मैले माया लाएको भसक्कै
नबोले पनि हाँसिदेऊ मसक्कै
सरर साइकलमा चढी गयौ माया
नदेखेझैं गरी...
यो अंश पुरानो लोकगीतको हो। कुनै समय यो गीत लोकगीतका अध्येता बुद्धि विश्वकर्माले आफ्नै स्वरमा गाएका थिए। बुद्धिका अनुसार लोकगीतमा समाज बोलेको हुन्छ। समाज बुझ्न लोकगीत सुन्नु पर्छ।
भनिन्छ, राम्रो गीतले व्यक्तिको मन छुन्छ। उल्लिखित गीतले बुद्धिको मन छोयो। उनले स्थानीय भाका टिपेर आफ्नो स्वरमा रेकर्ड गराए।
उनी भन्छन्, 'प्रत्येक मानिस गीतसँग जोडिएको हुन्छ। कसैले थाहा पाउँछन्, कसैले थाहा पाउँदैनन्। मैले थाहा पाएँ अनि गीतसँग जोडिएँ।'
बुद्धि आफूलाई गीत गाउनेभन्दा गीत बुझ्ने मान्छेका रूपमा चिनाउँछन्। तर उनी प्राथमिक कक्षा पढ्दादेखि नै गाउँथे। गोरखाको सौरपानीमा जन्मिएका बुद्धि सानै छँदा परिवारै चितवनको माडी सरेका थिए। स्कुले पोसाकमा साथीहरूको समूहमा उनको स्वर सुमधुर सुनिन्थ्यो। बाल्यवस्थामा कहिलेकाहीँ साँस्कृतिक कार्यक्रम आयोजना गरेर गीत गाउने अवसर उपलब्ध गराउँथ्यो। शिक्षक र साथीहरू बुद्धिलाई गीत गाउन उक्साउँथे। उनी अघि सरेर गाउँथे। सबैले मन पराएर ताली बजाउँथे।
यसबाट बुद्धिलाई ऊर्जा मिल्यो, गायनमा अघि बढ्दै गए। त्यो समय उनको घरमा गीत सुन्ने माध्यम रेडियो मात्र थियो, त्यो पनि रेडियो नेपाल मात्र। रेडियोमा बज्ने गीत सुनेर उनले गाउने प्रयास गरे।
'स्कुल छुट्टी भएको समयमा रेडियोमा बज्ने लोकगीत सुनेर गाउन कोसिस गर्थेँ। गाउन सिक्ने अर्को उपाय थिएन,' उनले भने।
बुद्धिको बाल्यकालमा चितवनको माडीमा बित्यो। उनी १० वर्ष उमेरका थिए। २०४६ सालको जनआन्दोलनमा खुशीराम पाख्रिन र अन्य जनवादी कलाकारहरूसँग उनको भेट भयो। खुसीराम त्यति बेला जनजागरणका गीत गाउन माडी पुगेका थिए।
बुुद्धि बालसुलभ पारामा गीत गाउँथे, नाच्थे। उनी हौसिएर खुसीरामकै पछि लागे। थोरै दिनमा उनले जनवादी गीतको भाका समाते। श्रमिक, उत्पीडित वर्ग र गरिबदुःखीका पक्षमा गाइएका गीतको सार बुझ्न थाले अनि खुसीरामहरूसँगै गाउन थाले।
सेतोपाटीसँग कुरा गर्ने क्रममा बुद्धिले जनआन्दोलनमा खुसीरामले गाएको एउटा गीतको एक अंश सुनाए–
ए श्रमिक दुःखीजनहरू
ए शोषित आमाबाबुहरू
हामी तपाईंकै छोराछोरीहरू हौं...
जनआन्दोलनमा खुसीरामहरूले गाउने गीतमा गरिबदुःखीका पीडाको आवाज हुन्थ्यो। उनीहरूले भोगेका कष्टका कुरा सुबोध्य शब्द र सुमधुर लयमा गीत बनाएर गाइएका हुन्थे।
बुद्धि रहरले हौसिएर खुसीरामको टोलीमा हिँडेका थिए। आन्दोलनको भिडमा गीत गाउँछु भन्ने त उनले सोचेकै थिएनन्। आखिर नसोचेकै कुरा भयो। जनआन्दोलनमा भिडको अगाडि उभिएर गीत गाए। उनले त्यस बेला गाएको गीतको एक अंश सुनाए–
'कालो वनको बीचैमा खेतालाको गाउँ,
साना झुपडीमा छैनन् आमाबाउ'
जनआन्दोलन सकिएपछि पनि बुद्धि लोकगीतमै लागे। उनले किन लोकगीत नै रोजे त?
