फिल्म 'पूर्ण बहादुरको सारंगी' ले दर्शकको उत्साहजनक साथ पाइरहेको छ।
हरेक दिन फिल्मको शो थपिने क्रम जारी छ।
दर्शकबाट माग बढेपछि हलहरूले फिल्मलाई बिहानदेखि मध्यरातिसम्मको शो उपलब्ध गराएका छन्।
देशको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मलाई बिहान ७ बजेदेखि मध्यराति ११ः५५ बजेसम्मको शो दिएको छ।
रातिसम्मकै शोमा दर्शकको उपस्थिति उत्साहजनक छ।
आईएनआई, बिग मुभिज, वान सिनेमाज, एफक्युब, सीडीसी लगायतका हलमा पनि फिल्मको शो बढेका छन्।
देशभरका हलमा फिल्म राम्रो शोका साथ प्रदर्शन भइरहेको छ।
बुधबार पनि फिल्मको बिहानैदेखिका शो हाउसफुल छन् भने बिहीबारको बुकिङ पनि राम्रो देखिएको छ।
विजय बराल अभिनीत 'पूर्ण बहादुरको सारंगी' लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको हो।
फिल्मले पाँच दिनमा (सोमबारसम्म) ४ करोड ८७ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको थियो। बुधबारसम्म फिल्मको कलेक्सन ८ करोड पुग्ने अनुमान छ।
छोराको भविष्यका लागि बुबाले गर्ने संघर्षको कथामा बनेको फिल्मले दर्शक प्रतिक्रिया पनि सकारात्मक पाइरहेको छ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजयसँगै प्रकाश सपुत, अञ्जना बराईली, मुकुन भुसाल, बुद्धि तामाङ, माओत्से गुरूङ, अलिशा बास्तोला, स्वयम केसी लगायत कलाकारहरूको अभिनय छ।
फिल्मको निर्माता बिनोद पौडेल र प्याट्रिक सुवेदी हुन्।