ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ राजनीतिक दल खोलेरै निर्वाचनमा होमिएका छन्। फागुन २१ गते हुने निर्वाचनलाई लक्ष्य गरेर उनले 'उज्यालो नेपाल पार्टी' खोलेका छन्। त्यसको चुनाव चिह्न 'चिम' हो।
घिसिङ अहिलेसम्म औपचारिक रूपले उक्त दलमा जोडिएका छैनन्। केही समयभित्र सरकारबाट बाहिरिएर निर्वाचनमा सहभागी हुने उनको तयारी छ।
यसरी राजनीतिक दल खोलेर निर्वाचनमा होमिन लागेका कुलमान कहाँबाट चुनाव उठ्लान् भन्ने धेरैलाई चासो छ।
कुलमानका निकटहरू उनले चुनाव उठ्ने क्षेत्र लगभग टुंगो लागेको बताउँछन्।
घिसिङको जन्मस्थान रामेछाप हो। त्यसैले उनी त्यहीँबाट चुनाव उठ्न सक्ने धेरैको आकलन छ। निकटहरू भने कुलमान काठमाडौंकै क्षेत्र नम्बर ३ बाट चुनाव उठ्ने बताउँछन्।
कुलमान अहिले काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा पर्ने बौद्ध/महांकालमा बस्दै आएका छन्। यो ठाउँ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ।
बौद्ध क्षेत्र र गोकर्णेश्वर नगरपालिका सहितका क्षेत्रमा जनजातिको बाक्लो उपस्थिति रहेकाले उनलाई सहज हुने आकलन उक्त पार्टीका नेताहरूको छ।
त्यसबाहेक उक्त निर्वाचन क्षेत्रबाट प्रमुख राजनीतिक दलका उच्च तहका नेताहरू उम्मेदवार नभएको र लोकप्रिय व्यक्तित्वको अभाव भएकाले कुलमानका लागि सजिलो हुने उनीहरू बताउँछन्।
गत निर्वाचनमा उक्त क्षेत्रबाट नेपाली कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए। त्यसअघि नेकपा एमालेका कृष्ण राईले चुनाव जितेका थिए।
दुवै नेताको राष्ट्रिय स्तरको छवि नभएकाले कुलमान उम्मेदवार बन्दा स्वस्फुर्त मतदाताले मत दिने आकलन कुलमान समूहको छ।
केही समयअघि विभिन्न पार्टीमा प्रवेशबारे छलफल गरेका कुलमानले पनि आफ्ना लागि काठमाडौं–३ को टिकट सुनिश्चित हुनुपर्ने माग गरेको स्रोत बताउँछ। यसबाट पनि कुलमानले आफ्ना लागि उक्त क्षेत्र उपयुक्त हुन्छ भन्ने धेरैअघिदेखि विचार गरेको देखिन्छ।
कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा अहिले ५१ सदस्यीय कन्द्रीय समिति छ। तर केन्द्रीय समितिकै एक नेताले अर्को नेता चिनेका छैनन्। उनीहरूबीच समन्वयको काम कुलमानले गरेका भए पनि को को चुनाव उठ्छन् भन्ने टुंगो छैन।
त्यसमाथि उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा नाम बुझाएकामध्ये हुम्लाकी टासी ल्हान्जोम र नवलपरासीका विजय कँडेलले उक्त पार्टिमा नरहेको घोषणा गरिसकेका छन्।
त्यसैले अहिले कुलमानले बनाएको पार्टीबाट उनीबाहेक को को कहाँबाट उम्मेदवार बन्छन् भन्ने टुंगो छैन।
नामसूचीमा भएका केही व्यक्तिहरूले पहिलादेखि नै निर्वाचनमा भाग लिएकाले उनीहरू पुरानै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने आकलन गरिएको छ।
इलामको निर्वाचन क्षेत्र २ बाट यसअघि स्वतन्त्र उम्मेदवार बनेका डेकेन्द्रसिंह थेगिम कुलमानको पार्टीमा छन्। उनले सुवास नेम्वाङ बितेपछि इलाममा भएको उपनिर्वाचनमा ११ हजार ४ सय ५७ मत पाएका थिए। उक्त निर्वाचनमा एमालेका सुहाङ नेम्वाङ विजयी हुँदा थेगिम तेस्रो स्थानमा थिए। त्यसैले कुलमानको पार्टीबाट थेगिम एकपटक फेरि इलाम–१ बाट प्रतिस्पर्धामा ओर्लने आकलन गरिएको छ।
