नेपाली कांग्रेसभित्र संस्थापन र इतर पक्ष सहमतिबाट झन् झन् टाढा हुँदै गएको संकेत शनिबारको घटनाक्रमले देखाएको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति जुटाउन शनिबार ललितपुरको कुपन्डोलस्थित एक होटलमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूसँग अनौपचारिक छलफल गरे। त्यसैबीच शनिबार नै नयाँबानेश्वरमा संस्थापन पक्षका नेताहरूको छुट्टै बैठक बस्यो।
बानेश्वर बैठकले 'चुनावअघि नियमित वा विशेष कुनै पनि महाधिवेशन गर्न नसकिने' निष्कर्ष निकालेको त्यहाँ सहभागी एक नेताले जानकारी दिए।
सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केको दोस्रो दिन नै देउवा पक्षका '६ भाइ' पूर्वपदाधिकारीले बानेश्वरमा संस्थापन पक्षको सामूहिक भेला डाकेका हुन्। यसमा चुनावअघि महाधिवेशन माग गर्ने देउवा पक्षका २४ जना केन्द्रीय सदस्य उपस्थित थिएनन्।
बानेश्वर बैठकमा सहभागी नेताका अनुसार अहिलेलाई पार्टीको सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गरेर त्यसपछि महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने निष्कर्षमा संस्थापन पक्ष पुगेको छ।
यसबीच कार्यवाहक सभापति खड्काले देउवालाई भेटेर केन्द्रीय समितिमा उठेका विषयवस्तुबारे ब्रिफिङ गरिसकेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए। कार्यवाहक सभापति खड्का र प्रवक्ता प्रकाशशरण महत शुक्रबार बेलुकी देउवा दम्पतीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि पुगेका थिए।
सभापति देउवासँग कुराकानीपछि नै कार्यवाहक सभापति खड्काले दुवै पक्षका नेतासँग 'वान टू वान' छलफल गरेका हुन्।
संस्थापन र इतर पक्षबीच सहमति जुटाउने उद्देश्यले सुरू गरिएको यो अनौपचारिक 'वान टू वान' छलफलमा पनि संस्थापन पक्षका नेताले चुनावअघि महाधिवेशन गर्न नसकिने पुरानै अडान दोहोर्याएका थिए।
स्रोतका अनुसार शनिबार कुपन्डोलमा भएको कुराकानीमा पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले अरू पार्टीको भन्दा कांग्रेसको अवस्था फरक रहेकाले अहिलेलाई महाधिवेशनभन्दा चुनावमै केन्द्रित हुनुपर्ने बताए।
कांग्रेसमा फागुन २१ को चुनावअघि नियमित वा विशेष महाधिवेशन गर्ने कि चुनावपछि वैशाख मसान्तसम्म नियमित महाधिवेशन गर्ने भन्ने फरक फरक मत छ। महामन्त्रीद्वय थापा र शर्माले चुनावअघि नै नियमित वा विशेष महाधिवेशन गरेर जानुपर्ने अडान राख्दै आएका छन्। उनीहरूले शनिबार कार्यवाहक सभापति खड्कासँगको छलफलमा पनि 'नियमित महाधिवेशन नभए विधान अनुसार विशेष महाधिवेशन भइछाड्ने' बताएका थिए। नेता शेखर कोइराला पनि पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।
सभापति देउवा पक्षका कतिपय पदाधिकारी तथा पूर्वपदाधिकारी भने पहिले चुनावमा होमिनुपर्ने र त्यसपछि मात्र महाधिवेशन गर्नुपर्नेमा छन्। चुनावअघि गरिने महाधिवेशनले पार्टीको तल्ला संरचनासम्म मतभेद ल्याउने र त्यसले चुनावमा असर पार्ने उनीहरूको भनाइ छ।
महाधिवेशनको तिथिमिति विवादले नै गत असोज २८ गते सुरू केन्द्रीय समिति बैठक अहिलेसम्म निर्णयमा पुग्न सकेको छैन। खड्काले पटक पटक बैठक स्थगित गरी सहमतिको पहल गर्दै आएका छन्। यसका लागि सोमबार दिउँसो २ बजेसम्म बैठक स्थगित गरिएको छ।
केन्द्रीय समिति बैठकमा गत कात्तिक १८ गते महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन गर्न प्रस्ताव गरेका थिए। त्यो बेलासम्म क्रियाशील सदस्यता सबै टुंग्याएर महाधिवेशन गर्न सकिने उनको भनाइ थियो।
करिब ९ लाख क्रियाशील सदस्य रहेको कांग्रेसमा अहिलेसम्म ६ लाखभन्दा बढीले सदस्यता नवीकरण गरिसकेका छन्। नयाँ क्रियाशील सदस्यता वितरणको काम भने सुरू भएको छैन।
क्रियाशील सदस्यता नवीकरणको सबै विवरण केन्द्रीय कार्यालयमा जिल्ला समितिहरूले पठाइसकेका छैनन्। यही कारण देखाउँदै सभापति देउवा पक्षका केही पदाधिकारी तथा पूर्वपदाधिकारीले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण तथा उजुरी छानबिनमा समय लाग्ने भन्दै वैशाखमा मात्र महाधिवेशन गर्न सकिने बताउँदै आएका छन्।
यसरी विभिन्न बहानामा नियमित महाधिवेशन गर्न नसकिने निष्कर्ष निकाल्ने हो भने विशेष महाधिवेशनको विकल्प नभएको केन्द्रीय समिति बैठकमै महामन्त्री थापाले बताएका थिए।
यसअघि असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले कार्यवाहक सभापति खड्कालाई हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरेका थिए। विधान अनुसार माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ।
यही व्यवस्थाका आधारमा विशेष महाधिवेशन बाध्यकारी रहेको भन्दै महामन्त्री थापाले मंसिर २७ र २८ गते विशेष महाधिवेशनको प्रस्ताव समेत केन्द्रीय समितिमा राखेका थिए।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले कार्यवाहक सभापतिले गरेका औपचारिक र अनौपचारिक छलफल सकारात्मक रहेको र केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरिने बताए।
'हिजो केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको थियो। हामीले कार्यवाहक सभापतिज्यूलाई सहमतिको एउटा प्रस्ताव ल्याउन भनेका छौं,' उनले शनिबार सेतोपाटीसँग भने, 'आज कार्यवाहक सभापतिज्यूले नेताहरूसँग 'वान टू वान' छलफल गर्नुभएको छ। छलफल सकारात्मक छन्, हामी सर्वसम्मत रूपमा केन्द्रीय समितिबाटै निर्णयमै पुग्छौं।'
कांग्रेस केन्द्रीय समिति बैठक एक महिनादेखि बसे पनि कुनै निर्णयमा पुग्न नसकेको भन्दै नेतृत्वको आलोचना भइरहेको छ। त्यसप्रति लक्ष्य गर्दै कार्यवाहक सभापति खड्काले केही समय लागे पनि सर्वसम्मत रूपमा निर्णयमा पुगिने प्रतिक्रिया शनिबार दिएका छन्।
'इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचाप सामना गर्न, हाम्रा विगतका गल्ती-कमजोरी स्विकारी नेपाली जनतासँग माफी मागेर, विगतमा जस्तै समाधानको नेतृत्व फेरि एकपटक कांग्रेसले लिन सक्ने गरी पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ,' कार्यवाहक सभापति खड्काले शनिबार सामाजिक सञ्जालमा लेखेका थिए।
उनले पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचाप सामना गर्न सक्ने निर्णय गर्न केही समय लागेकाले धैर्य गर्न पनि अपिल गरेका छन्।
***