भारतमा शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म 'ऊनको स्वीटर' को प्रचार–प्रसारका लागि आयोजित 'ऊनको स्वीटर साँझ' भव्य रूपमा सम्पन्न भएको छ।
सिक्किमको राजधानी गान्तोकस्थित महात्मा गान्धी (एमजी) मार्गमा बुधबार आयोजित कार्यक्रममा दर्शकको उत्साहपूर्ण सहभागिता रह्यो।
कार्यक्रममा नेपालका लोकप्रिय गायक सुजन चापागाईँले फिल्मका गीतहरू प्रस्तुत गर्दै वातावरण रोमाञ्चक बनाएका थिए। सो अवसरमा नेपालबाट आएका अभिनेता विपिन कार्की, अभिनेत्री भावना खपांगी मगर, निर्देशक नवीन चौहान, गीतकार हर्क साउद, संगीत निर्देशक कोविद बज्र, छायांकन निर्देशक चिन्तन राजभण्डारी, कार्यकारी निर्माताहरू मिलन खत्री र सागर बुढाथोकीलगायतको टोली उपस्थित थियो।
कार्यक्रममा सिक्किम र दार्जिलिङ क्षेत्रका चर्चित कलाकारहरूको प्रस्तुति विशेष आकर्षणको केन्द्र बन्यो। अनमोल गुरूङ, प्रकाश क्षेत्री, सिम्रन गुरूङ, रिको लामा, र्यापर देवा, सोनम ओङ्मु इथेन्पालगायतका कलाकारहरूले आ-आफ्ना प्रस्तुति दिएका थिए। साथै, अमृता राईले फिल्मको चर्चित गीत ‘काफ्ले’ मा र नेपालबाट गएका नर्तक सुरज सिंहजाली मगरले ‘चाइनिजो जिन्दगानीमा' मा आकर्षक नृत्य प्रस्तुत गरे।
'ऊनको स्वीटर' नोभेम्बर २१ देखि अर्थात शुक्रबारदेखि दार्जिलिङ, सिलिगुडी, गान्तोक, कस्र्याङ, कालिम्पोङ, आसाम र दिल्लीका हलहरूमा रिलिज हुँदैछ। भारतको सेन्सर बोर्डबाट प्रदर्शन इजाजत पाइसकेको यस फिल्मलाई एसली प्रोडक्सनले वितरण गर्दैछ। फिल्मको विशेष प्रिमियर शो बिहीबार साँझ सिक्किममा आयोजना हुँदैछ।
निर्देशक नवीन चौहानले नेपालमा जस्तै भारतमा पनि फिल्मलेसफलता पाउने विश्वास व्यक्त गरे। वितरक एसली प्रोडक्सनका प्रमुख एवन राईले यो आफ्नो पहिलो प्रयास सफलताको दिशामा अग्रसर भएको बताउँदै आगामी दिनहरूमा भारतीय बजारमा नेपाली फिल्मलाई नियमित रूपमा प्रदर्शन गरिने प्रतिबद्धता जनाए।
सोही मञ्चबाट गायक सुजन चापागाईँले आगामी डिसेम्बर २३ मा गान्तोकमा 'सुजन चापागाईँ एन्ड द इन्फिनिटी' ब्यान्डको कन्सर्ट हुने घोषणा समेत गरे।
'ऊनको स्वीटर' ले नेपालमा करिब १२ करोड रूपैयाँभन्दा बढी बक्स अफिस कमाइ गरेको थियो। यथार्थपरक कथा, प्रभावशाली अभिनय र मन छुने संगीतका कारण दर्शक र समीक्षक दुवैबाट यसले प्रशंसा बटुलेको थियो।

