म साहित्य क्षेत्रमा लागेको लगभग १२ वर्ष भयो। यसबीच पाठकको ‘कठघरा’ले मलाई झन्झन् परिपक्क बनाउँदै लगेको छ।
लेखकले कस्तो व्यक्तित्व बनाउने, कस्तो छाप पार्नेभन्दा पनि पाठकले लेखकलाई कुन रूपमा मूल्यांकन गर्छन् भन्ने महत्वपूर्ण हुन जान्छ। र, हामी सधैं पाठकको ‘कठघरा’मै हुन्छौं।
पहिलो, दोस्रो, तेस्रो कथा लेख्दै गर्दा म काँचो थिएँ। सिकारू लेखक। पाठकले सुरूमा दिएको पहिचान, बिस्तारै लेखकले आफ्नो प्रस्तुति सुधार्दै लैजाँदा पनि त्यसको छनकको भेउ पाउन पाठकलाई गाह्रो हुन सक्छ।
कतिपय पाठक सधैं पूर्वाग्रही पनि हुन सक्छन्। कतिपय पाठकले भने हरेक कृतिलाई पछ्याएर लेखकले कस्तो लेखिरहेको छ, के प्रगति गर्यो, कुन रूपमा अगाडि बढिरहेको छ, भन्ने हिसाबकिताब गरिरहेका हुन्छन्।
दुवै खालको पाठकसँग म नियमितजसो इन्गेज भइरहेको हुन्छु, उनीहरूको कुरा सुन्दा मलाई रमाइलो नै लाग्छ। सुबिन पनि लेखक हो र, भन्ने पाठकले बिस्तारै यो राम्रो लेखक हो भन्ने पार्नका लागि म रातदिन मेहनत गरिरहेको छु। यसमा सफल हुनका लागि भने कुनै सूत्र छैन।
साहित्य लेखनको सुरूआती दिनमा म एकदमै निराश, उदास हुन्थेँ।
‘लेखेर केही हुँदैन’ भन्ने लाग्थ्यो। पहिलो उपन्यास ‘समर लभ’ चल्यो। त्यसपछि दास्रो, तेस्रो उपन्यास पनि बिक्रीलाई मानक बनाउने हो भने चलेकै मान्नुपर्छ। पुस्तक बिक्रीलाई आधार मान्दा मेरो कुनै किताब असफल भएका छैनन्। पाठकहरूको रूचि वा स्वाद र मैले लेख्ने गरेको विषयवस्तु ठ्याक्कै मेल खाएकाले यसो भएको हुन सक्छ।
मैले पाठकहरूको रूचिलाई सम्बोधन गरेजस्तो लाग्छ। अर्को म आफूलाई माझ्न निरन्तर लागिपरेको छु। यसका लागि विषयवस्तुमा मैले फरकपन ल्याउन खोजिरहेको छु। बेलाबेलामा जोखिम पनि उठाइरहेको छु।
सुरूमा प्रेम विषयलाई समातेँ। बिस्तारै सामाजिक विषय पनि उठाउँदै लगेको छु। पछिल्लो समय ‘इजोरिया’मा मैले फरक विषयलाई समाएँ। यसले मेरो लेखनको क्षेत्र अझै फराकिलो बनायो।
कुनै पनि विषयवस्तुको स्वाद पाठकमा पहिल्यै बसेको नहुन सक्छ। त्यस्तो स्वाद बनाउन लेखकले नै कोसिस गर्नुपर्छ। कोही नपुगेको विषयमा जान सकिन्छ। विषयको चयन लेखकले आफ्नो अनुकूल वा सुविधा गर्ने गर्छ। के विषयमा उसलाई आफ्नो दक्षता छ भन्ने लाग्छ त्यसैमा कलम चलाउने हो। तर लेखकले आफ्नो सुविधामा रहेर मात्र काम गर्नुपर्छ भन्ने छैन। नयाँ विषय आफैंले खोज्न सकिन्छ। छुटेका वा छुटाइएका वा कसैले हिम्मत नगरेका विषयमा पनि काम गर्न सकिन्छ। त्यो अहिलेको आवश्यकता पनि हो।
(बूढानीलकण्ठ सांस्कृतिक–साहित्यिक महोत्सव–२०८० को दोस्रो दिन ‘कठघरा’ सेसनमा लेखक सुबिन भट्टराईको मन्तव्यको सम्पादित अंश)