लक्ष्मीपूजाको दिन रिलिज फिल्म 'पूर्ण बहादुरको सारंगी' ले हलमा राम्रो व्यापार गरिरहेको छ।
पहिलो दिन अकुपेन्सी कम देखिए पनि शुक्रबारदेखि फिल्मले पिकअप लिएको थियो।
शनिबार र आइतबार फिल्मका अधिकांश शो हाउसफुल रहे।
यो फिल्मको व्यापारमा विशेषगरी बलियो 'वर्ड अफ माउथ' ले भूमिका खेलेको छ। राम्रो वर्ड अफ माउथले हलमा दर्शकको संख्या बढेसँगै मल्टिप्लेक्सले सोमबारदेखि फिल्मको शोमा भारी वृद्धि गरेका छन्।
सोमबार यो फिल्मले सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा दुई हिन्दी फिल्मले भन्दा बढी शो पाएको छ।
क्युएफएक्सले काठमाडौं र बाहिर गरेर फिल्मलाई ६७ शो दिएको छ।
बलिउड फिल्म 'सिंघम अगेन' ले क्युएफएक्समा सोमबारका लागि ६० शो पाएको छ भने 'भूल भुलैया ३' लाई ५७ शो दिइएको छ।
दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईमा 'पूर्ण बहादुरको सारंगी' ले हिन्दीको तुलनामा दोब्बरभन्दा बढी शो पाएको छ। यहाँ यो फिल्मलाई १८ शो दिइएको छ।
आईएनआईमा 'सिंघम अगेन' ले ७ र 'भूल भुलैया ३' ले ६ शो पाएको छ।
बिग मुभिजमा हिन्दी र नेपाली फिल्मको शो बराबर छ। यहाँ 'सिंघम अगेन' ले ६ शो पाएको छ भने 'भूल भुलैया ३' र 'पूर्ण बहादुरको सारंगी' लाई ५/५ शो दिइएको छ।
यो फिल्म हेरेका दर्शकहरूले यसको कथावस्तु आफ्नो जीवनसँग निकट रहेको र हेरिरहँदा भावुक बनाएको प्रतिक्रिया दिएका छन्।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको 'पूर्ण बहादुरको सारंगी' गन्धर्व समुदायको कथामा बनेको फिल्म हो। यसले बाबुछोराको सम्बन्ध, छोराको सफलताका लागि बाबुले गरेको संघर्षको कथा भन्छ।
फिल्ममा विजय बराल, प्रकाश सपुत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, अलिशा बास्तोला, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, माओत्से गुरूङ, जान्वी पौडेल, स्वयंम केसी लगायत कलाकारहरूको अभिनय छ।
निर्मातामा बिनोद पौडेल र प्याट्रिक सुवेदी छन्। फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्।