अभिनेत्री रीमा विश्वकर्माले देशले परिणाममुखी नेतृत्व खोजिरहेको बताएकी छिन्। 'उज्यालो नेपाल पार्टी' मार्फत राजनीतिमा होमिएको उनले बुधबार आयोजित पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएकी हुन्।
रीमाले कुलमान घिसिङको कार्यशैलीबाट आफू प्रभावित भएको बताइन्।
आफ्नो राजनीतिक चेत र नेतृत्वको प्रभावबारे बोल्दै भनिन्, 'जब ममा राजनीतिक चेत आयो, यो देशमा सरकारमा बसेर कसैको नेतृत्वले मेरो दैनिकी र मेरो जीवनशैलीमा प्रत्यक्ष प्रभाव पारेको थियो भने त्यो लोडसेडिङ अन्त्यको निर्णय थियो। मैले त्यसैदिन कुलमान घिसिङलाई अगुवा मानेको थिएँ।'
उनले कुलमान घिसिङले घर-घरमा उज्यालो ल्याएको भन्दै आफूहरू देश उज्यालो बनाउने अभियानमा लागेको बताइन्।
'१८ घण्टे लोडसेडिङलाई हटाएर उहाँले तपाईं र हाम्रो घरमा त उज्यालो ल्याइसक्नुभयो। अब उज्यालो नेपाल पार्टीमार्फत देशको भविष्य उज्यालो बनाउने महाअभियानमा लागेका छौं,' रीमाले भनिन्, 'यो अभियान देशलाई माया गर्ने हरेक नेतृत्वको हो।'
लामो कलाकारिता यात्रापछि राजनीतिमा लागेकी रीमाले आफूले निष्ठा र इमानदारिताको राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले भनिन्, 'दुई दशकदेखि म प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यो समाजसँग जोडिई नै रहेकी छु। अब मैले उठाउने विषय, उठाउने आवाज र म उभिने मञ्च आफ्नो व्यक्तिगत निजी सफलताका लागि मात्र नभएर आवाजविहीनहरूको आवाज बन्न प्रयोग गर्नेछु।'
आफ्नो राजनीतिक यात्रा महिला, युवा र अल्पसंख्यकको पक्षमा केन्द्रित हुने उनले बताइन्।
'महिलाहरूको प्रतिनिधित्व गर्न, युवाहरूले उठाएका मुद्दालाई स्थापित गर्न र राज्यले समान भनेका अल्पसंख्यक तथा उपेक्षित समुदायको अधिकारलाई व्यवहारमा उतार्नका लागि उपयोग गर्ने प्रण गरेको छु,’ रीमाले भनिन्। उनले देश निर्माणको अभियानमा साथ दिन आग्रह गरिन्।