फिल्म 'पूर्ण बहादुरको सारंगी' ले सात दिनमा ८ करोड २५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ।
निर्माताले बिहीबार फिल्मको पहिलो साताको कलेक्सन सार्वजनिक गरेका हुन्।
लक्ष्मीपूजाको दिन रिलिज फिल्म बिहीबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ।
'पूर्ण बहादुरको सारंगी' बिहीबार देशभरका ८९ वटा हलका ३८० भन्दा बढी शोमा प्रदर्शन भएको निर्माताले जनाएका छन्। यो नेपाली फिल्मको इतिहासमा अहिलेसम्मकै बढी शो हो।
विजय बराल अभिनीत यो फिल्मले आक्रामक व्यापार गरिरहेको छ। हलले फिल्मलाई बिहानदेखि मध्यरातिसम्मको शो दिएका छन्।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजयका साथमा प्रकाश सपुत, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, माओत्से गुरूङ, अलिशा बास्तोला, स्वयम केसी लगायत कलाकारहरूको अभिनय छ। फिल्मको संवाद महेश दवाडीले लेखेका छन्।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्।
कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन्।