एक दशकभन्दा लामो समय पत्रकारितामा बिताएका रामजी ज्ञवाली तीन वर्षअघि सर्ट फिल्ममार्फत निर्देशनमा प्रवेश गरे। 'एक लभर', 'डार्कमुन', 'आराध्या', 'लिलामी', 'हनिमुन' लगायतका सर्ट फिल्म र केही म्युजिक भिडिओ निर्देशन गरे।
एक वर्षदेखि भने उनले नयाँ प्रोजेक्ट सार्वजनिक गरेका थिएनन्। यो समय पूर्ण रूपमा डकुमेन्ट्री र डकुड्रामा निर्माणमा समर्पित गरेका छन्। विभिन्न संवेदनशील र यथार्थपरक कथामा आधारित रहेर 'रित्तो गाउँ', 'लापत्ता सन्तान', 'मौन' र 'निःशब्द' गरी उनका चारवटा प्रोजेक्ट तयार भएको र अब बिस्तारै सार्वजनिक हुने उनले बताए।
उनका अनुसार, चर्चित कलाकार, अनुभवी प्राविधिक टिम र अत्याधुनिक क्यामेरा तथा उपकरणहरू लिएर उनले यी प्रोजेक्टमा काम गरेका छन्।
पत्रकारिताका दिनमा उनले नेपाली फिल्मको कमजोर स्क्रिप्ट, कृत्रिम अभिनय र प्रविधिमा पछि परेको पक्षको आलोचना गरेका थिए। तर, आलोचना मात्र पर्याप्त नहुने महसुस गर्दै आफैं सर्ट फिल्म निर्माणमा हात हालेको उनी बताउँछन्।
'फिल्मको वास्तविक पक्ष बुझ्न, प्रविधि र निर्माण प्रक्रिया कस्तो हुन्छ भन्ने थाहा पाउन मैले आफैं फिल्म बनाउन थालेँ,' रामजी भन्छन्।
छोटो समयमा ठूलो कथा भन्नु, त्यो पनि प्राविधिक रूपमा परिपक्व तरिकाले प्रस्तुत गर्नु सजिलो छैन। सोहीकारण उनी ठूला फिल्मभन्दा सर्ट फिल्म बनाउन कहिलेकाहीँ अझ कठिन हुने बताउँछन्। किनकि छोटो समयमै कथा, भावनात्मक गहिराइ र प्राविधिक गुणस्तर प्रस्तुत गर्नुपर्ने चुनौती हुन्छ।
'सर्ट फिल्म छोटो भए पनि यसको प्रभाव लामो समय टिक्छ', उनी भन्छन्, 'विश्वका ठूला फिल्म महोत्सवहरूमा सर्ट फिल्मले देशको प्रतिनिधित्व गर्न सक्छ, र दर्शकलाई तुरून्त भावनात्मक रूपमा जोड्न सक्छ।'
उनी आफ्ना प्रोजेक्टहरू मनोरञ्जनको माध्यम मात्र नभइ, समाजको चित्र पनि भएको बताउँछन्। उनका अनुसार 'रित्तो गाउँ' ले रोजगारीका लागि गाउँ छाड्दा समाज र राष्ट्रमा परेको असरलाई देखाइएको छ। 'लापत्ता सन्तान' मा अभिभावकलाई वृद्धाश्रम पठाउने सन्तानको कथालाई मार्मीक रूपमा प्रस्तुत गरिएको छ।
'मौन' अटिजम पीडितको आवाज र 'निःशब्द' ले निःसन्तान दम्पतीको पीडा उजागर गरेको रामजी बताउँछन्।
'मेरो उद्देश्य पैसा कमाउनु होइन, म चाहन्छु मेरो फिल्मले सोच बदलोस्, समाजमा सकारात्मक प्रभाव पारोस्,' उनी भन्छन्।

गुल्मीमा जन्मिएर बुटवलमा कला पत्रकारिता सुरू गरेका रामजी २०७३ सालमा काठमाडौं आएका थिए। उनले थुप्रै कलाकार र सार्वजनिक व्यक्तित्वको सामाजिक सञ्जाल व्यवस्थापनको जिम्मेवारी समेत सम्हालेका छन्।
उनी 'रित्तो गाउँ' र 'मौन' बाहेकका दुई नयाँ प्रोजेक्ट 'लापत्ता सन्तान' र 'निःशब्द' सार्वजनिक गर्ने तयारीमा छन्। त्यस्तै, रामजी अब ठूलो पर्दाको लागि तयारीमा छन्।
अहिले सर्ट फिल्ममा गरेको मेहनत ठूलो पर्दाको फिल्महरूको पूर्वतयारी रहेको उनको भनाइ छ।
'ठूला फिल्ममा प्रयोग गर्न सकिँदैन, त्यसैले साना प्रोजेक्टहरू नै हाम्रो प्रयोगशाला हुन्। यी अनुभवहरू नै हाम्रो सिकाइ हुन्, यी प्रयासहरू नै हाम्रो जग हुन्। जब यो जग बलियो हुन्छ, भविष्यमा निर्माण हुने ठूला प्रोजेक्टहरू अझ राम्रो बन्छन्,' उनले भने।
कलाकार छनोटदेखि बजेट व्यवस्थापन र निर्देशनसम्मको अनुभव बटुलेका उनी भन्छन्- 'समय लिएर राम्रो फिल्म बनाउने योजना हो। नेपाली फिल्म उद्योगका लागि स्वादिलो र अर्थपूर्ण योगदान दिने तयारीमा छु।'
तर, ठूलो फिल्मको काम थाल्नुअघि उनले आफ्ना प्रोजेक्टलाई अधिकतम दर्शकसम्म पुर्याउने सोँचेका छन्। त्यसपछि मात्रै फिचर फिल्म सुरू गर्ने योजना उनको योजना छ।
रामजीको बुझाइमा सुरूवाती चरणमा भ्युज र डलरको लोभमा बनेका केही कमजोर सर्ट फिल्मले यस विधाप्रति नकारात्मक छवी बनेको भए पनि अहिले परिस्थिति बद्लिएको उनी बताउँछन्। भन्छन्, 'आज सर्ट फिल्म, डकुड्रामा लगायतका प्रोजेक्टहरूको छुट्टै प्रतिष्ठा र महत्व स्थापित भएको छ। गुणस्तरीय निर्माणमा ध्यान दिन सकिए यसको भविष्य अझ उज्ज्वल हुनेछ।'