'तिमीले दिएका व्यथाहरूको सिमाना नै छैन
यो मुटुमा पुर्ख्यौली घाउहरू आलो नै छ'
र्यापर दिमृतिले र्यापका यी शब्द गाइन्, हालै आयोजित एक कार्यक्रममा। कार्यक्रम थियो यस वर्षको 'दर्नाल अवार्ड' समर्पणको। जसै दिमृति गीतमा डुब्दै गइन्, धेरै श्रोताहरू भावुक देखिए।
भर्खरै उमेरको एकबीस पूरा गरेर अघि बढ्न थालेकी दिमृतिको र्यापमा उनको भोगाइको व्यथा अभिव्यक्त थियो, उनको मनको वेदना सुनिएका थियो। वेदना उनको मात्रै थिएन, उनीजस्ता कयौंको थियो, एउटा सिंगो समुदायको थियो।
उनको प्रस्तुतिमा जातीय विभेद विरूद्धको आवाज हुन्छ, जागरणको आह्वान हुन्छ। उनको र्यापका शब्दले श्रोताको मथिंगल हल्लाइदिन्छ।
आखिर को हुन् दिमृति? कसरी र्यापर भइन्?
उनको औपचारिक नाम हो स्मृति विश्वकर्मा। स्थायी घर पूर्वी तराईको झापा भए पनि उनी काठमाडौंको कीर्तिपुरमा जन्मिन्। उनी हुर्किँदै, पढ्दै गर्दा बुबा कामका लागि विदेश गए। आमाछोरी झापा फर्के।
स्मृतिले भोगेका जातीय विभेदका अनेक रूप छन्। बाहुनक्षेत्री बाहुल्य गाउँमा बिहे, ब्रतबन्ध इत्यादिको निम्ता आउँथ्यो। आमाको पछि लागेर उनी जान्थिन्। उनीहरू अरू मानिसहरूको हुलमूलबाट टाढै बस्थे।
यसरी अलग्गै बस्नुको कारण बिस्तारै थाहा पाउँदै गइन्।
'जातका कारण हामी अलग्गै बस्नु परेको रहेछ। यस्ता विभेदको कुरा बिस्तारै थाहा पाउँदै जाँदा मलाई निकै नराम्रो लाग्थ्यो,' उनले भनिन्, 'मनमा एक किसिमको आक्रोश हुन्थ्यो।'
यस्ता अनुभव र भोगाइ स्मृतिको दिमागमा गहिरो गरी बसे। उनले जति थाहा पाउँदै गइन्, उति नै जातीय विभेदका हाँगाबिँगा चिनिन्। स्कुलमा अलग्गै बस्नु नपरे पनि आफूमाथि विभेद भइरहेको छ भन्ने महसुस गरिन्।
'म मोटी भएर पनि कक्षामा हाँसोको पात्र बन्थेँ। जातको कारणले भोगेका विभेदका घटना पनि छन्,' उनले भनिन्, 'आफूमाथि विभिन्न विभेद थाहा पाउँदै गएपछि मैले साथीहरू पनि बनाउन छाडेँ। एक्लै हिँड्न थालेँ। गैरदलितसँग प्रेम गर्न नहुने कुरा सुन्दा झनै आकुलव्याकुल हुन्थेँ।'
स्कुलमा एक जना धेरै मिल्ने साथी थिइन्। कार्की थर थियो। मिल्ने साथी भएको धेरै पछि थाहा भयो, उनी दलित समुदायकी रहिछन्। एक दिन स्मृतिले साथीलाई भनिन्, 'आफ्नो पहिचान नलुकाऊ। तिमीलाई जातको कारणले हेप्न खोज्नेका विरूद्ध डटेर आवाज उठाऊ।'
साथीलाई यसरी आँट दिएकी स्मृतिको हृदयमा विभेद विरूद्धको ज्वाला दन्किँदै थियो। त्यसको निकास चाहिएको थियो।
उनलाई सानै उमेरमा गीत सुन्न र गाउन मन पर्थ्यो। कतै गीत बजेको सुन्दा कान ठाडा हुन्थे। उनी आफ्नो हृदयभित्र दन्किँदो विद्रोहको त्यो ज्वालाको निकास गीत नै हुन सक्ने निष्कर्षमा पुगिन्।