त्यस्तै, अघिल्लो निर्वाचनमा काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवार भएका श्री गुरुङ पनि कुलमानको पार्टीमा छन्। उनी त्यही क्षेत्रबाट उम्मेदवार बन्ने सम्भावना छ। गुरूङ डकुमेन्ट्री एवं फिल्म निर्माता हुन्।
त्यस्तै, विवेकशिल साझा पार्टीबाट सक्रिय राजनीति गरेका निर्देश सिलवाल पनि उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिमा छन्। उनी काठमाडौं–६ बाट स्वतन्त्र उम्मेदवार भएका थिए। त्यसैले सिलवालले उक्त क्षेत्र पुन: रोज्न सक्ने देखिन्छ। उनको पुर्ख्यौली घर लमजुङ हो।
कुलमानको पार्टीमा भएका महेन्द्रसुन्दर लावती पाँचथरबाट चुनाव लड्ने आकलन गरिएको छ। उनका बुबा पद्मसुन्दर लावती पञ्चाय कालदेखि राजाको सक्रिय शासनमा नेपाली राजनीतिको केन्द्रमा थिए।
पद्मसुन्दुर लावती राप्रपाको महामन्त्रीसमेत भएका थिए। उनका एक छोरा सुगन लावती अहिले पनि राप्रपाबाटै राजनीतिमा छन्। अर्का छोरा महेन्द्रसुन्दर लावती कुलमानको पार्टीबाट राजनीतिमा आएका छन्।
बुबाको राजनीतिक विरासत थामेर महेन्द्रसुन्दर पाँचथरमा उम्मेदवार बन्न सक्ने आकलन उज्यालो नेपाल पार्टीका नेताहरूको छ।
दिवंगत पद्मसुन्दर लावतीको कामको सम्मानस्वरूप पाँचथरको फिदिम र यासोक बजारको मध्यभागमा शालिक निर्माण गरिएको छ। त्यसैले छोरा लावतीलाई पाँचथरमा चिनाउन ठूलो मिहिनेत आवश्यक पर्ने छैन।
कुलमानको पार्टीमा कलाकार रिमा विश्वकर्माको पनि केन्द्रीय समितिमा नाम छ। उनले चुनाव लड्ने कि नलड्ने स्पष्ट पारेकी छैनन्। तर बर्दिया घर भएकी रिमा सेलिब्रेटी अनुहार भएकाले उज्यालो नेपाल पार्टीबाट चुनाव लड्न सक्ने सम्भावित उम्मेदवार हुन्।
त्यसमाथि नेपालभर जताजतै चिनिएकी रिमाललाई अन्य क्षेत्रमा चुनाव लड्न पहिचान गराइराख्नु पर्दैन।
कुलमानको पार्टीमा डा. गोविन्द केसीको आन्दोलनबाट चिनिएका अभिषेकराज सिंह पनि केन्द्रीय सदस्यको भूमिकामा छन्। उनको पुर्ख्यौली घर सर्लाही हो। उनी अहिलेको सुशीला कार्की नेतृत्वको सरकार गठन बेला सक्रिय भएका थिए। त्यसैले राजनीतिमा रस पसेका अभिषेक उम्मेदवार बन्ने सम्भावना नकार्न सकिँदैन। उनको जेनजी आन्दोलनमा भूमिका भएकाले त्यसलाई संस्थागत गर्न उनी उम्मेदवार बन्न सक्छन्।
कुलमानको पार्टीमा विवेकशिल साझा पृष्ठभूमिका ६ जना नेता छन्। तीमध्ये रजिया बानु पनि एक हुन्। उनी काठमाडौंबाटै उम्मेदवार बन्ने आकलन छ।
त्यस्तै, विवेकशील साझा पार्टीबाट विगतमा राजनीति गरेका सञ्जीव भट्टराई पनि चितवन–२ बाट उम्मेदवार बन्ने अनुमान छ।
केन्द्रीय समिति गठन गर्दा धेरै नै डाक्टर र इन्जिनियरलाई समावेश गरेका कुलमानले आफ्नो पार्टीलाई शिक्षितहरूको दलका रूपमा उभ्याउन खोजेका छन्। यसलाई उनले जेनजी आन्दोलनको पढेलेखेकाले राजनीति गर्नुपर्ने मागसँग पनि जोडेको देखिन्छ।