कोरोना भाइरसको महामारीले पारेको प्रभाव र फेरिएको जीवनशैलीसँग सम्बन्धित रहेर खिचिएका फोटोहरूको प्रतियोगिता हुने भएको छ।
‘तन्नेरी चासो’ नामक सामाजिक संस्थाले फोटो पत्रकार क्लबसँग मिलेर प्रतियोगिता गर्न लागेको हो। प्रतियोगिताको लागि भदौ ९ गतेदेखि असोज १० गतेसम्म फोटो पठाउनुपर्नेछ।
तन्नेरी चासोका राष्ट्रिय संयोजक नविन सिलवालले एक विज्ञप्ति जारी गर्दै प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाएका छन्।
प्रतियोगितामा आएका फोटोहरूमध्ये विजेतासहित उत्कृष्ट ५० फोटोहरू छानिने र देशका विभिन्न ठाँउहरूमा प्रदर्शनी गरिने योजना रहेको आयोजकले जनाएको छ।
क्यामरा वा मोबाइल फोन दुबैबाट खिचिएका तस्बिर पठाउन सकिने र प्रतियोगितामा नि:शुल्क भाग लिन सकिने आयोजकको भनाइ छ।
प्रतियोगीले मंगलबारबाटै संस्थाको आधिकारिक वेबसाइट tannerichaso.net मा गएर दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सकिने आयोजकले जनाएको छ।
प्रतियोगितामा व्यवसायिक र सौखिन सबै खाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउने छन्। प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन्।
आशा, प्रेम, सद्भाव, आत्मियताको कुरा गर्दै यस विपत्तिमा समाजको सुन्दर कुराहरु देखाउनका लागि प्रतियोगिता आयोजना गरिएको तन्नेरी चासोकी संयोजक दिपज्योति श्रेष्ठले बताइन्।
फोटो प्रतियोगिताको ३ सदस्यीय निर्णायक मण्डल छ। एजेन्सी फ्रान्स प्रेस (एएफपी) का बरिष्ठ फोटोपत्रकार एबम् नेपाल फोटो प्रतियोगिताका निर्णायक मण्डलका सदस्य प्रकाश माथेमाको अध्यक्षता रहने निर्णायक मण्डलमा समाजशास्त्री तथा नीति विश्लेषक प्रेम सापकोटा र अन्नपूर्ण पोस्ट्का फोटो सम्पादक एवंम फोटोपत्रकार क्लबका अध्यक्ष विकास कार्की छन् ।