शीवा शाहद्वारा लिखित अंग्रेजी उपन्यास 'द अदर क्विन'को नेपाली अनुवाद 'कान्छा महारानी' बजारमा आएको छ। सन् २०१८ मा सांग्रीला बुक्सले प्रकाशन गरेको 'द अदर क्विन' उपन्यासलाई सगुना शाहले अनुवाद गरेकी हुन्।
नेपालको इतिहासलाई आफ्नो रंगले पोतिदिएका दुई प्रभावशाली महारानीको कथा हो– कान्छा महारानी। 'कान्छा महारानी' मा आत्मवृतान्त शैलीमा इतिहासलाई आख्यानीकरण गरिएको छ।
उपन्यासकी अनुवादक सगुना शाह भन्छिन्, 'शीवा शाहले इतिहास र आख्यान बुन्ने क्रममा अतीतको एउटा तिलस्मी कालखण्डमा जमेको समयको धुलो पुछिदिएकी छिन्।'
उनका अनुसार, यो आख्यानमा सत्ता र त्यसका वरिपरि रहेकाहरुको व्यक्तिगत स्वार्थ र महत्वाकांक्षाले कसरी राष्ट्रकै इतिहास र भविष्य निर्देशित हुन पुग्छ भन्ने कुराको खुलासा मात्र नभई प्रेम र इर्ष्याको ज्वलन्त द्वन्द पनि छ।
उपन्यासले इतिहासको एउटा निकै महत्वपूर्ण कालखण्डलाई आधार बनाएको छ। १०४ वर्षीय राणा शासनको सुरुवात हुने त्यो कालखण्डमा राजाको काँतर प्रवृतिका कारण राज्यको सार्वभौमसत्ता महारानीहरुको अधीनमा पुगेको थियो र त्यसको फाइदा भारदारहरुले उठाएका थिए। यसकै परिणामस्वरुप इतिहासमा जंगबहादुर राणाको उदय भएको थियो।
'कान्छा महारानी' पढेपछि लेखक विप्लव प्रतीक लेख्छन्, 'यो उपन्यास पढ्दा पाठकलाई यो किताब कतै नेपालीमा नै लेखिएर अंग्रेजीमा अनुवाद भएको त होइन भन्ने लाग्न सक्छ। म यसलाई सगुना शाहको अनुवाद शिल्पको कमाल ठान्छु। कान्छा महारानी मार्फत नेपाली साहित्यले एउटा उत्कृष्ट उपन्यास पाएको छ।'
सांग्रीला बुक्सले प्रकाशन गरेको कान्छा महारानीको मूल्य ४९५ रुपियाँ रहेको छ।