आठ कक्षामा पढ्दै थिइन्। एक दिन एक जना आफन्तको मोबाइल फोनमा पहिलोपटक यमबुद्धको र्याप 'साथी' सुन्न पाइन्। 'साथी' मा यमबुद्धले साथीको सम्झना र्यापमा बदलेका थिए।
यही क्षण नै स्मृतिको जीवनमा र्याप गायन यात्राको कोशेढुंगो भइदियो। यो एउटै गीत सुनेर उनले आफ्नो विद्रोही आवाजको निकासको भेउ पाइन्।
उनका लागि आमाको मोबाइल फोन आफ्नो गायन कलामा बलियो सारथि भइदियो। यमबुद्धका र्यापहरू खोजीखोजी सुन्न थालिन्। खासखास विषयका र्याप सुन्न थालिन्।
फुर्सदको समयमा आमाको मोबाइलमा र्याप सुन्ने अनि शब्द कापीमा उतार्ने बानी बन्दै गयो। आमाले पनि छोरीको चाहना थाहा पाइन्। धैर्य र लगनका साथ र्याप सिक्न प्रेरित गरिन्। स्मृतिले मेहनत जारी राखिन्।
यसबीचमा उनले एसइई परीक्षा दिइन्। परीक्षापछि आफूले लेखेका र्याप मोबाइलमा रेकर्ड गर्न थालिन्। अनि युट्युबमा अपलोड गरिन्।
युट्युबमा उनको र्याप धेरैले मन पराए। अपलोड गरेको दिनभरमै हजार जनाभन्दा बढीले सुने। उनलाई हौसला मिल्यो। उनले भनिन्, 'त्यति धेरै मान्छेले मेरो र्याप मन पराउनुहुन्छ भन्ने त कल्पना पनि गरेकी थिइनँ।'
स्मृतिले आफूभित्र गुम्सिएर बसेको विभेदको पीडा र्यापका शब्दमा उतार्दै आवाजमा रेकर्ड गरेर युट्युबमा राख्न थालिन्। उनले फेसबुक चलाउन थालेपछि श्रोताको संख्या ह्वात्तै बढ्यो। फेसबुकमार्फत नयाँ र्यापहरूसँग सम्पर्क हुन थाल्यो। उनीहरूले एउटा समूह बनाएर र्यापबारे सिक्न थाले।
स्मृतिले भनिन्, 'समूहमा हामी र्यापको विषय खोज्ने, लेख्ने र गाउने कुरामा छलफल गर्थ्यौं।'
सुरूमा उनले र्याप आवाजमा मात्र रेकर्ड गरेर राखिन्। बिस्तारै उनलाई त्यसको भिडिओ पनि बनाउनुपर्छ भन्ने लाग्यो। भिडिओका लागि स्टुडियोमा पैसा तिर्नु पर्थ्यो। बडो मुश्किलले पैसा जम्मा गरेर केही भिडिओ बनाइन्।
उनले भनिन्, 'पैसा जम्मा गर्न धेरै कठिन हुन्थ्यो। अलिअलि गर्दै जोगाएको पैसा जम्मा गरेर जुटाएर भिडिओको लागि स्टुडियो कुदिहाल्थेँ।'
पैसाकै कारणले स्टुडियोले आलटाल गरिदिन्थ्यो। उनले भनिन्, 'बल्लबल्ल पैसा जुटाएर दुई वटा र्याप रेकर्ड गराएँ। पैसा जम्मा गर्न नसकेपछि छाडिदिएँ। माइक ल्याएर आफैंले घरमै रेर्कड गर्न थालेँ।'
रेकर्ड भएका दुई वटा र्यापमार्फत उनलाई केही व्यक्तिले नियालेका रहेछन्। यसबाट उनको र्याप गायनको यात्रा अघि बढ्न केही मद्दत मिल्यो।
र्याप गाउँदै जाँदा यिनै स्मृति विश्वकर्मा दिमृति भइन्। अहिले उनी र्यापर दिमृति भनेर चिनिन्छिन्।
यो नाम उनी आफैंले रोजेकी हुन्। र्यापरले आफ्नो छोटो नाम राख्ने चलनअनुसार उनले 'स्मृति' को सुरूमा अंग्रेजी शब्द 'डी' थपिन्। उनको नाम 'डिस्मृति' भयो। श्रोता र साथीहरूमाझ निचिँदै जाँदा अन्ततः 'दिमृति' भयो।
