नेपाली फिल्ममा आफ्नो अलग पहिचान बनाएका चर्चित फिल्मकर्मीहरूबीचको विवाद उत्कर्षमा पुगेको छ।
दसैंमा प्रदर्शनमा आउने दुई फिल्महरू 'बलिदान' र 'माइतीघर' को पृष्ठभूमिबाट जोडिएर सुरू भएको पछिल्लो विवादले यति बेला फिल्म क्षेत्र गर्माएको छ।
'बलिदान' का निर्माता तथा निर्देशक सन्तोष सेन र 'माइतीघर' फिल्मका निर्माता रोहित अधिकारीबीचको विवादमा अर्का निर्माता तथा अभिनेता दीपकराज गिरी जोडिन पुगेका छन्। यद्यपि, सन्तोष सेन र दीपकराज गिरीबीचको विवाद गत वर्षदेखि नै सुरू भएको थियो।
के हो विवाद?
यसपालि दसैंमा 'हरिबहादुरको जुत्ता' समेत गरी तीन नेपाली फिल्म रिलिज हुने भए पनि विवाद दुई फिल्मका निर्माता र समर्थकबीच देखिएको हो।
'बलिदान' र 'माइतीघर' का निर्माता तथा समर्थकले एक अर्काको फिल्मलाई लिएर सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया दिएपछि विवाद सुरू भएको देखिन्छ।
'माइतीघर' का निर्माता रोहित अधिकारीले गत आइतबार सामाजिक सञ्जालमा एक पोस्ट गरे — माइतीघर फिल्म हेरेर मन नपरे ढुटो मलाई गाली गर्नुहोला। तर नहेर्दै सुनियोजित रूपमा परिचालित गाली गर्न सख्त मनाही छ। सुनियोजित गालीविरूद्ध यसपालि कडाभन्दा कदम चालिएको जानकारी गराउँछु।
'फेक आइडी' बाट आफ्नो फिल्मप्रति प्रहार भइरहेको उनको दाबी थियो। बरू फिल्म रोक्ने तर प्रहार गर्नेलाई नछाड्ने उनले सामाजिक सञ्जालबाटै चेतावनी दिए। उनले उक्त स्टाटस कसप्रति लक्षित हो भन्नेबारे खुलाएका थिएनन्।
गत मंगलबार निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमा दुई स्टाटस लेखे।
जसमध्ये एउटा थियो— आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरूको फिल्मलाई गाली गर्न लगाउने काम बन्द गरौं। आफ्नो हिरो बाघ! अरूको स्याल? याद गरौं बाघ पनि जनावर नै हो!
उनको यो पोस्ट निर्माता रोहित अधिकारीले सेयर गरे।
निर्माता तथा निर्देशक सन्तोष सेनले पनि दीपकराजको स्टाटस सेयर गर्दै दीपकराजलाई नै मेन्सनसहित 'तिम्रो सोचमै पाप छ' भन्दै लामो स्टाटस लेखे।
उक्त पोस्टमार्फत सन्तोषले आजसम्म कहिल्यै अरूलाई गिराएर आफू अगाडि बढ्ने सोच नपालेको बताए।
सन्तोषले लेखेका छन्— कसैलाई कमेन्ट गर्न लगाएर लाखौं दर्शकको भावनासँग खेलबाड गर्ने जुन तुच्छ सोच पालेको छौ, त्यो काम नगर। यी दर्शककै मायाले तिमी आज यहाँसम्म आइपुगेका छौ। त्यसैले उनीहरूको भावना कुल्चने अधिकार कसैलाई छैन। हाम्रो बलिदानको पोस्टमा आउने नकारात्मक कमेन्टहरू के तिम्रो समूहकै काम हो? तिमीलाई हार स्वीकार्य छैन। त्यसैले हामीले ठूला चुनौतीहरू मोलेर सिर्जना गरेका कामलाई पचाउन नसक्नु तिम्रो कमजोरी हो। दर्शकको भावनामा चोट पुर्याउँदै, फेक अकाउन्ट बनाएर घटिया कमेन्ट गर्ने अनि उल्टै हामीलाई आरोप लगाउने सोचले कहिल्यै कसैलाई अगाडि बढाउँदैन।
उनले थप लेखेका छन्— कलाकार र सिर्जनाकर्ताबीच प्रतिस्पर्धा हुनुपर्छ। तर त्यो सिर्जनामा, कामको गुणस्तरमा। कालीमाता र पशुपतिनाथको कसम खाएर भन्छु मैले आजसम्म कहिल्यै अरूलाई गिराएर आफैलाई अगाडि बढ्ने पापी सोच पालेको छैन। हामीले ३–४ वर्षदेखि दर्शकका लागि केही अर्थपूर्ण सिर्जना गर्न सकिन्छ कि भनेर लागिपरेका छौं। कलालाई सम्मान गर, किनभने कलाकार र दर्शक बिना यो यात्रा अधुरो हुन्छ। यदि वास्तवमै मैले कहिल्यै कसैलाई नकारात्मक कमेन्ट गर्न लगाएको छु भने, मैले बलिदानको सुरूवात नै कालीमाताको चरण छोएर गरेको हुँ। कालीमाता र पशुपतिनाथ समक्ष प्रार्थना गर्दछु यसै क्षण मेरो जीवन अन्त्य होस्।
सन्तोष सेनको यो पोस्टको केही समयपछि फेरि दीपकराज गिरीले अर्को पोस्ट लेखे।
उनको दोस्रो स्टाटस छ— चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्यो चोरले। विचरो न त ब्यंग्य बुझ्छ। न त बौद्धिकता थाहा छ। बुरूक्क बुरूक्क साँढेझैं उफ्रिन्छ। माया लाग्छ!
