दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्म 'के घर के डेराः घर नं २' जेठ २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
यो फिल्मको केही दिन अगाडि मात्रै टिजर रिलिज गरिएको थियो। जुन टिजरले 'पशुपतिप्रसाद' फिल्मको झल्को दिएको भनेर समेत चर्चा भइरहेको छ। यसको विषयवस्तुलाई लिएर पनि दर्शकमा चासो देखिन्छ।
'के घर के डेरा: घर नं २' दुई वर्ष अगाडि रिलिज भएको 'के घर के डेरा' को सिक्वेल हो अथवा नयाँ हो? यो पनि कतिपयको जिज्ञासा छ।
किनभने टिजरले 'के घर के डेराः घर नं २' सिक्वेल भएको संकेत गर्दैन । तर, नामले भने सिक्वेल हो कि भन्ने हुनसक्छ। 'के घर के डेरा' दीपेन्द्रकै निर्देशनमा बनेको फिल्म हो।
निर्देशक दीपेन्द्र के. खनालले 'के घर के डेराः घर नं २' सिक्वेल नभएको बताए।
उनले भने, 'यो के घर के डेराको सिक्वेल होइन। घर र डेराको कुरा फिल्ममा छ।यो बिल्कुल नयाँ फिल्म हो। नयाँ कथा हो।'
'के घर के डेरा' कमेडी बेसमा बनेको फिल्म भएको भन्दै निर्देशक दीपेन्द्रले 'के घर के डेरा: घर नं २' सोसल ड्रामा भएको प्रष्ट्रयाए। आफ्नो पहिचान झल्कने फिल्म 'के घर के डेरा: घर नं २' भएको उनले बताए।
उनले भने, 'यसमा मेरो ओर्जिनल फ्लेबर आउँछ। म जसरी आफूलाई मन लागेको सोसल ड्रामा भन्दै आएको थिएँ। यो फिल्म मार्फत म आफ्नो जनरामा फर्किएको छु।'
यो फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन्। फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारहरूको अभिनय छ।
फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्माता युवराज कार्की हुन्।