फिल्म 'जनै हराएको मान्छे: सम्बन्धका धागाहरू' को गीत सार्वजनिक भएको छ।
बुधबार सार्वजनिक 'आमा' गीतमा अर्जुन पोखरेलको शब्दरचना र संगीत छ भने उनीसँगै मनिषा सुनारको स्वर छ।
फिल्मको मुख्य कलाकारले घर छोड्दादेखि सहरमा गरेको संघर्ष र खाएको हन्डरसम्म गीतमा समावेश छ।
गीतका शब्द र अभिनय मर्मस्पर्शी लाग्छ।
भिडिओमा फिल्मका मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरूना मगर, शुशांक मैनाली, कविता आलेलगायतको अभिनय छ।
फिल्मका एसोसियट निर्देशक मनिष राउतले यो आफ्नो सन्तानको सफलता कुरिरहेका सम्पूर्ण आमा र आमाको खुसी खोज्न सहर पसेका छोरा–छोरीका लागि समर्पित गीत रहेको बताए।
हिमाल न्यौपानेको निर्देशनमा बनेको 'जनै हराएको मान्छे: सम्बन्धका धागाहरू' ले आमा र सन्तानबीचको भावनात्मक कथा भन्नेछ। फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। सह–निर्मातामा आरके मानन्धर, रूपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी छन्।
यो फिल्म भदौ ६ गते रिलिज हुनेछ।