वृत्तचित्र 'जिरो टु ८८४८' निर्माण गरिएको छ।
नेपालकै होचो ठाउँ झापाको कचनकवलदेखि सगरमाथाको चुचुरोसम्मको रोचक, साहसिक र ऐतिहासिक यात्रालाई समेटेर निर्माण गरिएको वृत्तचित्रको ट्रेलर सोमबार सार्वजनिक गरियो।
निरञ्जन पाण्डे र बलराम बुढाथोकीले संयुक्त रूपमा निर्देशन गरेको यस वृत्तचित्रको अवधारणा सञ्चारकर्मी प्रेम बानियाँको हो।
वृत्तचित्रमा सगरमाथा चढ्न हिंडेकाहरूको कथा, संकल्प र बाटोमा उनीहरूले भोग्ने चुनौतीहरू देखाइएको छ। सञ्चारकर्मी प्रेम बानियाँले पहिलो यात्रीका रूपमा यात्रा थालेका थिए। त्यससँगै १८ पटक सगरमाथा आरोहण गरिसकेका टेण्डी शेर्पा, विश्व साइकल यात्री पुष्कर शाह, आरोही तथा लेखक कोन्राड एन्कर, आङपासाङ शेर्पा लगायतको यात्रा यसमा समावेश छ।
प्रेम बानियाँले यो केवल वृत्तचित्रमात्रै नभइ देश चिनाउने आफूहरूको अठोट भएको बताए।
उनले भने, 'समुद्री सतहबाट ५८ मिटरमा रहेको कचनकवललाई खनेर समुद्री सतह बराबर बनाउन सकिन्छ र त्यहाँ एउटा गाउँ बसाल्न सकिन्छ, जहाँबाट सगरमाथासम्मको यात्रा गर्न सकिन्छ भन्ने अवधारणा हामीले यसमार्फत अघि सारेका छौं। नेपालका लागि यो इतिहासको एक गौरव क्षण हो र संसारकै लागि एउटा रोचक नयाँ अध्यायको आरम्भ हो। यो अवधारणालाई पूरा गर्ने हाम्रो लक्ष्य छ।'
झन्डै ५ सय १० किलोमिटर दूरीको पदयात्रा पूरा गर्न झन्डै ९० दिन लागेको पनि उनले बताए। निर्देशक निरञ्जन पाण्डेले देशका लागि केही गरौं भन्ने हुटहुटीले वृत्तचित्र निर्माणमा प्रेरित गरेको बताए।
'हामी लामो समय नेपालको सिर्जनात्मक क्षेत्रमा काम गरेर हाल अमेरिकामा बस्ने साथीहरूले देशका लागि मिलेर केही गरौं भनेर लामो समयदेखि सोचेका थियौं। त्यसक्रममा देशलाई चिनाउनेगरी यो अवधारणा अघि सार्न सफल भयौं,' उनले भने।
वृत्तचित्रलाई अमेरिकाका सबै राज्यमा लगेर देखाउने, त्यसपछि युरोप र अष्ट्रेलिया तथा एसियाका अन्य देशमा देखाएर नेपालका हलहरूमा सार्वजनिक गर्ने सोच रहेको उनले बताए।
उनले भने, 'यसलाई हामीले देश चिनाउने माध्यमका रूपमा सोचेका छौं। विश्वमा कहीँ सम्भव नभएको एक मात्र जिरो टु ८८४८ को अवधारणा ल्याउन सफल भएका छौं। यस पदमार्गलई विकास गर्न सके हाम्रो देशको पर्यटन फस्टाउनेछ र देशलाई विश्वभर चिनाउन सकिनेछ र समृद्धीको एउटा आधार खडा हुनेछ।'
वृत्तचित्रलाई निर्देशकद्वय निरन्जन पाण्डे र बलराम बुढाथोकीले मिलेर सम्पादन तथा छायाँकन गरेका हुन्।
श्री वाग्ले कार्यकारी निर्माता रहेको वृत्तचित्रमा उमंग शाही सहायक छाँयाकार छन्। त्यस्तै प्रोडक्सन टिममा कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाह छन्। वृत्तचित्रमा समावेश सगरमाथा शिखरका दृश्य सुजन गुरूङ र दोजी शेर्पाले छायाँकन गरेका हुन्।