फिल्मी दुनियाँकी 'साइँली' हुन् अभिनेत्री मेनुका प्रधान। सन् २०१७ मा हेमन्त रानाको गीत 'सुन साँइली' को भिडिओमा उनले मुख्य भूमिका निर्वाह गरेकी थिइन्। उनका श्रीमान बनेका गौरव पहाडी वैदेशिक रोजगारीमा गएका हुन्छन्। विदेशमा कमाउन जानुपर्ने बाध्यता भएको परिवारको कथा यो गीतले बोलेको छ।
देश तथा विदेशमा रहेका दर्शक-स्रोताले यो गीत अत्यधिक रूचाए। सँगै साइँली बनेकी मेनुकाको चर्चा चुलियो।
'विदेश गएको वा पारिवारिक रूपमा यस्तो अनुभव नभएका धेरै दर्शकले पनि यसलाई अनुभूति गरेको बताउनुहुन्छ,' सुन साइँली गीतबारे मेनुका भन्छिन्, 'गायक हेमन्त र गौरव पहाडीले गीत बनाउने बेलामै मलाई त्यो भूमिकामा खेलाउने सोचेका रहेछन्। मलाई पनि गीतको सुरूआती संगीत सुन्दै मजा आयो। अनि खेल्छु भनेर निर्णय गरेँ।'
हेमन्त, गौरव र मेनुका साथीहरू पनि हुन्।
यो गीतको सफलतापछि फिल्म बन्यो- साइँली। यसमा पनि मेनुका साइँली बनिन्।
समयक्रममा मेनुकाले आफूलाई अब्बल अभिनेत्रीका रूपमा चिनाउन सफल भएकी छन्। उनको अभिनयको प्रशंसा गर्ने कलाकार तथा निर्देशक पनि फिल्म उद्योगमा धेरै छन्।
'महानगर' फिल्ममा उनको अभिनयबारे वरिष्ठ कलाकार भोला सापकोटाले एक दिन एभरेस्ट फिल्म एकेडेमीको कम्पाउन्डभित्र भनेका थिए, 'मेनुका इन्ची नापेर अभिनय गर्छिन्।'
सापकोटाले भनेजस्तै मेनुकाले उक्त फिल्मबाटै नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) मा उत्कृष्ट अभिनेत्रीको उपाधि प्राप्त गरिन्।
मेनुकाको नयाँ फिल्म 'पानी फोटो' का लेखक तथा निर्देशक खगेन्द्र लामिछाने पनि उनको तारिफ गर्छन्।
'उनले खेलेका फिल्म जस्तो भए पनि उनको अभिनय उत्कृष्ट हुन्छ। उनले सबै पात्रहरूको भूमिका मेहनत गरेर निर्वाह गरेको जस्तो लाग्छ,' लामिछानेले भने।
मेनुकाको मेहनत 'पानी फोटो' को ट्रेलरमै पनि देखिएको छ। यसमा उनले आफ्ना अभिनय गुरु समेत रहेका अभिनेता अनुप बरालसँग जोडी बाँधेकी छिन्। उनले निर्वाह गरेको भूमिका उनको उमेरभन्दा धेरै बढी भएकी महिलाको हो। यसमा पनि उनी अब्बल देखिएकी छिन्।
नेपाली सिने क्षेत्रको यात्रामा निखारिँदै गएकी मेनुकाको कलाकार बन्ने इच्छा सानैदेखिको हो। उनलाई फिल्मी दुनियाँले आकर्षित गर्थ्यो।
'म बाल्यकालदेखि नै नाच्थेँ र रमाउँथे,' उनले भनिन्, 'मलाई फिल्मी दुनियाँ विचारहरूलाई प्राविधिक रूपमा व्यक्त गर्न सकिने, भावना र क्षणहरू कैद गर्न सकिने, यो समाजमा देखिने कुराहरू देखाउन सक्ने र अचम्मका थुप्रै सम्भावनाहरू भएको प्लेटफर्म लाग्थ्यो।'
उनको बाल्यकालको धेरै समय नवलपरासीमा बित्यो। प्लस-टु सकेपछि काठमाडौं आइन्। फिल्ममा काम गर्ने रहरले नै उनलाई काठमाडौं ल्याइपुर्याएको हो। तर बाहिरी जिल्लाबाट आउने अधिकांश युवाहरूलाई जस्तै उनलाई पनि काठमाडौं सहज थिएन।
आफ्ना संघर्षका दिनबारे खुल्न उनी चाहिनन्। यत्ति भनिन्, 'आर्थिक, मानसिक तथा भावनात्मक रूपमा स्वतन्त्र हुने र आफ्नो जीवन आफ्नै हातमा लिने कोशिसमा संघर्ष गरेँ। त्यसले मलाई झन् बलियो बनायो।'
काठमाडौं आएर उनले अभिनयका लागि प्रयास गरिन्। त्यत्तिकैमा 'एक दिन एक रात' नामक फिल्ममा अभिनेत्री दिया मास्के र अनुप बरालसँग काम गर्ने मौका जुर्यो। उनीहरूसँगको सहकार्यले मेनुकाको जीवनमा ठूलो परिवर्तन आयो। दिया र अनुपले सञ्चालन गरेको एक्टर स्टुडियोमा उनले काम र अध्ययन गर्ने मौका पाइन्।
