बिहारमा नाटकीय ढंगले भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेड (जेडियू)को गठबन्धनले दुई तिहाई बहुमत ल्यायो।
शुक्रबार राति सम्मन्न मतगणनाको अन्तिम नतिजाअनुसार एनडिए गठबन्धनले विधानसभाका २४३ सिटमध्ये २०२ सिट जित्यो।
मतगणनाको प्रारम्भिक चरणदेखि नै एनडिएका उम्मेदवारहरूले भारी मतका साथ आरजेडि नेतृत्वको गठबन्धनका उम्मेदवारहरूलाई पछि पारेका थिए।
त्यो शिलशिला अन्तिम चरणसम्म कायम रह्यो र एनडिएले बिहार बिधानसभामा शक्तिशाली पुनरागमन गर्यो।
बिहारका चर्चित नेता लालुप्रसाद यादवका कान्छा छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको आरजेडीले कंग्रेस र कम्युनिस्ट पार्टीहरूसँग मिलेर महागठबन्धन बनाएका थिए।
बिहारमा २० वर्षदेखि अकन्टक राज गर्दै आएका नितिशकुमारलाई हराउन उनीहरूले तेजस्वी यादवलाई मुख्यमन्त्री घोषणा गरेका थिए। तर महागठबन्धनले केबल ३५ सिट जितेको छ।
त्यस्तै पहिलो पटक चुनावमा होमिएका रणनीतिकार प्रशान्त किशोरको जन सुराज पार्टीले एउटा सिट पनि जित्न सकेन।
अन्य दलहरूले ६ सिट जितेका छन्।
दलगत परिणामअनुसार भाजपा ८९ सिटमा विजयी हुँदा जेडियूले ८५ सिट जित्यो। त्यस्तै आरजेडी २५, लोकजनशक्ति पार्टी १९, भारतीय राष्ट्रिय कंग्रेस ६ सिट जिते। बाँकी सिट अन्य विभिन्न दलहरूले जिते।
यसअघि ९ पटकसम्म मुख्यमन्त्री बनिसकेका नितिश कुमारलाई बिहारका जनताले फेरि किन अनुमोदन गरे? युवा नेता तेजस्वी यादवलाई किन पत्याएनन्? यसबारे सबैको चासो छ।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार नितिश कुमारले चुनाव आउनुअघि केही त्यस्ता नीति लागू गरे जसले उनलाई दसौं पटक बिहारको मुख्यमन्त्रीको कुर्सीमा शक्तिशाली बनाएर फर्कायो।
चुनावअघि नितिश कुमारले तीन पक्षलाई विशेष प्राथमिकता दिए। र तीनै पक्षहरूले काम गर्दा थप शक्तिशाली भएर नितिश कुमार सत्तामा फर्किएको बताइन्छ।
पहिलो, महिलालाई प्राथमिकता।
बिहार निर्वाचन आयोगका अनुसार प्रदेशका साढे ७ करोड मतदातामध्ये ३.६ करोड महिला मतदाता छन्। ३ करोड ५१ लाख महिला मतदाताले यसपालि मतदान गरे।
नितिश कुमारले मुख्यमन्त्री हुँदा महिला मतदाताहरुलाई आकर्षित गर्न विभिन्न योजनाहरू ल्याएका थिए।
नितिश कुमारले चुनावअघि मुख्यमन्त्री महिला रोजगार योजना कार्यान्वयनमा ल्याए। त्यसबाट एक परिवारका एक महिलालाई साना तथा घरेलु व्यवसाय सुरू गर्न १० हजार रूपैयाँ अनुदान उपलब्ध गराए।
आवश्यक परे यो योजनामार्फत २ लाखसम्म अनुदान उपलब्ध गराउने घोषणा गरे।
हिन्दुस्तान टाइम्सका अनुसार १ करोड ४० लाखभन्दा बढी महिलाहरूको खातामा उक्त कार्यक्रमअन्तर्गत दस हजार रूपैयाँ पठाइएको थियो।