लकडाउनको समयमा १२ कक्षाको पढाइ पूरा हुने क्रममा थियो। उनले र्यापमा पर्याप्त समय दिन पाइनन्। घरमा आमालाई सानातिना काम पनि सघाउनु पर्यो। त्यही समय 'ब्रेक स्टेसन' का संस्थापक अर्बिन थापा हिपअप कार्यक्रमका लागि र्यापरहरू खोजिरहेका थिए। ब्रेक स्टेसन नेपालको पहिलो हिपहप रियालिटी कार्यक्रम थियो। त्यसमा १६ जना र्यापर सहभागी भए।
यो कार्यक्रममा सहभागीले 'अर्गानिक' र्याप गाउनु पर्ने थियो। खोज्दै जाँदा अर्बिनले सामाजिक सञ्जालमा दिमृतिले अंग्रेजी भर्जनमा गाएको र्याप भेटे। अन्य र्यापरको भन्दा उनको र्याप अर्बिनलाई फरक र राम्रो लाग्यो।
'मलाई दिमृतिको र्याप अर्गानिक लाग्यो। माथिल्लो स्तरको थियो। नयाँ शब्दहरू थिए। सामाजिक मुद्दा उठाइएको थियो,' अर्बिनले सेतोपाटीसँग भने, 'सानै उमेरमा उनले आफ्नो भोगाइ र्यापमा उतारेकी थिइन्। र्याप सुन्दा उनी धेरै माथि पुग्न सक्छिन्, दीर्घकालीन रूपमा अघि बढ्न सक्छिन् भन्ने लाग्यो।'
अर्बिनले दिमृतिलाई फोन गरेर अडिसनका लागि काठमाडौं बोलाए। सुरूमा त दिमृतिलाई पत्यारै लागेन, अचम्म परिन्।
भनिन्, 'त्यति ठूलो कार्यक्रममा बोलाएको भनेर पत्यारै लागेन। एकछिन त अक्क न बक्क भएँ। जे पर्ला भनेर हुन्छ भनिदिएँ।'
ब्रेक स्टेसनका सहयोगीहरू दिमृतिलाई लिन झापा पुगेका थिए। हतार भयो। राम्रो तयारी गर्न पुगेन।
'तयारी नपुगेकाले पहिलो प्रस्तुति त्यति राम्रो भएन,' उनले सन्तोष प्रकट गरिन्, 'कहिल्यै नदेखेको यति ठूलो कार्यक्रममा निम्तो पाएर सहभागी हुनु नै मेरो लागि ठूलो कुरा थियो।'
अर्बिनका अनुसार पहिलो प्रस्तुति धेरै राम्रो नभए पनि दिमृतिको गायन शैली र र्यापका शब्दहरू राम्रो भएकाले उनी छनौट भइन्। दुई सातामा एक पटक ब्याटल कार्यक्रम थियो। उनी यो दुई साता झापा पुगेर तयारी गर्ने र ब्याटलको अघिल्लो दिन काठमाडौं आउने गरिन्।
घरमा उनका दर्शक हुन्थे आमा र भाइ। उनले भनिन्, 'घरमा मम्मी (आमा) र भाइलाई देखाउँदै र्याप गर्थेँ, यसरी देखाउँदै गाउँदा मेरो तयारी पूरा भएजस्तो लाग्थ्यो। अनि बल्ल काठमाडौं फर्किन्थेँ।'
दिमृतिको प्रस्तुति सामाजिक सञ्जालमा ब्याटलमार्फत भाइरल हुँदै थियो। कमेन्ट पनि खालखालका आउँथेँ। कसैले धेरै राम्रो भन्थे। कोही मन नपराउने पनि थिए। कोही श्रोता उनलाई महिलाका रूपमा सहानुभूति प्रकट गर्थे त कोही महिला भएकै कारणले नकारात्मक टिप्पणी लेख्थे।
उनी आफ्नो प्रतिक्रिया दिन्थिन्, 'मलाई महिला भनेर मूल्यांकन नगर, मेरो गायन क्षमता हेर। मेरो जातथर नहेर। मेरो प्रस्तुति र कला हेर।'
