हास्य सिरियल 'मेरी बास्सै' मा 'अप्सरा आमा' पात्रको भूमिका निर्वाह गरेकी कलाकार लक्ष्मी श्रेष्ठ बिरामी भएर थलिएकी छन्।
स्तन क्यान्सर लगायतका रोगबाट पीडित उनी केही सातादेखि ओछ्यानमै थलिएकी हुन्।
दसैंदेखि अस्वस्थ भएकी उनलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो। पछि अस्पताल लैजाने–ल्याउने गरेकोमा दुई साताअघि अस्पतालले घर फर्काइदिएको उनको परिवारको भनाइ छ।
काठमाडौंको कपन बालुवाखानीस्थित घरमा रहेकी लक्ष्मीको छोरीले रेखदेख गरिरहेकी छन्।
परिवारका अनुसार दुई सातादेखि उनलाई एकदमै गाह्रो भएको छ। उनको औषधि छुटाइसकेको र झोल खानेकुरा बाहेक खाना खान छाडेकी छन्।
'मेरी बास्सै' सिरियलमा लक्ष्मीले सीताराम कट्टेलले निर्वाह गर्नेमध्ये एउटा पात्र खड्काजीको श्रीमती (अप्सरा आमा) को छुच्चो खालको भूमिकामा अभिनय गरेकी थिइन्।
यो सिरियलमा खड्काजी र अप्सराको जोडीलाई दर्शकले निकै रूचाएका थिए। कलाकारितामा लामो समय बिताएकी लक्ष्मीले 'जिरे खुर्सानी', 'कान्छी' सहित अन्य केही सिरियल, थुप्रै फिल्म र म्युजिक भिडिओमा समेत अभिनय गरेकी छन्।
बिरामी परेपछि उनले आफूसँग सहकार्य गरेका कलाकारहरू भेट्ने चाहना गरेकी थिइन्।
लक्ष्मीसँग 'उल्टो सुल्टो' लगायतका सिरियलमा काम गरेकी सुशीला निरौला (विमली) आफूलाई म्यासेन्जरमा लक्ष्मीको एउटा फोटो आएपछि आफू भेट्न पुगेको बताइन्।
'आफूसँग काम गरेका कलाकारहरू भेट्न खोजेपछि उहाँको छोरीले त्यो फोटो पठाउनुभएको रहेछ। म सँग पनि जतिसँग काम गरेँ, उहाँहरूको अनुहार हेर्न मन छ भन्नुभयो,' सुशीलाले भनिन्, 'त्यसपछि मैले भिडिओ बनाएर राखेपछि धेरै कलाकारहरूले चासो राख्नुभयो। धेरै कलाकारहरू उहाँलाई भेटन पुग्नुभयो।'
राजाराम पौडेल, सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), सुरवीर पण्डित, रवी डंगोल लगायतका कलाकारहरू लक्ष्मीलाई भेट्न पुगेका छन्।