नितिशकुमारले एकल महिला, वृद्धवृद्धा र शारीरिक रूपमा अपांगता भएकाहरूको भत्ता ४०० रूपैयाँ मासिकबाट बढाएर १ हजार १ सय पुर्याए।
चुनावी सभामा मुख्यमन्त्री नितिश कुमार र प्रधानमन्त्री नरेन्द्र मोदीले महिला सशक्तिकरणलाई सरकारले महत्त्व दिएको विषयलाई व्यापक रूपमा प्रचार गरे।
छात्राहरूलाई निःशुल्क साइकल वितरणदेखि, छात्रवृत्ति, समानुपातिक समावेशिता, निःशुल्क रासन, उज्वला योजना, मातृ बन्दना योजना र लखपति दिदी योजना लगायत २० वर्षसम्म महिलाहरूको विकासका लागि गरेका कामहरुको चर्को प्रचार गरे।
आफ्नो सरकारले महिलाहरूको विकासका लागि गरेका कामहरूको मात्र प्रचार भएन तेजस्वी यादव नेतृत्वमा सरकार बने त्यस्ता योजनाहरू बन्द हुने समेत दाबी गरे। यसले पनि नितिशकुमार प्रति महिला मतदाताहरू प्रभावित भएको हुन सक्ने राजनीतिक विश्लेषक एनके चौधरीले हिन्दुस्तान टाइम्ससँग बताएका छन्।
दोस्रो, रोजगारी सिर्जना।
बिहारका मतदातालाई प्रभावित पारेको अर्को विषय हो रोजगार।
एनडिएले आगामी पाँच वर्षपछि बिहारका १ करोड युवाहरूका लागि रोजगारी सिर्जना गरिने भनेको छ। उसले एक घर एक रोजगार कार्यक्रम पनि अगाडि सारेको थियो।
रोजगारीको एजेन्डामा महागठबन्धनको पनि उस्तै घोषणा थियो; एक करोड नयाँ रोजगारी सिर्जना र एक घर एक रोजगार कार्यक्रम। तर मतदाताले महागबन्धनको उक्त नारामाथि विश्वास नगरेको विश्लेषक चौधरी बताउँछन्।
तेस्रो, विकास र पूर्वाधार।
हिन्दुस्तान टाइम्सका अनुसार प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र नितीश कुमारले चुनावी सभामा पूर्वाधार विकासमा सरकारले गरेका कामहरूको पनि व्यापक प्रचार गरे।
गंगामाथि बनेका पुल, पटना–गया चार लेनको सडक, पटना मेट्रोको आंशिक सञ्चालन र कोसी व्यवस्थापनका लागि छुट्याइएको १० हजार करोडकरोडलाई सरकारको ठूलो उपलब्धि भनेर प्रस्तुत गरे।
‘हामी सत्तामा आउँदा बिहारको पूर्वाधार कमजोर थियो, हामीले सुधार्यौँ। फेरि मौका पाए अझै धेरै काम गर्नेछौं,’ धेरै चुनावी भाषणमा नितिशकुमारले भन्दै आएका थिए।
उनले १२५ युनिटसम्म निःशुल्क बिजुली दिने प्रतिवद्धता पनि गरेका थिए। सेप्टेम्बर १ देखि यो योजना लागु समेत भइसकेको भनेर हिन्दुस्तान टाइम्सले लेखेको छ। यसमा करिब २ करोड घरधुरी समेटिन्छ।
त्यस्तै ६० लाख गरीब परिवारलाई आवास योजनाअन्तर्गत सरकारले घर बनाइदिएको विषयले पनि जनताले नितिश कुमारलाई अनुमोदन गर्न सघाएको विश्लेषकहरू बताउँछन्।
आरजेडी अध्यक्ष तेजस्वी यादव लोकप्रिय भए पनि मतदाताले परिवारवादलाई अस्वीकार गरेको विश्लेषकहरू बताउँछन्।