भन्छन्, 'लोकगीत र लोकभाका भनेको समाज हो। समाज बुझ्न त्यहाँको लोकगीत र लोकभाका बुझ्नुपर्छ।'
बुद्धि यही दृष्टिकोणअनुसार लोकगीत गाउन थाले। गाउँघरमा उनको गायन लोकप्रिय हुँदै गयो। उनी रोधीघरमा लोकदोहोरी गाउन थाले। सिक्ने क्रममा उनले अरूले गाएका गीत गाए। अरूकै भाका पछ्याए। बिस्तारै आत्मविश्वास बलियो भयो अनि नयाँ गीत खोजेर गाउन थाले।
स्कुलकै पढाइका क्रममा उनले घाँसदाउरा गर्ने, भारी बोक्ने र गोठाला जानेहरूसँग संगत बढाए। यस्तो संगतबाट गीतका शब्द र भाका बटुले।
बुद्धि १२ कक्षाको पढाइ पूरा गरेपछि खैरहनी स्थानीय एक विद्यालयमा शिक्षक भए। शिक्षण पेसामा रहँदा पनि उनले लोकगीत र रोधीघर छाडेनन्। यही समयमा उनले लोकगीत र लोकभाका बुझ्ने झन् राम्रो अवसर पाए। कम्तीमा साताको एक पटक गीत गाउन रोधीघर पुग्थे। त्यहाँ मायाप्रीतिका गीत गाउँथे।
उनले लोकगीतमा आफ्नो समुदायको भाका पनि मिसाउन थाले। लोकभाकासँग दलित समुदायको सम्बन्धको इतिहास केलाउन थाले। लोकगीतमा दलित समुदायकै योगदान र संलग्नता खोज्न थाले।
'लोकगीतको जगेर्ना र संरक्षणमा दलित समुदायको ठूलो योगदान छ। वर्तमान समयमा लोकगीतको रक्षा गर्नेहरू पनि दलित समुदायहरू नै हुन्,' उनी भन्छन्, 'गन्धर्व समुदायले लोकगीतको जगेर्ना गरेको इतिहास छ।'
बुद्धि गोकगीत र लोकभाकामा गहिरिँदै गए। उनले लोकगीतमा खोज र अनुसन्धान सुरू गरे। यससँगै उनले स्नातक पढेर सके। अनि त शिक्षण पेसा पनि छाडेर लोकगीत र लोकभाकाकै खोजीतिर लागे।
उनलाई गायक बन्ने रहर भने थिएन। लोकभाका खोजी, जगेर्ना र संरक्षणमै ध्यान दिन थाले। २०५७ सालमा काठमाडौं प्रवेश गरेका उनलाई रेडियोमा गीतसंगीतको कार्यक्रम चलाउने हुटहुटी चल्यो। यस्तो रेडियो कार्यक्रमबाट लोकगीत प्रवर्द्धन र संरक्षणको थोरै भए पनि सहयोग पुग्छ भन्ने उनलाई लाग्थ्यो।
रेडियो सगरमाथामा लोकगीतको कार्यक्रम चलाउने अवसर पाए उनले। अनि लोकभाकाका अध्येताका रूपमा आफ्नो परिचय बनाए।
बुद्धिको रूचि गीतको समीक्षामा छ। धेरै लोकगीत गाइए पनि गहन समीक्षा हुन नसकेको उनको भनाइ छ। केही वर्षदेखि उनी लोकगीतको समीक्षामा छन्। आफूले सय वटाभन्दा धेरै गीतको समीक्षा गरेको उनको दावी छ।
'प्रेमराजा महत र रेखा शाहले गाएको सिमसिमे पानीमा समीक्षा गरेको छु। पश्चिम नेपालमा चल्तीको भाकामा गाइएको यो गीतको लय मौलिक छ तर त्यसमा रचना पनि मिश्रित छ,' उनले आफ्नो समीक्षा सुनाए।
अलि मियाले संकलन गरेको 'घर पनि छैन दाइ मेरो...' गीत पनि उनले समीक्षा गरेका छन्। भन्छन्, 'यो गीत गण्डकी भेगको चल्तीको भाकामा छ। लय मौलिक छ र पूर्णरूपमा संकलित गीत हो।'
उनलाई लाग्छ- लोकगीत आफ्नो मनका कुरा भन्न वा व्यक्त गर्न सुरू गरिएका होलान्।
त्यसैले लोकगीतले के भन्न के खोजेको हो भन्नेबारे समीक्षा गर्न जरूरी देख्छन् उनी।
'लोकगीत मनोरञ्जन मात्र होइन, त्यो गीत सिर्जना भएको समयको समाजको दृश्य हो,' उनले भने, 'यस्ता कुरा बुझ्न पनि गीत समीक्षा गरिनु पर्छ।'
बुद्धि आफूलाई शास्त्रीय समीक्षक भने मान्दैनन्।
भने, 'म मेरो अध्ययन र अनुभवका आधारमा समीक्षा गर्छु। शास्त्रीय समीक्षा चाहिँ होइन।'
अचेल धेरैले लोकगीत 'बिगारे' भन्ने पनि सुनिन्छ। बुद्धि भने यस्तो मान्दैनन्।
भने, 'समयअनुसार सबैकुरा फेरिन्छन्। बाजा बजाउने, गायन तरिका फेरिएको छ। तात्विक परिवर्तन भने छैन। पहिलेभन्दा अलि फरक लागे पनि बिग्रेको छैन। मलाई त अझ राम्रो भइरहेजस्तो लाग्छ।'
गीतको शब्द चयनमा आएको परिवर्तनलाई उनी सकारात्मक मान्छन्। पहिलेका गीतमा कुनै समुदाय वा महिलालाई होच्याउने शब्दावली पनि प्रयोग हुन्थे। अहिले यसमा सुधार हुँदै गएको र शब्द चयनमा संवेदनशीलता बढेको उनी बताउँछन्।
पछिल्लो समय सुन्ने प्रवृत्तिमा आएको परिवर्तनले भने गीत दीर्घकालीन बनाएको छैन कि जस्तो लाग्छ उनलाई। अचेल युट्युबमा गीत हेरिन्छ, सुनिन्छ।
उनी भन्छन्, 'पहिले सुनेका गीत अहिलेसम्म हामीलाई याद हुन्छ। तर अहिले हेरेका गीत एकछिनमै भाका पनि याद हुँदैन। युट्युबमा हेरेको गीत युट्यबुमै बस्छ, सुनेको गीत चाहिँ सायद मनमा बस्छ होला।'