अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को अमेरिका च्याप्टरले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान प्रदान गरेको छ।
अमेरिकामा रहेर नेपाली भाषा, संस्कृति, खेलकुद, व्यवसाय, समाजसेवामा योगदान पुर्याउने १६ जनालाई 'इनास राष्ट्रिय सम्मान २०२५' प्रदान गरिएको हो।
इनास अमेरिकाका अध्यक्ष राहुल केसीको अध्यक्षता र ग्लोबलकी संरक्षक नीता श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्थानीय राज्य निकायका तर्फबाट सिनेटर, डेलिगेट्स, विभिन्न संघसंस्थाका पदाधिकारी सहभागी थिए।
फिल्ममार्फत मानवअधिकार र संस्कृति प्रवर्धनमा योगदान दिने पूर्णसिंह बराइली, ललित कलाकार राजेन्द्र केसी, उदीयमान गायिका आश्रा कुँवर, प्रतिभावान दृष्टिविहिन सुजन ढकाल, संस्कृति प्रवर्धनमा सक्रिय संस्था 'नेपाल पासा पुचः अमेरिकाय' लाई इनास राष्ट्रिय सम्मान २०२५ प्रदान गरियो।
गीतकार तथा साहित्यकार अम्बिका गुरूङ, स्वयंसेवकको रुपमा सक्रिय रुबी पौडेल र अपेक्षासिंह परियार, समाजसेवी विजया शाह, उद्यमी तथा समाजसेवी अमर छन्त्याल, नृत्य कोरियोग्राफर नवीन केसी, पत्रकार तथा अधिकारवादी सच्ची मैनाली, तेक्वान्दो खेल प्रवर्धनमा सक्रिय दम्पती कुमार र कल्पना कार्की, गायक प्रकाश श्रेष्ठ, पार्कर खेलाडी दिनेश सुनार र फिल्म अभिनेत्री दिब्या रायमाझीलाई इनास अमेरिका राष्ट्रिय सम्मान २०२५ प्रदान गरिएको थियो।
रेडकार्पेटमा पञ्चैबाजासहित पाहुनालाई स्वागत गरिएको थियो भने गुरूङ र नेवार समुदायले झाँकी बाजामार्फत सांगीतिक प्रस्तुति दिएका थिए।

कार्यक्रममा फिल्म 'तेल भिसा' र वेब–सिरिज 'घर बट इन अमेरिका' को टिमलाई सम्मान प्रदान गरिएको थियो। अमेरिका र विभिन्न युुरोपेली मुलुकबाट पुगेका कलाकारलाई प्रमाणपत्रसहित सम्मान प्रदान गरिएको थियो।
इनास संस्थाका विभिन्न कार्यसमिति, राज्य समिति र राष्ट्रिय समितिका अध्यक्षलाई इनास सम्मान प्रदान गरिएको थियो । इनास ग्लोबलका प्रवक्ता प्रकाश तिवारीले संस्था स्थापनाको उद्देश्य र इतिहासबारे जानकारी दिएका थिए।
बालकलाकारले हिमाल, तराई, पहाड झल्काउने आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने कलाकारको सामूहिक गायन प्रस्तुतिले स्रोता तथा दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो।