गायक सुगम पोखरेलले बुबालाई समर्पित गर्दै आफ्नो नयाँ गीत 'बुबा हजुरको याद आउँछ' सार्वजनिक गरेका छन्। केही समयअघि मात्रै बुबा गुमाएका उनले आफ्नो बुबालाई यो नयाँ गीत सुनाउन नपाएकोमा दुख व्यक्त गरेका छन्।
नजिकिँदै गरेको कुशे औशी (बुबा को मुख हेर्ने दिन) को अवसरमा सम्पूर्ण बुबालाई सम्झिएर उनले यो गीत सार्वजनिक गरेका हुन्। सामाजिक सञ्जाल मार्फत सुगमले यो गीत बुबालाई सुनाउन नपाए पनि सम्पूर्ण दर्शक तथा श्रोताका बुबाहरुमा समर्पित गरेको बताएका छन्।
गीतमा उनको आफ्नै रचना तथा संगीत रहेको छ। गीतको संगीत संयोजन सुजील कर्माचार्यले गरेका हुन्। गीतको भिडियो विकेश मगरले बनाएका हुन्।
उनले सामाजिक संजालमा लेखेका छन्, 'भौतिक रूपमा बुवा अहिले हामी माझ नभए पनि वहाँ को शिक्षा, दिक्षा ,सोच , सपना अनि आशीर्वादलाई मार्ग दर्शन मानेर एउटा असल मान्छे बन्ने भरमग्दुर प्रयास सधैं गर्नेछु।'
सुगमका अनुसार यो गीतले एउटा यस्तो बुबाको चित्रण गर्छ जसको रुप, सोचाइ, भोगाइ, आचरण र व्यक्तित्व सम्भवत: हरेकका बुबाको आकृतिसँग मिल्छ। गीतको भिडिओमा सुगमले बुबासँग बिताएका क्षणहरुको फुटेज पनि प्रयोग गरेका छन्।