र्यापर उत्साह जोशी उर्फ युनिक पोयटले हालै नयाँ र्याप सार्वजनिक गरेका छन्। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणको घटनामा आधारित 'बलात्कार' बोलको र्याप सार्वजनिक गरेका हुन्। गीतमा उनलाई सृजन श्यामाले सारंगी बजाएर साथ दिएका छन्।
युनिकले युनिक पोयटको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक यो गीतको बोलमा 'ह्यासट्याग जस्टिस फर निर्मला पन्त' लाई जोड दिएको छ। गीत पनि यही शब्दबाट सुरु हुन्छ, 'जस्टिस फर निर्मला पन्त'। २०७५ साउन १० गते साथीको घरमा पढ्न भन्दै गएकी निर्मला ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्। उनीमाथि बलात्कार भएको पोष्टमार्टम रिपोर्टले देखाएको थियो।
दुई वर्ष बितिसक्दा पनि निर्मलाले न्याय नपाएका कारण यतिबेला सामाजिक सञ्जालमा 'जस्टिसफरनिर्मलापन्त' ट्रेन्ड निकै चलिरहेको छ। विभिन्न क्षेत्रका कलाकार तथा सेलिब्रेटीहरु निर्मला पन्त घटनाबारे आवाज उठाइरहेका छन्। र्यापर युनिकले 'बलात्कार' मार्फत निर्मला जस्ता सयौं न्याय नपाएका महिलाको आवाज उठाएका छन्। शब्दमा उनी भन्छन्, 'त्यही पुरानो कथा, मात्र पात्र फरक'।
हालसालै अभिनेता नाजिर हुसेनले पनि निर्मला पन्त घटना समेट्दै न्याय प्रणालीमाथि प्रश्न उठाउँदै कविता वाचन गरेर फेसबुकमा पोष्ट गरेका थिए। उनीसँगै नायिका रेखा थापा, वर्षा राउत लगायत विभिन्न सेलिब्रेटीले समेत 'जस्टिसफरनिर्मलापन्त' भन्दै सामााजिक सञ्जालमार्फत आवाज उठाइरहेका छन्।
केही समयअघिमा देवी घर्तीको स्वरमा रहेको बलात्कार बोलकै गीत गायक प्रकाश सपूतले निर्देशन गरेका थिए।