कुनै समय पाठेघरको क्यान्सरको समस्याबाट गुज्रिएकी बलिउडकी प्रख्यात अभिनेत्री मनिषा कोइरालाले आफ्नो जीवनयापनका कारण बताएकी छन्।
नेसनल हस्पिटल एण्ड क्यान्सर रिर्सच सेन्टर प्रालि र क्यान्सर केयर नेपालले आयोजना गरेको ‘डिम्बाशयको क्यान्सर’ विषयको अन्तक्र्रियामा आफ्ना अनुभव सुनाउन भारतबाट नेपाल आएकी अभिनेत्री कोइरालाले आफू अस्पतालको श्ययामा उपचार गराइरहँदा आफ्नो जीवनशैली, खानपानले स्वास्थ्यमा कस्तो असर पारिरहेको छ भन्ने महसुस गरेको अनुभव सुनाइन्।
'करियर एउटा उचाइमा पुगेको थियो, त्यही समयमा क्यान्सर भएको थाहा भयो, क्यान्सर भन्ने शब्द नै डरलाग्दो छ, यसले सिधै मृत्युलाई बुझाउने सोचका कारण थप पीडा भएको थियो तर परिवारको आत्मविश्वास र शुभकामनाले मलाई दोस्रो जीवन दियो,' उनले भनिन्।
पछिल्लो समय गाउँबाट सहर केन्द्रित हुनेक्रम बढेकाले खानपान र जीवनशैलीमा आएको परिवर्तनले विकसित देशमा भन्दा विकासोन्मुख देशमा क्यान्सरका बिरामी बढेको अभिनेत्री कोइरालाले मौलिक खानपान, स्वस्थ जीवनशैली अपनाउन आग्रह गरिन्।
समाज, नातागोता, घरपरिवार र बिरामी स्वयंले क्यान्सर लाग्नुलाई मृत्युको मुखमा पुगेको जस्तै ठान्ने बानीलाई आफ्नो शक्तिमा बदलेर काम गर्न उनको अनुरोध थियो। 'क्यान्सर मृत्युदण्ड होइन, अब हामी सबै मिलेर यसको जनचेतना फैलाउने काममा लागौँ,' उनले भनिन्।
करिब ८० भन्दा हिन्दी फिल्मका साथै तेलेगु, तमिल, बेङलुरु, नेपाली फिल्ममा अभिनय गरेकी कोइरालाले क्यान्सरविरुद्ध जीत हासिल गरेपछि भने क्यान्सरबारे जनचेतनामूलक कार्यक्रममा आफूलाई सक्रिय राख्दै आएकी छन्।