यो पोस्ट पनि 'माइतीघर' का निर्माता रोहित अधिकारीले सेयर गरेका छन्।
रोहितले नकारात्मक कमेन्ट गर्ने केही अकाउन्टविरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी समेत दिएका छन्।
यता बुधबार दीपकराज, रोहित र निर्मल शर्माबीचको भएको भनिएको एक अडिओ कुराकानी सार्वजनिक भएको छ। उक्त (अपुष्ट) अडिओ आएपछि सन्तोषले सेयर गर्दै आफूलाई नियोजित रूपमा फसाउन खोजिएको लेखेका छन्।
दीपकराज गिरीले पनि उक्त अडिओबारे प्रष्टीकरण दिएका छन्। उनले आफूहरूबीचको कुरालाई अतिरञ्जित गरिएको दाबी गरेका छन्।
लेखेका छन्— अस्ति एक्कासि निर्माता रोहित अधिकारीको कल आयो। दाइ तपाईंलाई जस्तै मलाई पनि त्यस्तै गर्न लागे के गर्ने होला, साइबरमा उजुरी दिएँ, सन्तोषको मान्छेले मलाई त धम्की नै दियो, मैले रेकर्ड पनि गरेको छु भने। उसको यस्तो पीडा सुनेपछि त्यो पीडा आफ्नै जस्तो लाग्यो र उनलाई भेट्न गएँ। उनका सबै कथा सुनेँ। त्यो हाम्रो अडिओ भनेर प्रचार गरिएको अडिओमा मैले उसको पीडायुक्त आक्रोश सुनेँ। म खासै बोलेको पनि छैन त्यसमा। मेरो पीडा सुनाएको छु!'
दीपकराजले थप लेखेका छन्— निर्मल दाइले त झन् मान्छे सान्छे कुट्ने कुरा गर्नु हुँदैन है, सामाजिक सञ्जालको कुरा समाजिक सञ्जालमा नै मिलाउनु पर्छ पनि भन्नुभयो। तर हाम्रो त्यो कुरालाई अतिरञ्जित गरेर सन्तोष भाइले मेरो नामै तोकेरै सेयर गरेर पानी माथिको ओभानो हुन खोजे। तर उनले रोहित अधिकारीलाई बिहानदेखि फलो गरेको र हामी बसेका ठाउँमा मान्छे लगाएर आफू बाहिर बसेर प्लानिङ गरेको भिडिओ प्राप्त भयो। त्यसपछि म आफै छक्क नै परेँ!
दीपकराज र रोहितले यसअघि फिल्म 'छ माया छपक्कै' मा सहकार्य गरेका थिए।
दीपकराजको उक्त स्टाटसमा सन्तोषले पनि 'अरूलाई खाडलमा हाल्ने घृणित योजना बन्द गरौं' भन्दै प्रतिक्रिया जनाएका छन्।
त्यसमा दीपकराजले जबाफ फर्काएका छन्, 'कसैको वार्तालाप रेकर्ड गर्नु नै अपराध हो भन्ने बुझौं पहिला। त्यो माथि पूरै अडिओ सुने पनि हामी तपाईंहरू जस्तो साबित हुँदैनौं।'
यसबीच निर्माता रोहित अधिकारीले आफूहरूलाई सन्तोष सेनको व्यक्तिले पछ्याएको आरोप लगाउँदै सिसिटिभी फुटेज सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
त्यसमा सन्तोष सेन र एक व्यक्ति सडकमा कुरा गरिरहेको र पछि ती व्यक्ति होटलमा देखिएका छन्।
दुई फिल्मका निर्माता तथा निर्देशकबीचको विवादमा दीपकराज गिरी कसरी जोडिए?
यसलाई धेरैले गत वर्षको माहोलसँग जोडेर हेरेका छन्।
गत वर्ष दसैंमा दीपकराज समूहको 'छक्कापञ्जा ५' र विराज भट्ट र उनका छोरा समीर भट्टको '१२ गाउँ' बीच बक्सअफिस भीडन्त भएको थियो।
त्यस बेला दीपकराजले आफ्नो फिल्मविरूद्ध साइबर हमला भएको दाबी गरेका थिए। एक अन्तवार्तामा सन्तोष सेनलाई साइबर सेनाको कमान्डरका रूपमा चित्रित गरेपछि विवाद सुरू भएको थियो। सन्तोषले यसमा पछि खण्डन गर्दै आफूलाई साइबर कमान्डर प्रमाणित गर्न चुनौती दिएका थिए।
त्यस बेलाको विवादको बाछिटा अहिले देखिएको धेरैको विश्लेषण छ। दीपकराजले बिहीबार लेखेको स्टाटसमा पनि कुरा गत वर्षदेखिकै भएको उल्लेख गरेका छन्।
यो विवादलाई लिएर कतिपय फिल्मकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। यस प्रकारका आरोप–प्रत्यारोप, गाली–गलौजले फिल्म क्षेत्रको भलो नगर्ने उनीहरूको भनाइ छ।
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले निर्माताहरूबीचको विवाद सामाजिक सञ्जालदेखि कानुनी प्रक्रियासम्म फैलिएको दृश्यले आफूलाई व्यक्तिगत रूपमा दुःख लागेको बताए।
पछिल्ला आरोप–प्रत्यारोप, कठोर शब्द र एकअर्कालाई निचो देखाउने प्रवृत्तिले परिस्थिति झन् जटिल र पीडादायी बन्दै गएको उनको बुझाइ छ। उनका अनुसार विवाद व्यक्तिगत तहमा सीमित नभइ दर्शकलाई समेत दुई भागमा बाँडिरहेको छ।
नवलले निर्माताहरूलाई संयमता र सहनशीलता अपनाउँदै वार्ता र संवादको बाटो रोज्न आग्रह गरेका छन्।