भदौ ६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'जनै हराएको मान्छेः सम्बन्धका धागाहरू' ले सुरूमा यसको नाम 'जनै हराएको बाहुनः सम्बन्धका धागाहरू' राखेको थियो। तर निर्माणपक्षले केही समयपछि नाममा केही परिवर्तन गर्यो। बाहुनका ठाउँमा मान्छे राख्यो।
निर्माण पक्षका अनुसार हिन्दु धर्मसँग सम्बन्धित केही संस्था र व्यक्तिहरूले अनावश्यक चासो र दबाब दिन थालेपछि नाम परिवर्तन गरिएको थियो। यद्यपि, फिल्मका निर्देशक हिमाल न्यौपानेले यसलाई धार्मिक दृष्टिकोणले नहेर्न आग्रह गरेका छन्।
विषय र प्रसंगले जुरेको नामका आधारमा फिल्म नै धार्मिक हो कि भन्ने आंशका गरिए पनि यो विशुद्ध सामाजिक कथा भएको उनले बताए।
उनले भने, 'हाम्रो फिल्म धार्मिक होइन। सामाजिक कथा हो। विषयसँग जोडिएर जनै भन्ने शब्द आइपुगेको मात्रै हो।'
उनले सिर्जनात्मक काममा अनावश्यक झमेला नहोस् भन्ने उद्देश्यले नाम परिवर्तन गरिएको प्रष्ट पारे।
न्यौपानेले भने, 'हामी सिर्जनात्मक काम गर्ने मान्छे अनावश्यक झमेलामा फस्न चाहेनौं। काम गर्ने कि विभिन्न व्यक्ति र संस्थालाई बुझाउँदै हिँडौं भनेर शब्द परिवर्तन गर्यौं।'
न्यौपानेले सर्जकले आफूले चाहेको विषय र नाममा काम गर्न पाउने अधिकारको सम्मान हुनुपर्नेमा पनि जोड दिए। सर्जकको अधिकारमा हस्तक्षेप गर्ने प्रयास भइरहेको भन्दै यसमा सरकार चनाखो हुनुपर्ने उनले धारणा राखे।
फिल्म 'जनै हराएको मान्छेः सम्बन्धका धागाहरू' मा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, मिरूना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायत कलाकारहरूको अभिनय छ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी छ।
फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्ममा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन्। फिल्मका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।
अलटाइम ब्लकबस्टर 'पूर्णबहादुरको सारंगी' पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो फिल्म हो।
'जनै हराएको मान्छेः सम्बन्धका धागाहरू' आउँदो शुक्रबार रिलिज हुनेछ। यसलाई गोविन्द शाहीको काफिया फिल्मसले देशभरका हलमा वितरण गर्दैछ।