रंगमञ्चबाट कथा भनिरहेका कलाकार आशान्त शर्माले अभिनयसँगै निर्देशन गरेको चलचित्र 'ताराहरू' को विशेष प्रदर्शन (प्रिमियर) गरिएको छ।
बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। रंगमञ्चमा मञ्चन हुने नाटकमा निर्देशक र अभिनेतासँगै प्राविधिक पाटोसमेत सम्हालेका कलाकार शर्माले यसपटक एउटा नाटकलाई नै ठूलो पर्दामा ल्याएको बताए।
रंगमञ्चबाट भनिएको 'साथी, साथी आइदेऊ न' नाटकको कथालाई पुनः चलचित्रको माध्यममा ल्याउन विषयवस्तुले प्रभाव पारेको उनको भनाइ छ।
'नाटक मञ्चन गरेपछि यसलाई धेरै ठाउँमा देखाउन रंगकर्मीले सुझाव दिनुभयो। केहीले 'युट्युब' मा राख्नसमेत सुझाउनु भयो, तर नेपालभर नाटक लिएर यात्रा गर्न सम्भव थिएन। नाटकका कलाकार सबैको समय मिलिरहेको थिएन, युट्युबमा ल्याउँदा मलाई मर्म मर्छ भन्ने लाग्यो,' शर्माले भने, 'त्यसै कारण ‘साथी, साथी आइदेऊ न’ नाटकको कथा धेरैसम्म पुग्नुपर्छ भन्ने सोचका कारण नै मैले यसलाई चलचित्रको माध्यममा ल्याएँको हुँ।'
रंगमञ्च मै रमाउने कलाकार शर्मा यसपटक निर्देशकसँगै अभिनेता बनेका छन्। पहिलोपटक चलचित्रमा मुख्य अभिनेता बन्नुको कारणका रूपमा उनी पात्रप्रतिको न्यायलाई लिन्छन्। आफूले जीवन्त बनाएको पात्रलाई अन्यले के कसरी निर्वाह गर्ला भन्ने चिन्ताले नै निर्देशक र मुख्य अभिनेता बनाएको शर्माको भनाइ छ।
'मैले एउटा भूमिकामा मात्र आफूलाई प्रस्तुत गरेको भएँ, अहिलेको भन्दा राम्रो काम गर्न सक्थे भन्ने लाग्छ, तर त्यो कथालाई अन्य निर्देशकले कसरी प्रस्तुत गर्नुहोला भन्ने डरले आफैँ निर्देशक बनेको हुँ', उनले भने 'अन्य केही प्रसिद्ध कलाकारलाई पनि अभिनय गर्न दिउँ भन्ने लागेर केही संवाद पनि गरेको थिएँ, तर ती कलाकारको लोकप्रियताले मैले सिर्जना गरेको पात्र र कथाको मर्मलाई ओझेलमा पार्ने हो कि भन्ने डर लाग्यो। सोही कारण म आफैँ यसमा दोहोरो भूमिकामा आएँ।'
किशोर मनोविज्ञानलाई खोतलेर उनीहरूको मानसिक स्वास्थ्यको कथा देखाइएको चलचित्र 'ताराहरू' मा आत्महत्याको मार्गमा हिँडेको एक युवकको भेट अर्धबैँसे युवतीसँग हुन्छ। उनीहरू साथी बन्छन्। मृत्यु कल्पेर हिँडेको युवकको आँखामा भरिने सपना र आशासँगै आउने खुसीलाई चलचित्रको विषय बनाइएको छ।
रंगमञ्चमा मात्र देखाई रहँदा कथाले न्याय नपाएको महसुस गरेका कलाकार शर्माले चलचित्र हेर्ने दर्शकले विभिन्न कोणबाट समीक्षा गर्नेमा विश्वस्त छन्।
'व्यावसायिक रूपमा हामीले यो चलचित्रको प्रचारप्रसार गर्नसकेका छैनौँ, तर चलचित्र हेर्ने दर्शकले यसलाई प्रचार गरेर हेर्न आग्रह गरिदिनुहुन्छ भन्ने मलाई लागेको छ। हामी रंगमञ्चका कलाकारले इमान्दार भएर सिर्जना गर्न सक्छौँ, तर हालको समयमा प्रतिस्पर्धा गर्न सक्दैनौँ। हाम्रो विषय र कथाले नै प्रतिस्पर्धा गर्नेछ,' उनले भने।
मध्यमवर्गीय परिवारमा जन्मेको पुरूषले सपना र चाहना पूरा गर्न कति संघर्ष गर्छ? समाजले उसबारे के सोच्छ? अनि उसले समाजबारे के सोच्छ? भन्ने प्रश्नको जवाफ खोज्दै कथा बुनिएको कलाकार शर्माले बताए।
उक्त चलचित्रमा कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतका कलाकारले अभिनय गरेका छन्।