दिब्यासी फिल्म्सको ब्यानरमा निर्मित फिल्म 'परिवर्तन' को पोस्टर सार्वजनिक भएको छ। निर्माण पक्षले बुधबार सार्वजनिक गरेको पोस्टरमा फिल्मका सात मुख्य कलाकारहरूलाई आ-आफ्नो चरित्रसहित प्रस्तुत गरिएको छ।
सार्वजनिक पोस्टरमा अभिनेता सुशील श्रेष्ठलाई पूर्ण एक्सन अवतारमा देख्न सकिन्छ। उनी घाइते अवस्थामा समेत दुश्मनमाथि बन्दुक तानेर उभिएको देखिन्छन्। उनको पात्र 'परिवर्तन' का लागि सर्वस्व सुम्पन तयार रहेको संकेत पोस्टरले गर्छ।
त्यस्तै, अभिनेत्री अञ्जना बराईली यसपटक प्रहरी निरीक्षक (इन्स्पेक्टर) को भूमिकामा देखिएकी छन्। साथै, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेलाई पनि आ–आफ्नै चरित्रमा पोस्टरमा स्थान दिइएको छ।
पोस्टरले विशेषगरी अञ्जनालाई दर्शकले यसअघि नदेखेको फरक अवतारमा पाउने स्पष्ट संकेत गरेको छ। एक्सन-सस्पेन्स विधामा निर्माण गरिएको 'परिवर्तन' विजय केरूङ निर्देशित फिल्म हो। दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।
फिल्ममा शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन छ। रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत र श्री श्रेष्ठको द्वन्द्व निर्देशन यसमा छ।
'परिवर्तन' आगामी माघ ९ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।