्फत जानकारी दिएको थियो।
फाउण्डेशनको यो तेस्रो वस्ती निर्माण हो। यसअघि फाउण्डेसनले गिरान्चौर र मुसहरहरुका लागि सामूहिक वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको छ ।