'अर्गानिक' शैलीमा प्रस्तुति दिने उनी ब्रेक स्टेसनमा विजेता भइन्। यसले र्यापर बन्ने उनको सपना साकार हुने बाटो फराकिलो बनायो।
उनले भनिन्, 'ब्रेक स्टेसन कार्यक्रमले मलाई धेरै कुरा सिकायो। अंग्रेजी–नेपाली दुवै भाषामा गाएँ।'
उक्त कार्यक्रममा उनले 'नो फिमेल र्यापर' बोलको नयाँ र्याप गाएकी थिइन्।
र्याप गायनले दिमृतिलाई गाउँसमाज र आफन्तमाझ गायकका रूपमा परिचय दिलाएको छ। यसबाट उनकी आमाको पनि पहिचान र परिचय फराकिलो भएको छ।
'दर्नाल अवार्ड' कार्यक्रमले प्रस्तुतिहरू मन पराएरै दिमृतिलाई बोलाएको थियो। दलित अधिकारकर्मी सुवास दर्नालको स्मृतिमा स्थापित यो अवार्डको यस वर्षको मूल विषय 'कला र मानविकी' भएकाले प्रस्तुतिहरू पनि कलासँग जोडिएका थिए। कला र मानविकी क्षेत्रमा दलित शक्ति उजागर गर्ने किसिमका गीत प्रस्तुतिका लागि दिमृतिलाई बोलाइएको 'दर्नाल अर्वाड' की संस्थापक अध्यक्ष सरिता परियारले बताइन्।
सरिताले भनिन्, 'आफ्नो जात नलुकाउने, जात व्यवस्थाविरूद्ध नयाँ ढंगले सोच्ने र कलाको नयाँ विधाका रूपमा जातको प्रश्न उठाउन खोज्ने युवा गायकलाई प्लेटफर्म उपलब्ध होला भनेर हामीले विश्वास लिएका हौं।'
उनका अनुसार ¥याप विधाबाट जातको प्रश्न उठाउन खोजेकी दिमृतिले समारोहमा जातकै आधारमा हुने विभेद र अपमानविरूद्ध जसरी गीत–संगीत प्रस्तुत गरिन्, त्यसले उनमा कलात्मक प्रतिभासँगै नयाँ विचार, नयाँ जोश रहेको देखाउँछ।
अहिले दिमृति नयाँ पुस्तामा धेरैले सुन्ने र्यापर भएकी छन्। उनका धेरैजसो प्रस्तुति सामाजिक विषयमा छन्।
आफ्नो प्रस्तुतिबारे दिमृति भन्छिन्, 'मलाई दबाइएका समुदायका आवाज पनि र्यापमा आउनुपर्छ भन्ने लाग्छ। समाजले मलाई विभेद गरेको विषयमा म र्याप निकाल्न चाहन्छु।'
उनका अनुसार आफू र आफ्नो समुदायले भोगेको विभेदका विषयमा र्याप गाउनुको अर्थ अर्को समुदायलाई होच्याउनु वा अर्कोप्रति आक्रोश प्रकट गर्नु होइन। आफ्नो वेदना पोख्नु र विभेदविरूद्ध चेतना जागृत गर्नु हो।
'कुनै समुदायलाई होच्याएर, गाली गरेर कोही पनि कलाकार बन्न सक्दैन,' उनी भन्छिन्, 'आफूलाई जे गर्न मन लाग्छ त्यो गर्दा हुन्छ। तर त्यसबाट कसैलाई पनि पीडा हुनु हुँदैन। यसमा सचेत छु।'
राम्रो र्यापर बन्नु स्मृतिको जिन्दगीको एउटा सपना हो। र्यापकैमार्फत मानिस–मानिसका बीचको विभेदविरूद्ध आवाज उठाउनु उनको उद्देश्य हो। यही सपनाको बाटोमा दिनरात मेहनत गर्दै छिन् उनी।
हिजोआज उनको काम नै पढ्ने–लेख्ने र र्यापबारे नयाँ कुरा खोजी गर्ने हो।
दिमृति विश्वस्त छिन्, 'र्याप गायन यात्राले एउटा बाटो समातेको छ। अब जातीय विभेदविरूद्धको आवाज बलियो बनाउँदै अघि बढ्नुछ।'