एक्टर स्टुडियो आफ्नो अभिभावक जस्तै रहेको सुनाउँदै उनी भन्छिन्, 'यहाँ गएपछि मैले जीवनमा गर्न खोजेको यही नै हो भन्ने लाग्यो र त्यसैमा हामफालेँ। फिल्मको रौनकमा म यति डुबेकी थिएँ कि मलाई अरू केही सोच आएन। यसमै मैले केही गर्न सक्छु जस्तो लाग्थ्यो।'
मेनुकाले अहिलेसम्म 'भिसा गर्ल', 'भिजिलान्ते', 'भरैव', 'उत्सव', 'जिग्रना', 'रेशम फिलिली', 'दुई रूपैयाँ', 'पुरानो डुंगा' आदि फिल्ममा काम गरिसकेकी छिन्। दर्शकले उनलाई पहिलो पटक अत्यधिक रूचाएको भने सन् २०१५ को फिल्म 'रेशम फिलिली' बाट हो। यसमा उनले एउटा सहरकी मध्यम वर्गीय युवतीको भूमिका निर्वाह गरेकी छन्। फिल्मको 'पारि त्यो डाँडामा' गीत खुबै चर्चामा आयो।
गीत चले पनि फिल्मको चर्चाको मजा उनले उठाउन पाइनन्। त्यो बेला भुइँचालो आएर फिल्मको प्रदर्शन रोकियो। पछि पुनः प्रदर्शन भए पनि सोचेजस्तो दर्शक उपस्थित भएनन्।
उनले हार नमानी काम गरिरहिन्। उनलाई आफ्नो जुनसुकै काम नयाँ लाग्छ। आफैंलाई नयाँ रूपमा भेट्छिन्। भन्छिन्, 'फिल्म खेल्दा हरेक पटक आफ्नो नयाँ भर्सन देख्न पाउँछु। म यो मात्र होइन, अनन्त रहेछु जस्तो लाग्छ। हरेक पटक संसारको अनगिन्ती सम्भावना बढिरहेको जस्तो लाग्छ।'
फिल्मले उनको सोचमा पनि ठूलो फरक पारेको छ। हरेक पात्र निर्वाह गर्दा आफ्नो विचारमा परिवर्तन आएको र हरेक अनुभवमा आफू विकसित भइरहेको अनुभूति उनलाई हुन्छ।
'म फिल्मी यात्राको बीचमा छु। हरेक समय मेरा धारणा परिवर्तन भइरहेका छन्। हरेक समय मैले लिने वा सिक्ने कुराहरूबाट मेरो विकास भइरहेको छ,' उनले भनिन्।
मेनुकाको अनुभवले पात्र वा फिल्म छान्ने उनको क्षमताले पनि आकार लिँदै आएको हो। पहिले उनलाई हिरोइन बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। अचेल आफूलाई निर्वाह गर्न मजा लाग्ने पात्र खोज्छिन्।
'फिल्म बनाउनु नयाँ संसार बनाएजस्तो हो,' उनले भनिन्, 'त्यसैले छान्ने बेलामा फिल्मको संसारमा रम्न सक्छु कि सक्दिनँ र त्यसमा मजा आउँछ कि आउँदैन भन्नेमा ध्यान दिएर निर्णय लिन्छु।'
टिम राम्रो भयो भने पनि काम गर्न रमाइलो र सहज हुने उनी बताउँछिन्।
उनका अनुसार फिल्म 'पानीफोटो' मा उनले काम गर्न सक्दिनँ भनेकी थिइन्। निर्देशक खगेन्द्र लामिछाने र अभिनेता अनुप बराललाई आफूले यो पात्रको मर्म बुझ्न समय नभएको बताएकी थिइन्।
उनीहरूले 'नआत्तिनु, तिमी सक्छौ' भनेर भरोसा दिलाएपछि उनी सशस्त्र युद्धमा हराएको छोरा खोज्न हिँडेकी आमा बन्न तयार भइन्।
मेनुकालाई अहिलेसम्म आफूले निर्वाह गरेका हरेक भूमिका र फिल्ममा सन्तुष्टि छ। उनी अचेल पात्रभन्दा पहिले कथा कस्तो छ र कसरी भनिँदैछ भन्ने हेर्छिन्। त्यो पात्रको आन्तरिक र बाह्य यात्रा देखियोस् भन्ने चाहना उनमा हुन्छ। उनमा यो चाहना फिल्म खेल्नुभन्दा अघिदेखि नै थियो।
'हामीमा सबैखालको भावना र अनुभव हुने रहेछ। त्यसलाई केले उत्प्रेरित गर्छ भन्ने हो। पानीफोटोमा अभिनय गर्दा पात्रको उमेरप्रति म बढी सचेत थिएँ। त्यसलाई मैले न्याय गर्न सक्छु कि सक्दिनँ भन्ने लागेको थियो।'
उनलाई आफूले निर्वाह गरेको भूमिका र मेहनतमा विश्वास छ। उनको यो मेहनत र विश्वास शुक्रबार रिलिज हुने 'पानीफोटो' मा दर्शकले हेर्न सक्नेछन्।