सन् २०१७ को 'म्यान बुकर प्राइज'को प्रतिस्पर्धाबाट चर्चित भारतीय लेखिका अरून्धती रोय बाहिरिएकी छन्।
यसवर्षको 'बुकर प्राइज'का लागि बुधबार प्रकाशित छोटो सूचीमा रोयको नयाँ उपन्यास 'मिनिस्ट्री अफ अटमस्ट ह्याप्पीनेस' समावेश छैन।
२० वर्षअघि सन् १९९७मा 'गड अफ स्मल थिङ्ग्स'का लागि बुकर पाएकी रोयको नयाँ उपन्यास लामो सूचीमा भने समावेश थियो।
बुधबार प्रकाशित सूचीमा बेलायत बस्ने पाकिस्तानी लेखक मोसिन हामीदको 'एक्जिट वेस्ट' सहित ६ पुस्तक समावेश छन्।
हामिदले यो उपन्यासमा विभिन्न सहरमा यात्रारत शरणार्थी जोडीको प्रेमकथा वर्णन गरेका छन्।
सूचीमा बेलायती लेखक अली स्मिथको 'अटमन' र फियोना मोज्लेको 'इल्मेट' अमेरिकी लेखक जर्ज सन्डर्सको 'लिंकन इन द बार्डो' र पल अस्टरको '४३२१' र इमिली फ्रिडलन्डको 'हिस्ट्री अफ दि उल्भ्स्' परेका छन्।
बेलायतबाट प्रदान गरिने यो पुरस्कारको छोटो सूचीमा तीन बेलायती र तीन अमेरकी लेखक परेका हुन्।
बेलायती नै भए पनि हामीद भने अमेरिका वा बेलायतभन्दा बाहिर मुलथलो भएका एक्ला लेखक हुन्। बुकर प्राइजको घोषणा यही वर्षको १७ अक्टोबरमा हुनेछ।